Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

आज दिनभरको २५ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको २५ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 1.3K
    Shares

    आज दिनभरको २५ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्
    images

    १. राष्ट्रपति पौडेल स्वदेश फिर्ता
    राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किनुभएको छ । कतारको राजधानी दोहामा मङ्गलवारदेखि शुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर बिहीवार स्वदेश फिर्ता हुनुभएको हो । उहाँलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदुत, परराष्ट्र सचिव र सुरक्षा निकायका प्रमुखले स्वागत गर्नुभयो । सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार दोहा प्रस्थान गर्नुभएको थियो । उहाँले संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार दोहामा भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ को मुख्य सत्रलाई मङ्गलवार सम्बोधन गर्नुभयो । साथै उहाँले सम्मेलन अन्र्तगत आयोजित सामाजिक विकासका तीन स्तम्भहरूको सुदृढीकरणः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवम् सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाईसमेत सम्बोधन गर्नुभएको थियो । राष्ट्रपति पौडेलले मङ्गलवारनै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेट गर्नुभएको थियो । पौडेलले बुधवार कतार राष्ट्रिय सङ्ग्रहालयको पनि अवलोकन गर्नुभएको थियो । 


    २. मेयर साहको राहदानी रोक्का र तत्काल पक्राउ गर्न माग गर्दै साइबर ब्युरोमा जाहेरी
    नेकपा एमाले निकट युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध जाहेरी दिएको छ । बिहीवार दिउँसो युवा संघका नेताहरू साइबर ब्युरो पुगेर मेयर साहविरुद्ध जाहेरी दिएका हुन् । मयर साहले सामाजिक सञ्जाल फेसबुकमा केही दिन पहिला विभिन्न देश र नेपालका राजनीतिक दलहरूको नाम लिँदै आपत्तिजनक शब्दसहित स्टाटस लेख्नुभएको थियो । केही समयपछि स्टाटस सामाजिक सञ्जालबाट हटाएसँगै मेयर साहको विरोध हुँदै आएको छ । जसले राजनीतिक दल र मित्र राष्ट्रहरुको मानमर्दन गरेको भन्दै युवा संघले उजुरी दिएको छ । जाहेरीमा नेपालका लोकतान्त्रिक आन्दोलनमा अग्रणी भुमिका खेलेका राजनीतिक दलहरुलाई सार्वजनिक पदमा बसेको व्यक्तिले गालीगलौज गरी सार्वजनिक शान्ति खलल हुनेगरी स्ट्याटस लेखेको भन्दै युवासंघले जाहेरी दिएको छ । मित्र राष्ट्रसँगको सम्बन्धमा आँच आउने गरी स्ट्याटस लेखिएको उनीहरुको आरोप छ । जाहेरीमा प्रचलित कानूअनुसार कडा भन्दा कडा कारबाही गर्न माग गर्दै तत्काल पक्राउ गरी विदेश भाग्नबाट रोक्न र राहदानी रोक्का गर्न माग गरिएको छ । 

    ३. बिहार विधानसभा निर्वाचनः धनुषाको जटही नाका १२ घण्टा बन्द, दुवै देशका सुरक्षाकर्मी तैनाथ
    भारतको बिहार राज्यमा जारी विधानसभा निर्वाचनको पहिलो चरणलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा क्षेत्रमा पर्ने धनुषाको जटही नाका बन्द गरिएको छ । बिहीवार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको हो । भारतीय प्रशासनको निर्देशनमा नेपालतर्फको सुरक्षा निकायले पनि सहयोग गर्दै सीमा क्षेत्रमा कडा निगरानी र चेकजाँच बढाएको छ । निर्वाचनको समयमा हुनसक्ने सम्भावित अवाञ्छित गतिविधि रोक्न र मतदान प्रक्रियालाई सुरक्षित बनाउन दुवै देशका सुरक्षाकर्मीहरू सीमा क्षेत्रमा उच्च सतर्कताका साथ खटिएका छन् । नेपालतर्फ सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ सशस्त्र सीमा बल (एसएसबी) र बिहार प्रहरीले संयुक्त रूपमा गस्ती र जाँचलाई तिब्र पारेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेशबहादुर बमले निर्वाचन अवधिभर सीमा क्षेत्रमा शंकास्पद गतिविधि रोक्न चेकजाँच र निगरानीलाई अझ कडा बनाइएको बताउनु भयो ।

    ४. ढेड दशक फुटबलमा बिताउँदा ७÷८ वटा मात्र लिग खेल्न पाएका छौं– फुटबलर
    फुटबल खेल्न पाउनुपर्ने माग राख्दै आन्दोलनरत नेपाली फुटबलरले अखिल नेपाल फुटबल संघ (एन्फा) मा आफ्ना पदक छाडेका छन् । खेलाडीहरू फुटबल खेल्नबाट वञ्चित गर्न नहुने मागसहित बिहीवार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को कम्प्लेक्समा पुगेका थिए । तर एन्फा कम्प्लेक्समा प्रवेश गर्न नपाएपछि उनीहरूले विरोधस्वरूप आफूले पाएका पदक गेटमा झुन्डाएर धर्ना त्यहाँबाट गए । धर्ना कार्यक्रम घोषणा भएपछि बिहानैदेखि एन्फा परिषरमा सुरक्षा वेवस्था कडा पारिएको थियो । खेलाडीको उक्त आन्दोलनमा विभिन्न सरोकारपक्षले पनि साथ दिइरहेको छ । एन्फा र १४ वटा शीर्ष डिभिजनका क्लबबीच यसै हप्ता भएको छलफलबाट यस वर्ष ‘ए’ डिभिजन लिग नगर्ने सहमति भएको थियो ।

    ५. चोभारमा एक महिने आदिनाथ मेला सम्पन्न (तस्बिरहरु)
    काठमाडौंको चोभारस्थित आदिनाथ मन्दिरमा एक महिने आदिनाथ मेला सम्पन्न भएको छ । असोज २१ गते चोभारस्थित आदिनाथ मन्दिरमा एक महिने आदिनाथ मेला शुरु भएको थियो । आदिनाथ मेला कोजाग्रत पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म एक महिना चल्ने गर्दछ । मन्दिरमा राखिएको शिव र पार्वतीको संयुक्त आकार प्रतिबिम्वित मूर्ति (अर्धनारेश्वर आदिनाथ)को पूजा आराधना गर्नेहरुको घुइँचो लाग्ने गर्दछ । मेलामा सहभागी भएमा भय, रोग र विघ्नबाट मुक्त भई पारिवारिक सुख र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ । आदिनाथलाई हिन्दु र बौद्ध अनुयायीले साझा रूपमा पूजा गर्ने गर्दछन् । लिच्छवीकालीन राजा अंशुवर्माले स्थापना गर्नुभएको यो मन्दिर ऐतिहासिक र पुरातात्विक महत्वको छ । बौद्धमार्गीले लोकेश्वरका रुपमा पूजा गर्ने मन्दिरमा लामो आयु प्राप्त हुने, अकालमा मृत्यु नहुने, धनसम्पती प्राप्त हुने बौद्ध धर्मावलम्वीहरुको विश्वास छ । 


    ६. गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण
    अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ । बिहीवार बिहान भंगालस्थित तोडफोड र आगजनी भएको भण्डारीको निवासमा पुगेर निरीक्षणका साथै भेटवार्ता गर्नुभएको हो । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा जेन जी आन्दोलनकारीले भण्डारीको निवासमा आगजनी र तोडफोड गरेका थिए । सोही निवासको गृहमन्त्री अर्यालले बिहीवार बिहान निरीक्षण गर्नुभयो । साथै उहाँले भण्डारीसँग भेटवार्ता पनि गर्नुभएको छ । भेटमा पछिल्लो राजनीतिक, समसामयिक विषयहरु र आगामी निर्वाचनबारे छलफल भएको छ । यसअघि गृहमन्त्री अर्यालले पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग पनि भेटवार्ता गर्नुभएको थियो । 


    ७. काँगे्रसका लागि विशेष महाधिवेशन समय सान्दर्भिक छैनः बद्री अर्याल 
    नेपाली काँग्रेसका नेता बद्री अर्यालले नेपाली काँग्रेसका लागि विशेष महाधिवेशन समय सान्दर्भिक नरहेको बताउनुभएको छ ।  शुक्रवार काठमाडौंमा आोयोजित नियमित महाधिवेशन पक्षधरको भेलालाई सम्बोधन गर्दै उहाँले काँग्रेसका लागि तत्काल विशेष महाधिवेशन गर्नु धोका हुने बताउनुभएको हो । नेपाली काँग्रेसमा महाधिवेशनको मितिलाई लिएर संस्थापन र इतर समूहबीचको विवाद गहिरिँदै गएको अवस्थामा जारी केन्द्रिय समिति बैठकमा संस्थापन र इतर समूहले अलग—अलग महाधिवेशनको कार्यतालिका पेश गरेका छन् । नेता अर्यालले पार्टीमा विशेष महाधिवेशनको प्रश्ताव दर्ता हुनुको कुनै औचित्य नरहेको बताउनु भयो । पार्टीमा पुस्तान्तरण हुनुपर्ने उहाँको भनाई छ । विशेष महाधिवेशनले पार्टीको केन्द्रिय पंक्तिमा मात्र फेरबदल हुने तर प्रदेश र स्थानीय तहमा कुनै बदलाव नहुने भएकाले विशेष महाधिवेशन अहिले समय सान्दर्भिक नहुने नेता अर्यालले बताउनु भयो । 

    ८. कलाकारहरुको प्रश्नः ‘राज्यले चलचित्रलाई प्रवद्र्धनका हिसावले हेर्छ की प्रचारका रुपमा हेर्छ ?’
    सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विकास बोर्ड र कलाकारसँग समन्वय गरेर सेन्सर बोर्डमा सही पात्र नियुक्ति गर्न निर्देशन दिनुभएको छ ।  बिहीवार मन्त्रालयमा कलाकारहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कसैको दबाब र प्रभावमा परेर सेन्सर पास दिन नहुने बताउनु भयो । आफू मन्त्री रहँदाको पाँच महिनामा चलचित्र क्षेत्रका लागि के गर्न सकिन्छ त्यो आफूले गर्ने पति प्रतिवद्धता जनाउनु भयो । उहाँले चलचित्र ऐन कलकार र चलचित्रको हक र हितमा हुनेगरी बन्ने बताउनु भयो । 

    ९.एन्फामा पारदर्शीता र जवाफदेहितको माग गर्दै प्रदर्शन (तस्बिरसहित)
    नेपाली फुटबलमा विगत केही वर्ष यता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिताविरुद्ध फुटबलका सरोकारवालाहरुले धर्ना दिएका छन् । बिहीवार बिहान अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक घण्टा धर्ना दिएका हुन् । उनीहरुले एन्फा मुख्यालमा धर्ना दिए । उनीहरुले एन्फा फुटबल एशोसिएशन की कन्सलटेन्सी, विश्वकप त चार वर्षमा आउँछ, ए डिभिजन कहिले आउँछ ? नो गेम, नो फ्रेमः एन्फाज टु ब्लेम, घरेलु लिग चलाउः फुटबल बचाउ, वाक्क लाग्दो एन्फाः दिक्क लाग्दो नेपाली फुटबल, फुटबल क्यालेण्डरमा होइन, ग्राउण्डमा चाहियो लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । एन्फा भित्रको नेतृत्व विवाद र आर्थिक पारदर्शिताको मुद्दाले नेपाली फुटबललाई लामो समयदेखि गाँजेको छ । हालै धुलिखेलमा सम्पन्न साधारण सभामा, अध्यक्ष पंकजविक्रम नेम्वाङमाथि क्लवहरूले आर्थिक अनियमितताको आरोप लगाएका छन् । २०८२ मा फुटबल गतिविधिका लागि १ अर्ब ५६ करोड रुपैयाँ खर्च भएको एन्फाको दाबी छ । तर यो रकमको विस्तृत हिसाव सार्वजनिक नहुँदा केही क्लवहरूले असन्तुष्टि जनाएका छन् । यसबाहेक खेलाडीहरूको तलव र सुविधाको विषयमा पनि विवाद छ । गत सिजनमा केही क्लवहरूले खेलाडीहरूलाई समयमै तलव नदिएको गुनासो आएको थियो । यस्ता समस्याले युवा खेलाडीहरूको मनोबलमा असर परिरहेको फुटबल विश्लेषकहरूको भनाइ छ ।

    १०. उत्तरी अफगानिस्तानमा भूकम्पबाट २४ जनाको मृत्यु
    उत्तरी अफगानिस्तानमा गत सोमवार गएको भूकम्पका कारण अहिलेसम्म २४ जनाको मृत्यु भएको छ । राजधानी काबुल लगायत अफगानिस्तानको केही भागमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । आधिकारिक स्रोतका अनुसार २४ जनाको मृत्यु भएको छ भने ६ सय ३० भन्दा बढी घाइते भएका छन् । जसमध्ये धेरैजसो सामान्य घाइते छन् । प्रकोपबाट प्रभावितहरूलाई उद्धार गर्न र मृतकहरूलाई सहयोग गर्न प्रभावित क्षेत्रहरूमा उद्धार टोलीहरूले काम गरिरहेका छन् ।

    ११. खुट्टा र मुख रोगको प्रकोपपछि टर्कीद्वारा क्वारेन्टाइन उपायहरू लागू 
    खुट्टा र मुख रोगको प्रकोपपछि टर्कीका अधिकारीहरूले उत्तरपश्चिमी प्रान्त बोलुका २२ गाउँ र छिमेकी गाउँमा क्वारेन्टाइन उपायहरू लागू गरेका छन् । समाचार वेबसाइट हल्क टिभीले रिपोर्ट गरेको छ कि पशु रोगलाई नियन्त्रण गर्ने प्रयासको रूपमा प्रकोपले अर्को सूचना नभएसम्म क्षेत्रीय पशुधन बजारमा सञ्चालन निलम्वन गर्न निर्देशन गरेको छ । यो रोग छिटो फैलिएको उल्लेख गरेका छन् । टर्कीले यस वर्ष खुट्टा र मुख रोगको बारम्बार प्रकोपको सामना गरेको छ । जसले गर्दा धेरै पशुधन बजारहरू गर्मीभर बन्द रहन बाध्य छन् । भाइरल रोगले गाईवस्तु, भेडा र बाख्रा जस्ता खुर भएका जनावरहरूलाई असर गर्छ । जसले गर्दा ज्वरो, छाला र मुख र खुट्टामा पीडादायी घाउहरू हुन्छन् । जसले गर्दा जनावरहरूलाई खान वा हिँड्न गाह्रो हुन्छ । 

    १२. गाजाः जहाँ हातखुट्टा गुम्छन् तर सपनाहरू बाँचिरहन्छन्
    गाजा शहरको अल–दराजमा शरीरभर चोट बोकेका पूर्वफुटबल डिफेन्डर रमेज अल–इस्सी आफ्नो बायाँ खुट्टा बिना जीवन बिताउन सिक्दैछन् । ४१ वर्षीय उनी एक समय अल–हिलाल स्पोट्र्स क्लवका लागि उत्कृष्ट खेलाडी थिए । जनवरी १९, २०२४ मा श्रापनेलले लागेपछि उनको खुट्टा काटिएको थियो । चार दिनसम्म उनी गाजाको सबैभन्दा ठूलो चिकित्सा सुविधा अल–शिफा अस्पतालको भुइँमा पल्टिए । न ओछ्यान, न उपकरण, न पर्याप्त उपचार । आफू घर जाँदै गर्दा लगभग ५० मिटर टाढाको घरलाई निशाना बनाइएको उनी सम्झन्छन् ।  आफूलाई छर्राले लागेको थियो । उनलाई अझै फुटबल खेल्न मन छ । तर शरीरले साथ दिँदैन । आफूले फुटबल खेल्न नसके पनि भावी पुस्ताका लागि केही गर्ने उनको सोच छ ।  स्थानीय स्वास्थ्य अधिकारीहरूकाअनुसार अक्टोबर २०२३ देखि अंगभंग भएका गाजामा ५ हजार भन्दा बढी प्यालेस्टिनीहरूमध्ये अल–इस्सी एक हुन् । जसमा लगभग ७ सयबालबालिकाहरू पनि समावेश छन् । धेरै अंगभंग भएकाहरूले अस्थायी उपकरणहरू पाउँछन् । केहीले गाजामा उपलब्ध नभएको उन्नत कृत्रिम अंगहरूको लागि महिनौं कुर्नुपर्छ । 

    १३. फिलिपिन्समा कालमेगी आँधीबाट मृत्यु हुनेको संख्या ६६ पुग्यो
    फिलिपिन्समा आईतवारदेखि आएको कालमेगी आँधीमा मृत्यु हुनेको संख्या ६६ पुगेको छ । अन्य २६ जना बेपत्ता भएको देशको नागरिक रक्षा कार्यालय (ओसीडी) ले बुधवार जनाएको छ । ओसीडीका उपप्रशासक राफेलितो अलेजान्ड्रोले मिडियालाई बताएअनुसार मृत्यु हुनेमध्ये ४९ जना सबैभन्दा बढी प्रभावित सेबु प्रान्तका छन् । कम्तिमा १० जना घाइते भएका छन्  । ७ लाख ६ हजार भन्दा बढी मानिसहरू आँधीबाट प्रभावित भएका छन् । बुधवार बिहानसम्म राज्यको मौसम विभागले कालमेगीको केन्द्र पलावानको एल निडोमा देखिएको बताएको छ । जुन प्रतिघण्टा २५ किलोमिटरको गतिमा पश्चिम–उत्तरपश्चिमतर्फ सर्दै गएको छ । जसमा अधिकतम १२० किलोमिटर प्रतिघण्टाको हावा र १६५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ । कालमेगी यस वर्ष फिलिपिन्स द्वीपसमूहमा आक्रमण गर्ने २० औं आँधी थियो । प्रशान्त महासागरीय आँधीबेहरी क्षेत्रको छेउमा अवस्थित फिलिपिन्सले प्रत्येक वर्ष औसत २० वटा आँधीबेहरी अनुभव गर्छ । 

    १४. जेन–जीको मुख्य मागलाई नै सरकारले बेवास्ता ग¥योः बाबुराम भट्टराई
    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेन–जी आन्दोलनको मुख्य मागलाई नै सरकारले बेवस्ता गरेको बताउनुभएको छ । काठमाडौंमा बिहीवार आयोजित जेन–जी अगुवाहरुकोसंगको अन्तरसंवाद कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाले जेन–जी अगुवाहरुलाई आफ्ना माग सम्बोधन गराउनको लागि सरकारसँग सम्झौता गर्न सुझाव दिनुभयो । जेन–जी आन्दोलनको मुख्य माग नै भ्रष्टाचारीलाई कारबाही गर्ने भएपनि सरकारले अहिलेसम्म कारबाही प्रक्रिया अगाडी नबढाएको उहाँको भनाई छ । उहाँले ठूला भ्रष्टाचारी र भ्रष्टाचारका ठूला ठूला काण्डहरु छानविनको लागि प्रक्रिया अगाडी बढाउन दबाब दिन सुझाव दिनुभयो । उहाँले भदौ २३ को आन्दोलनको क्रममा भएका गोली प्रहारको पनि निष्पक्ष रुपमा छानविनको लागि दबाब बढाउन आग्रह गर्नुभयो । उहाँले छानविनको लागि समिति बने पनि दोषीलाई कारबाही गर्न ढिलो भएको बताउनु भयो । यसले गर्दा प्रमाण नष्ट हुने र दोषि उम्कने उहाँको दाबी छ । निर्वाचन गर्न पनि सरकारलाई दबाब दिनुपर्ने उहाँको भनाई छ । निर्वाचन नभएमा संविधान असफल हुने उहाँको भनाई छ । उहाँले संविधानलाई असफल बनाउन केही तत्वहरु सक्रिय भएको पनि बताउनु भयो । दुर्गा प्रसाईंको आन्दोलनलाई लक्षित गर्दै उहाँले संविधान असफल बनाउनेहरुसँग शतर्क हुँदै बेलैमा निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो । निर्वाचनको लागि सरकारले दुई वटा काम गर्नुपर्ने उहाँको भनाई छ । 

    १५. युनेस्कोद्वारा ललितपुर महानगरलाई संगीतको सिर्जनात्मक शहर घोषणा 
    ललितपुर महानगरपालिकालाई युनेस्कोले संगीतको सिर्जनात्मक शहर घोषणा गरेको छ । महानगरले बिहीवार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । महानगरले संगीतको माध्यमबाट नगरवासीलाई रोजगारीको नयाँ अवसर सिर्जना गर्नसक्ने महशुस गरी संगीतको विधामा रम्परागत संगितको संरक्षण गर्र्दै समकालिन संगीतलाई युनेस्को सिर्जनात्मक शहरहरुको सञ्जालको सदस्यताको लागि पहल गरेको थियो । गत अक्टोबर ३१ मा विश्व शहर दिवसको अवसर पारेर ललितपुर महानगरलाई युनेस्कोले संगीतको सिर्जनात्मक शहर घोषणा गरेको गरिएको महानगरले जनाएको छ । युनेस्कोबाट संगित विधामा सदस्यता प्राप्त गरेसगै महानगरले चार वर्षको लागि संगितको क्षेत्रका काम गर्ने योजना समेत तयार पारेको छ । महानगरले यस क्षेत्रमा अनुसन्धान तथा शैक्षिक कार्यक्रम गर्ने, आवश्यक नीति निर्माणमा पहलकदमी गर्ने तथा श्रोत तथा साधनको विकास गर्नको लागी ललितपूर सिर्जनात्मक कला केन्द्रको स्थापना गर्ने लगायतका योजना तयार पारेको छ । महानगर प्रमुख चिरिबाबु महर्जनले युनेस्कोबाट महानगरपालिकालाई संगीतको शहर घोषणा गरेपश्चात परम्परागत, समकालिन तथा आधुनिक संगीतको जगेर्ना गर्दै यस क्षेत्रमा युवाहरुलाई प्राथमिकताका साथ सहभागी गराउने बताउनुभयो । संगीतलाई रोजगारी सिर्जनाको माध्यम बनाउन महानगरपालिकालाई महत्वपूर्ण जिम्मेवारी र अवसर प्राप्त भएको उहाँको भनाई छ । संगीतको माध्यमबाट महानगरको छवि र परिचयलाई अन्तर्राष्ट्रियस्तरमा थप उचो बनाउन सबैको साथ सहयोग हुने उहाँले बताउनु भयो । 

    १६. रामराज्य ल्याइदिउँ जस्तो लाग्छ तर भन्नेबित्तिकै सबै हुँदैनः बाबुराम भट्टराई 
    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिमा आन्तरिक र वाह्य शक्तिहरुले खेलिरहने भन्दै भनेअनुसार सबै काम गर्न नसकिने बताउनुभएको छ । काठमाडौंमा बिहीवार आयोजित जेन–जी अगुवाहरुकोसँगको अन्तरसंवाद कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिमा देश भित्र र बाहिरका दृश्य, अदृश्य शक्तिहरुले काम गरिरहने हुँदा भनेअनुसार सबै काम गर्न नसकिने बताउनु भयो । ती शक्तिहरुसँग सन्तुलन मिलाएर अघि बढ्दै आफ्ना एजेण्डाहरु लागू गर्नुपर्ने उहाँको भनाई छ । रामराज्य ल्याईदिउँ भन्ने चाहना भएपनि भन्नेबित्तिकै केही नहुने टिप्पणी गर्नुभयो । उहाँले अबको लोकतन्त्र समावेशी र सहभागीयुक्त हुनुपर्ने बताउनु भयो । गणतन्त्रको विकल्प नभएको उल्लेख गर्नुहुँदै उहाँले वंशाणुगत जन्मजात नै कोही राजा हुनुपर्ने अलोकतान्त्रिक व्यवस्था मान्य नहुने बताउनु भयो । उहाँले नेपालको संविधानमा वर्गीय, जातिय, क्षेत्रिय, लैङ्गिक र जातपातजन्य वर्ण विरोधको अन्त्यगर्नेगरी राज्यको पुनःसंरचना गर्ने भन्ने उल्लेख भएकोले सोहीअनुरुप अगाडी बढ्नुपर्ने बताउनु भयो ।  


    १७. कार्की सरकार गठनका पछाडि गम्भीर षड्यन्त्र छ, खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गरौँः महासचिव चन्द 
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्दले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने टिप्पणी गर्नुभएको छ ।  बिहीवार काठमाडौंको भृकुटीमण्डपमा पार्टीद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै महासचिव चन्दले यस्तो टिप्पणी गर्नुभएको हो । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार रहस्यमय तरिकाले गठन गरिएको भन्दै उहाँले सरकार गठनका पछाडि षड्यन्त्र लुकेको पनि टिप्पणी गर्नुभयो । उहाँले जेन–जी विद्रोहले नेपालमा संसदीय व्यवस्था पूर्णतः असफल भएको पुष्टि गरेको पनि जिकिर गर्नुभयो । उहाँले संसद विघटन भइसकेपछि कुशासन र भ्रष्टाचारमार्फत देश लुट्ने समूहहरु सक्रिय रहेको उल्लेख गर्दै जनताले प्रतिवाद गर्न तयार हुनुपर्ने बताउनु भयो । महासचिव चन्दले संविधान संशोधन र पुनर्लेखनको आवश्यकता रहेको उल्लेख गर्दै राज्यको पुनःरचना जनताको हितअनुसार हुनुपर्नेमा जोड दिनुभयो । प्रशासनिक सुधार, विश्वविद्यालयस्तरबाट दक्ष प्रशासनिक जनशक्ति तयार पार्नुपर्ने र नेताहरूको सम्पती आर्जनको स्रोत छानबिन गर्नुपर्ने पनि उहाँको माग छ । 

    १८. कोरिया पठाउन ढिलाई गरेको भन्दै ईपीएस कोरिया शाखा घेराउ 
    रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरेपनि कोरिया पठाउन ढिलाइ गरेको भन्दै आन्दोलन शुरु भएको छ । भाषा र सीप परिक्षा पास गरेको दुई वर्ष बित्नलाग्दा समत दक्षिण कोरिया जान नपाएकाहरूले बिहीवार ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखा घेराउ गरेका हुन् । सन् २०२५ का लागि एक लाख ६३ हजार जना परीक्षामा सहभागी भएकोमा १७ हजार ३० जना भाषा परीक्षामा उत्तिर्ण भएका थिए । तीमध्ये अधिकांशको अहिलेसम्म करार सम्झौता समेत नभएको कारण दक्षिण कोरिया जान पाएका छैनन् । कोरियामा कामदार पठाउन थप विज्ञान र परीक्षा लिनुभन्दा पहिले पास गरेका कामदारहरुलाई कोरिया पठाउनुपर्ने उनीहरुको माग छ ।सन् २००८ देखि दक्षिण कोरियाले ईपीएस प्रणालीमा अदक्ष नेपाली कामदार लैजान थालेको थियो । हाल कोरियामा एक लाख हारहारीमा नेपालीहरु कार्यरत रहेका छन् ।

    १९. नेपाली सेनाले मनायो युएन दिवस 
    नेपाली सेनाले संयुक्त राष्ट्रसंघ (युएन) दिवस श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा विशेष कार्यक्रमको आयोजना गरी भव्य रूपमा मनाएको छ । बिहीवार प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा विशेष समारोहकाबीच सेनाले युएन दिवस मनाएको हो । कार्यक्रममा कार्यक्रममा रक्षा सचिव, बलाधिकृत, लगतय सबै सुरक्षा निकायका प्रमुखहरु तथा परराष्ट्र मन्त्रालयका पदाधिकारीहरू, मित्रराष्ट्रहरूका सैनिक सहचारीहरू, सञ्चारकर्मीहरू लगायत नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक तथा अन्य दर्जाको उपस्थिति रहेको थियो ।  संयुक्त राष्ट्र संघको शान्ति मिसनमा १९७४ देखि नेपाली सेनाको टोली जान थालेको हो । प्रहरीको टोली १९९२ र एपीएफको टोली २००२ देखि गएको हो ।

    २०. भारत–नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्क डिसेम्बरदेखि मद्रासमा हुने
    नेपाल र भारतको स्टार्टअप इकोसिस्टमबीच सहकार्य र नवप्रवर्तन प्रवद्र्धन गर्ने उद्देश्यसहित अगामी डिसेम्बरदेखिमा भारत–नेपाल स्टार्टअप पार्टनरशिप नेटवर्क कार्यक्रम शुरु हुने भएको छ । पूर्ण छात्रवृत्तिय प्रशिक्षण, परामर्श र इन्टर्नशिप मोड्युलमा आधारित आठ हप्तासम्म चल्ने उक्त कार्यक्रम भारतको प्राविधिक संस्थान (आईआईटी)मद्रासमा हुने बताइएको छ । नेपालका स्टार्टअप उद्यमीहरूले यस कार्यक्रममार्फत आईआईटी मद्रासको नवप्रवर्तन र इन्क्युबेसन प्रणालीमा प्रत्यक्ष सिकाइ र अनुभव लिन पाउने विश्वास गरेका छन् । उक्त कार्यक्रमको तयारीका सम्बन्धमा बिहीवार काठमाडौंस्थित भारतीय दूतावासमा अभिमुखिकरण तालिम सम्पन्न भएको छ । कार्यक्रममा वीरगंज र त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान, धरान क्याम्पसका करिब ६० जना विद्यार्थीहरू भर्चुअल रूपमा सहभागि थिए । कार्यक्रममा सहभागि हुन चाहनेले यही नोबेम्बर नोभेम्बर १५ तारिखसम्म आवेदन दिनसक्ने दुतावासले जनाएको छ ।

    २१. स्थानीयले बन्द गरे मेलम्ची खानेपानीको पानी पथान्तरण
    मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले पूर्णरुपमा बन्द गरेका छन् । विगतमा भएको सहमति कार्यान्वयन नभएको भन्दै संघर्ष समिति, राजनीतिक दल र बाढी प्रभावित स्थानीयले पानी पथान्तरण बन्द गरेका हुन् । आफूहरुको माग पूरा नभएसम्मका लागि पानी पथान्तरण पूर्णरुपमा बन्द गरेको स्थानीयले बताएका छन् । मेलम्ची नदी हेलम्बुबाट पानी पथान्तरण पछि सुन्दरीजलमा प्राप्त हुने पानीको परिमाणको आधारमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बिक्रि गरेवापतको मूल्यको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनुपर्ने स्थानीयको माग रहेको छ । स्थानीहरुले बाढी प्रभावितलाई आवश्यक राहत वितरण गरर्नुपर्ने र आयोजनाका बोर्ड सदस्यहरुको सम्पती विवरण सार्वजनिक गर्न समेत माग राखेका छन् । 

     २२. आज र भोलि भिटामिन ए तथा जुकाका औषधि खुवाइँदै 
    भिटामिन ए खुवाआँै, बाल मृत्युदर घटाऔँ भन्ने मूल नाराका साथ बिहीवार र शुक्रवार (आज र भोलि) भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदैछ । राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत सरकारले बिहीवार र शुक्रवार देशभर भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने अभियानलाई सञ्चालन गरेको हो । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई सो क्याप्सुल खुवाउने गरेको ललितपुर महानगरपालिका वडा नम्बर १५ कि नगर स्वास्थ्य केन्द्र प्रमुख संगीता मिश्रले बताउनु भयो । उहाँले सो कार्यक्रममा सहभागी हुन पनि सबैलाई अनुरोध गर्नुभयो । 
    प्रमुख मिश्रले भन्नुभयो,‘जुन तोकिएको दिन छ । आफ बच्चाहरुलाई भिटामिन खुवाउन नछुटाउनु होला । भिटामिन सँगसँगै हामीले जुकाको औषधि पनि दिईरहेका हुन्छौँ । भिटामिन अरु बेलामा पाईदैन । त्यसैले नछुटाई खुवाउनु होला भनेर सबैलाई अनुरोध गर्दछौँ ।’

    २३. देशलाई छाडातन्त्रमा चलाउन प्रतिनिधि सभा विघटन गरियोः ओली 
    नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै आफ्नो पार्टीले देशभर आन्दोलन गर्ने चेतावनी दिनुभएको छ । बिहीवार भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा पुगेका नेता, कार्यकर्तासँग बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले देशलाई छाडातन्त्रमा चलाउनका लागि कुनै हैसियत नै नभएको सरकारले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको जिकिर समेत गर्नुभयो । उहाँले राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक सरकारले गरेको सिफारिसअनुसार प्रतिनिधि सभा विघटन गरेर गल्ती गरेको बताउनु भयो । संविधान विपरित प्रतिनिधि सभा विघटन गरेकाले आफूहरुले त्यसको पुनःस्थापनाको माग गरेर अघि बढ्नुपरेको अध्यक्ष ओलीको तर्क थियो ।  

    २४. तिलगंगा–तामागंगा सुरुङमार्ग कसरी बन्यो रुग्ण ?
    १७ वर्षअघि नै सुरुङ मार्ग निर्माणको कल्पना गरेर काम थालिएको तिलगंगा–तामागंगा सडक अहिले रुग्ण आयोजनाको रूपमा परिणत भएको छ । नेपालमा सडक निर्माणमा हुने लापरबाहीको ज्वलन्त उदाहरण बनेको यो आयोजना तत्कालीन सरकारले चावहिल र गौशाला क्षेत्रको सवारी चाप कम गर्नका लागि शुरू गरेको भएपनि अहिलेसम्म कामले गति लिन सकेको छैन । आर्थिक वर्ष २०६६÷६७ मा चाबहिल बाइपास सडक निर्माणका लागि सुरुङ र सडक दुवै निर्माण गर्ने योजना अघि बढाइएको यो आयोजना रुग्ण बनेको छ । सडक डिभिजन काठमाडौं मातहत करिव १८ करोड लागतको ठेक्का सम्झौता भएपनि सरकारी निकायभित्रकै ढिलासुस्ती, झन्झट र संयोजन नगरेकै कारण आयोजना अधुरै बनेको छ । सडक डिभिजनले १७ वर्षअघि तिलगंगा–तामागंगा सडक निर्माणका लागि ठेक्का लगाएको थियो । तर यो क्षेत्र विश्व सम्पदा सूचीभित्र पर्ने भन्दै युनेस्कोले सडक बनाउन असहमति जनाएपछि काम अघि बढ्न सकेन । तत्कालिन समयमा पशुपति क्षेत्र विकास कोषसँग सहमति लिएर ठेक्का गरिएको भएपनि काम अधुरो रहँदा सरकारको लगानी समेत खेर जाने स्थिति बनेको छ । निर्माण कम्पनीहरूले पटक–पटक ठेक्का तोड्न आग्रह गरे पनि सडक डिभिजनको आलटालले ठेक्का नत तोडियो, न काम अघि बढ्यो । अहिले यो सडक आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘रुग्ण ठेक्का’को सूचीमा राखेको छ ।

    २५. लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल, चालु खर्च धान्न कठिन पर्दै
    लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल बन्दै गएको छ । सरकारी निकायहरुले प्रभावकारी रुपमा राजस्व उठाउन ध्यान नदिदाँ लक्ष्यअनुसार राजस्व संकलन हुन छाडेको हो ।  अर्थमन्त्रालयकाअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले २ खर्ब ४९ अर्ब मात्रै राजश्व उठाएको छ । यो अवधि अर्थात असोज मशान्तसम्ममा सरकारले ३ खर्ब २१ अर्ब रुपैँया राजस्व उठाउने लक्ष्य राखेको थियो । यद्यपी अघिल्लो आर्थिक वर्षको यो अवधीको तुलनमा संकलित राजस्व झिनो मात्रमा बढेको छ । गत आर्थिक वर्षको असोजसम्ममा सरकारले २ खर्ब ४८ अर्ब राजस्व उठाएको तथ्यांकले देखाउँछ । अघिल्लो आर्थिक वर्षको यही अवधीको तुलनामा राजश्व वृद्धिदर ०.३२ प्रतिशतले मात्रै बढ्नुले सरकारी संयन्त्र राजश्व संकलन गर्न तदारुकताकासाथ नलागेको प्रष्ट देखिएको छ । चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब ८० अर्बको राजस्व संकलनको लक्ष्य लिएको छ । असोज मशान्त सम्ममा राजश्वका कुनै पनि शिर्षकमा उत्साहजक रुपमा राजस्व संकलन नभएको स्वयं अर्थमन्त्रालयको तथ्यांकले प्रष्ट देखाउँछ । 

    प्रकाशित मिति :कार्तिक २० २०८२ बिहिवार - १८:४०:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij