२०८२ कार्तिक २७ गते बिहिवार
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’लाई प्रशासनले प्रदर्शनको अनुमति नदिने भएको छ । महाअभियानको आगामी मंसिर ७ गते प्रदर्शन गर्ने तयारी थियो । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति नदिने जनाएको छ ।
शान्ति सुरक्षाको कारण देखाउँदै प्रशासनले प्रदर्शनको अनुमति दिन नसकिने जानकारी प्रसाईं समूहलाई दिएको हो । प्रहरीले प्रसाईं नेतृत्वको समूहले गर्ने भनिएको प्रदर्शन अराजक हुनसक्ने भन्दै गृह मन्त्रालयलाई रिपोर्टिङ गरेको छ ।
प्रहरीको रिपोर्टिङपछि प्रदर्शनको अनुमति नदिने अवस्थामा गृह मन्त्रालय पुगेको हो । अनुमतिबेगर प्रदर्शन गर्न खोजे बल प्रयोग गरेर प्रदर्शन रोक्ने तयारी प्रहरीले गरेको छ ।
गृह मन्त्रालय उच्च स्रोतले प्रसाईंको समूहले गर्ने प्रदर्शनले अनुमति नपाउने बताए । ती अधिकारीले भने, “अहिलेको अवस्थामा सुरक्षाका कारण पनि प्रदर्शनको अनुमति दिन सकिँदैन । कानुनलाई हातमा लिन खोजे त्यही अनुसारको कदम चाल्छौँ ।’’
बुधबार मात्रै प्रसाईं समूहले विभिन्न माग राखेर गृहमन्त्री ओमप्रकाश अर्याललाई २७ बुँदे माग पत्र बुझाएको थियो । मागपत्रमा संविधान खारेजदेखि राजसंस्था पुनर्स्थापना र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसम्मका विषय राखिएको मन्त्रालयले जनाएको छ ।
त्योबाहेक बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण मिनाहा हुनुपर्ने माग प्रसाईं समूहले राखेका छन् । २७ बुँदामा प्रदेश संरचना खारेजीको माग समेत राखिएको छ । प्रसाईंले मंसिर ७ गतेदेखि देशभर चरणबद्ध रूपमा प्रदर्शन गर्ने चेतावनी दिएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij