२०८२ कार्तिक ३० गते आइतवार
काठमाडौं । चालू आर्थिक वर्ष २०८२\८३ को पहिलो ३ महिनामा नेपाल भित्रिने रेमिट्यान्स ३५.४ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भई ५ खर्ब ५३ अर्ब ३१ करोड पुगेको हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा ३५.४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा ४ खर्ब ७ अर्ब ३१ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सङ्ख्या बढ्दै गएपछि उनीहरूले पठाउने रेमिट्यान्स पनि बढ्दै गएको छ ।
सार्वजनिक तथ्याङ्क अनुसार असोज महिनामा मात्रै २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । मासिक रुपमा यो हालसम्मकै उच्च रहेको छ ।
नेपाली मुद्रामा भएको उच्च वृद्धिसँगै अमेरिकी डलरमा पनि विप्रेषण आप्रवाह उत्साहजनक देखिएको छ । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड पुगेको छ ।
विप्रेषण आप्रवाहमा भएको यो विशाल वृद्धिको प्रमुख कारण वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सङ्ख्यामा भएको उल्लेखनीय वृद्धि हो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको सङ्ख्या १,२३,४५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो सङ्ख्या १,१०,६५४ रहेको थियो ।
श्रम स्वीकृति लिनेको सङ्ख्या पनि ह्वात्तै बढेको छ । यस अवधिमा ७७, २५७ जनाले पुनः श्रम स्वीकृति लिएका छन्, जबकि अघिल्लो वर्ष ५९,९३९ जनाले मात्रै नवीकरण गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij