Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

आज दिनभरको २७ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको २७ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 708
    Shares

    आज दिनभरको २७ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्
    images

    १. राजनीतिक दलहरु सुसंगठित भएर अघि बढ्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरु सुसंगठित भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । .प्रतिलिपि नागरिकता लिन मंगलवार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुग्नुभएकी उहाँले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक दलहरु टुट्नुफुट्नु राम्रो नभएको बताउनु भयो । पार्टीभित्रका मतभेदहरु भए अन्तरसंघर्षबाटै समाधान गरेर अघि बढ्नुपर्ने बताउनु भयो । राष्ट्रको शान्तिका लागि पनि राजनीतिक दलहरु एक हुनुपर्ने बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘पार्टीहरु टुट्नु फुट्नु राम्रो कुरा होइन, पार्टीहरु सुसंगठित भएर पार्टीभित्र केही मतभेद छ भने अन्तरसंघर्ष गरेर अघि बढ्नुपर्छ । राष्ट्रको शान्तिका लागि पनि पार्टीहरु पनि सुदृढ हुने र अन्तरसंवाद गरेर अघि बढ्ने, मतभेदहरु पार्टीभित्रै समाधान गरेर अघि बढ्नु राम्रो हो ।’

    २. माधव नेपालको खोटका कारण पार्टी विलय हुँदैछ, नयाँ पार्टी निर्माण गर्ने प्रक्रियामा संकल्प लिएर अघि बढौँः झलनाथ खनाल

    नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी पुनःगठनको घोषणा गर्नुभएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालका कारणले पार्टी विभाजित भएपनि पार्टी विलय नहुने जिकिर गर्नुभएको हो । नेता खनालले सम्पूर्ण नेता,कार्यकर्ताहरुलाई अन्य कुनै पार्टीमा प्रवेश नगरी स्वाभिमानका साथ पार्टी पुनर्गठनमा लाग्न आग्रह गर्नुभयो । उहाँले सम्पूर्ण नेपालीको चाहना नेपाली विशेषता सहितको सुन्दर, स्वतन्त्र नेपाल निर्माण गर्ने भएकाले अबका दिनमा त्यसतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै सम्मानित नेता खनालले इतिहासमा मालेबाट एमाले बनाएको अवस्थालाई स्मरण गर्दै अबका दिनमा एकीकृत समाजवादीको क्रान्तिकारी धारको लेगेसीलाई पुनःजागृत गर्दै नयाँ पार्टी निर्माण गर्ने बताउनु भयो । कुनै अर्को पार्टीमा गएर विलय हुनेकुरा गलत भएको बताउँदै पार्टी पुनः गठनमा जुट्न आह्वान गर्नुभयो । अब आफूहरु नयाँ कार्यदिशा, नीति र सिद्धान्तको आधारमा अघि बढ्ने दाबी गर्दै सबै प्रकारका हक र अधिकारले युक्त भएका नेपाल निर्माणमा जुट्न आग्रह गर्नुभयो । 

    ३. माओवादलाई पार्टीभित्रको आन्तरिक बहसको विषय बनाउन माधव नेपाल सहमति जनाउनुभएको छः माधव सापकोटा

    नेकपा (माओवादी केन्द्र) का नेता माधव सापकोटाले पार्टीको नाम माओवादी नराख्ने बित्तिकै माओवादी जनयुद्ध र माओवादी लिगेसी नरहने भन्ने नहुने बताउनुभएको छ । मंगलवार विघटित केन्द्रिय कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्राविधिक र आजको आवश्यकताअनुसारको राजनीतिक स्तरिकरण गरिएको स्पष्ट पार्नुभयो । उहाँले माओवादीहरुले माओवादको बारेमा अझ प्रखर ढंगले छलफल गर्ने बताउनु भयो । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समेत आगामी दिनमा माओको योगदान, विचारधारा र माओवादका बारेमा बहस गर्नेकुरामा सहमति जनाउनुभएको स्पष्ट पार्नुभयो । यसलाई पार्टीभित्रको आन्तरिक बहसको विषय बनाएर अघि बढ्ने बताउनु भयो । 

    ४. बगरखेतीले उकास्यो जीवनस्तर (फोटो फिचर)

    बर्दियाको गुलारिया नगरपालिका वडा नं. ५ का किसानले बबई नदीको किनारमा रहेको बगरमा खेती गरेर आम्दानी गर्न थालेका छन् । त्यसै खेर जाने बगरमा हिउँद तथा वर्षा दुवै समयमा खेती गरेर यहाँका किसानले मासिक १ लाख रुपैयाँसम्म कमाउने गरेका हुन् । नदीको  बगरमा गरिएको खेतीले बालापुरका किसानको आर्थिक जीवनस्तर फेरिएको छ । यहाँको २५ बिगाह क्षेत्रफल बगरमा २७ परिवारले खेती गर्दै आएका छन् । बालापुरस्थित बबई नदीको किनारमा गुलरिया वडा नम्बर ५ का २७ घर परिवारले हाल तिल, साग, सखरखण्ड, लौका, काउली र बन्दाको खेती गर्दै आएका छन् । हिउँदमा भने यहाँ किसानले खरबुजा, लौका र करेला खेती गर्ने गरेका छन् ।

    ५. पूर्वराष्ट्रपति भण्डारीले लिइन् प्रतिलिपी नागरिकता

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिलिपी नागरिकता लिनुभएको छ । जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा उहाँको निवासमा तोडफोड र आगजनी भएको थियो । त्यसक्रमममा उहाँको नागरिकता पनि जलेका कारणले उहाँले प्रतिलिपि नागरिकता लिनुभएको हो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंलेमा उपस्थित भएर मंगलवार दिउँसो भण्डारीले प्रतिलिपी नागरिकता लिनुभएको हो ।

    ६. पाटन दरबार डबलीमा ३८५ वर्ष पुरानो कार्तिक नाचको भव्य समापन

    नेपालको सांस्कृतिक इतिहासमा अमिट छाप छोड्ने ३ सय ८५ वर्ष पुरानो कार्तिक नाच यस वर्ष पनि पाटन दरबार डबलीमा भव्य रूपमा सम्पन्न भएको छ । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले विक्रम संवत १६९७ मा शुरु गर्नुभएको यो पौराणिक नाच विष्णु पुराणको नृसिंह अवतार कथामा आधारित छ । कात्तिक महिनाभर सञ्चालन हुने यो नाचलाई छोटकरीमा कार्तिक शुक्ल षष्ठीदेखि त्रयोदशीसम्म सीमित गरिएको छ । तर यसका मुख्य तीन दिनका नाट्य प्रदर्शनले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएका छन् । 

    ७. जेन–जी आन्दोलनमा क्षतिग्रस्त भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारतस्थित नेपाली दुतावासको आह्वान

    दिल्लीस्थित नेपाली राजदुतावासले जेन–जी आन्दोलनमा क्षतिग्रस्त भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरूत्थान र राहत लगायतका कार्यको लागि आर्थिक सहयोग गर्न भारत प्रवासमा रहेका नेपाली र भारतीय नागरिकहरुलाई आह्वान गरेको छ । दिल्लीस्थित नेपाली राजदुतावासमा एक कार्यक्रमको आयोजना गर्दै विभिन्न प्रवासी संगठनहरुमार्फत सम्पूर्ण नेपालीहरूलाई नेपाल सरकारले शुरु गरेको एकद्वार प्रणाली अन्तर्गत भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग गर्न भनिएको हो । कार्यक्रममा बोल्दै भारतका लागि नेपाली राजदुत डा. शंकर शर्माले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि यसरी आर्थिक संकलन गर्दा अनियमितता हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाल सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरेकाले त्यसमा भारतबाट पनि अनलाइन पेमेन्ट गर्न सकिने सुविधा रहेको बताउनु भयो । राजदुत शर्माले नेपाल सरकारको स्पष्ट निर्देशन सुनाउँदै राष्ट्रिय वाणिज्य बैंकमा रहेको कोषको खातामा कुनै पनि स्थानबाट सोझै सहयोग राशी पठाउन सकिने व्यवस्था गरेकाले कसैले पनि व्यक्ति विशेषबाट आर्थिक संकलन नगर्न र सबैलाई कोषको बैंक खातामा सोझै सहयोग रकम पठाउन सुझाव दिनुभयो । 

    ८. जुनियर खुला राष्ट्रिय बास्केटबल हुने

    आगामी बुधवारदेखि काठमाडौंमा खुला राष्ट्रिय महिला बास्केटबल च्याम्पियनसिप हुने भएको छ । नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा बुधवारदेखि खुला राष्ट्रिय महिला बास्केटबल प्रतियोगिता हुने भएको छ । एञ्जल हार्ट नेसनल स्कुलको आयोजनामा सिनियर र जुनियर यु–१६ तर्पm समान चार टोलीको सहभागिता रहनेछ । उक्त प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुनेछ । सिनियरतर्पm जेभियर इन्टरनेसनल कलेज, साइपाल एकेडेमी, ट्रेनिङ ग्राउन्ड र ग्रान्ड स्टार्स तथा जुनियरमा बौद्ध मेरिडियन स्कुल, रिब्स, भ्याली पब्लिक स्कुल र स्वर्णिम कलेजले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । आयोजक एञ्जल्स हार्ट नेसनल स्कुलका प्रिन्सिपल टकबहादुर थापाले यसपल्ट प्रतियोगिता खेल्न प्रवेश शुल्क नराखिएको बताए ।

    ९.जनकपुरको सुनचाँदी बजारमा भएको घटनाको निष्पक्ष छानविनको माग गर्दै व्यवसायीहरु आन्दोलनमा

    धनतेरस पर्वको पूर्वसन्ध्यामा सुनचाँदी बजारमा भएको घटनामा निष्पक्ष छानविन गर्न माग गर्दै जनकपुरधाम उद्योग वाणिज्य संघ आन्दोलनमा उत्रिएको छ । संघले दोषी प्रहरीमाथि कारबाहीको माग गर्दै जनकपुरधाममा बजार व्यवसाय बन्द गरी आन्दोलनमा उत्रिएको हो । संघका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि प्रहरीद्वारा गरिएको दमन तथा कुटपिट विरुद्ध जनकपुरधाम उद्योग वाणिज्य संघ र जनकपुरधामका व्यापारीहरु दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत बजार व्यवसाय बन्द गरेका हुन् । जनकपुरधामका व्यापारीहरु बिहान ९ बजेदेखि १२ बजेसम्म आ–आफ्नो व्यापारिक प्रतिष्ठान बन्द गरी बिरोध जनाएका छन् । त्यस्तै जनकपुरधाम उद्योग वाणिज्य संघको अगुवाईमा नगरमा व्यापारीहरुले बिरोध ¥याली समेत निकालेका थिए । संघको आह्वानमा जनकपुरधामका व्यापारीहरु पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत व्यापारिक प्रतिष्ठानमा कालो झण्डा झुन्ड्याएर कालोपट्टी बाँधेर व्यवसाय सञ्चालन गरी ३ दिनसम्म विरोध जनाएका थिए । 

    १०. इराक र टर्कीद्वारा जल सहयोग सम्झौतामा हस्ताक्षर

    इराक र टर्कीले पानी सहयोग सम्झौता कार्यान्वयन गर्न कार्यकारी संयन्त्रमा हस्ताक्षर गरेका छन् । जसलाई इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीले इराकमा पानी संकटको दिगो समाधानमध्ये एक भनेर स्वागत गर्नुभएको छ । अल–सुदानीको मिडिया कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि यो संयन्त्रमा इराकी विदेशमन्त्री फुआद हुसेन र उहाँका भ्रमणमा रहेका टर्कीका समकक्षी हकान फिदानले हस्ताक्षर गर्नुभएको छ । अल–सुदानीले यो सम्झौता पानी क्षेत्रमा संयुक्त प्रमुख परियोजना प्याकेजहरूमार्फत कार्यान्वयन गरिनेमा जोड दिनुभयो । उहाँले यो संयन्त्रले द्विपक्षीय सम्बन्धलाई बढाउने र विभिन्न क्षेत्रहरूमा उनीहरूको विकासमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । फिदानको बगदाद भ्रमणको समापनमा हस्ताक्षर भएको थियो । जहाँ उहाँले इराकी राष्ट्रपति अब्दुल लतीफ रशीदसँग भेट गर्नुभएको थियो ।

    ११. कुवेतमा कारखानामा लागेको आगो निभ्यो

    कुवेतको एक कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ । आईतवार साँझ जहरा गभर्नरेटमा रहेको आल्मुनियम, फाइबरग्लास सामग्री र लिथियम ब्याट्री भएको कारखानामा आगो लागेको थियो । कुवेती अग्निनियन्त्रकहरूले ठूलो आगलागीलाई नियन्त्रणमा लिन सफल भएका हुन् । आगलागीको कारण अझै अनुसन्धान भइरहेको छ । 

    १२. टर्कीको वार्षिक मुद्रास्फीति अक्टोबरमा ३२.८७ प्रतिशतमा झ¥यो

    टर्कीको वार्षिक मुद्रास्फीति अक्टोबरमा थोरै घटेर ३२.८७ प्रतिशतमा पुगेको छ । जुन सेप्टेम्बरमा ३३.२९ प्रतिशत थियो । सबैभन्दा ठूलो वार्षिक वृद्धि आवास (५०.९६ प्रतिशत), खाद्य र गैर–मादक पेय पदार्थ (३४.८७ प्रतिशत), र यातायात (२७.३३ प्रतिशत) मा रेकर्ड गरिएको छ, टर्कीको तथ्याङ्क संस्थानले जनाएको छ । टर्कीका उपराष्ट्रपति सेभ्देत यिलमाजले मुद्रास्फीतिलाई सम्बोधन गर्नु सरकारको शीर्ष आर्थिक प्राथमिकता रहेको बताउनु भयो । अत्यावश्यक वस्तुहरूमा मूल्य वृद्धि सुस्त हुन थालेको तर सेवाहरू, विशेष गरी भाडा र शिक्षा, ढिलो भइरहेको बताउनु भयो । 

    १३. दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणबाट ४ हिज्बुल्लाह सदस्यको मृत्यु

    दक्षिणी लेबनानी गाउँ कफर रुम्मानेमा इजरायली हवाई आक्रमणमा चार जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । राष्ट्रिय समाचार एजेन्सीकाअनुसार इजरायली ड्रोनले गाउँको पूर्वी बाहिरी इलाकामा रहेको दोहा–कफर रुम्माने सडकमा निर्देशित मिसाइलसहित चार पाङ्ग्रे गाडीलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो । एक सुरक्षा स्रोतले बताएअनुसार चार जना पीडितहरू हिज्बुल्लाहका सदस्य थिए । नोभेम्बर २७, २०२४ देखि, संयुक्त राज्य अमेरिका र फ्रान्सले मध्यस्थता गरेको हिज्बुल्लाह र इजरायल बीच युद्धविराम सम्झौता लागू भएको छ । 

    १४. नेदरल्याण्ड्समा प्यान एम्स्टर्डम कला मेला आयोजना

    ३८ औं प्यान एम्स्टर्डम कला मेला नोभेम्बर २ देखि ९ सम्म नेदरल्याण्ड्समा आयोजना हुँदैछ । आरएआई एम्स्टर्डम कन्भेन्सन सेन्टरमा आयोजना हुने यस कार्यक्रममा वार्षिक रूपमा ४५ हजार भन्दा बढी आगन्तुकहरू नयाँ कलाकारहरू र स्थापित नामहरूका कामहरू हेर्न आउने आशा गरिएको छ । स्वदेश र विदेशका लगभग १ सय २५ प्रदर्शकहरूले पुराना मालिकहरूका चित्रहरू, समकालीन कलाकृति, फोटोग्राफी, प्राचीन फर्निचर, डिजाइनरका टुक्राहरू, र सजावटी वस्तुहरू सहितका कामहरूको क्युरेट गरिएको चयन प्रश्तुत गर्नेछन् । 

    १५. जेन–जी आन्दोलनको दुरुपयोग गर्दै लोकतान्त्रिक व्यवस्था र संविधानमाथि प्रहार गरियोः एमाले उपाध्यक्ष पौडेल

    नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गत भदौ २३ र २४ गतेको जेन–जी ओन्दलनको दुरुपयोग गर्दै लोकतान्त्रिक व्यवस्था र संविधानमाथि प्रहार गर्ने काम भएको टिप्पणी गर्नुभएको छ । मंगलवार रुपन्देहीमा आयोजित पार्टीको जिल्ला कमिटीको विस्तारित बैठलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले यस्तो बताउनुभएको हो । उहाँले सामाजिक सञ्जालमाथिको प्रतिवन्ध हटाउन जेन–जी पुस्ताले आन्दोलन गरेको भएपनि आन्दोलनको दुरुपयोग गरी सरकारविरुद्ध संगठित रुपमा प्रहार गर्ने काम भएको टिप्पणी गर्नुभयो । मुलुकलाई देशव्यापी रुपमा आक्रमण गरेर सरकार अपदस्थ गर्ने केही शक्ति समूहको योजना रहेको कुरा अन्ततः पुष्टि भएको उहाँको भनाइ छ । उहाँले जेन–जी आन्दोलन सफल भइसकेपछि घुसपैठ गर्ने शक्तिहरुको कारण नयाँ बानेश्वर क्षेत्रमा गोली चलाउनुपर्ने स्थिति सिर्जना गरिएको जिकिर गर्नुभयो । 

    १६. निर्वाचनका लागि ७९ प्रकारका सामग्री आवश्यकः १४ सामग्री मात्र खुला प्रतिष्पर्धाबाट किन्ने तयारी

    गत २३ र २४ भदौको जेन–जी विद्रोहपछि गठित अन्तरिम सरकारले अगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेको छ । निर्वाचनको वातावरणका लागि संवद्ध पक्षहरूसँग सघन वार्ता र छलफल गरिरहेको सरकारले राजनीतिक दल र जेन–जी प्रतिनिधिसँग समेत चरण चरणमा छलफल गरिरहेको छ । घोषित मितिमा निर्वाचन गर्दा जेन–जी पुस्ताका लाखौँ मतदातालाई मतदान गर्ने अधिकारको सुनिश्चितता गर्न सरकारले अध्यादेश ल्याएको छ । सोही आधारमा निर्वाचन आयोगले निर्वाचनको मिति तोकिएपछि बन्द भएको मतदाता नामावली संकलन गर्ने कार्य जारी राखेको छ । 

    १७. नेपाली सेनाका दश जना प्रमुख सेनानीहरू महासेनानी दर्जामा बढुवा

    सरकारले बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम ओझालाई तोक्ने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले यसतो निर्णय गरेको सकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले स्विट्जरल्याण्डको जेनेभामा मंसिर १ देखि ३ गतेसम्म आयोजना हुने नेपालको व्यापार नीतिको तेस्रो समीक्षामा सहभागी हुन वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. राम प्रसाद घिमिरेलाई स्वीकृति दिने निर्णय गरेको पनि बताउनुभयो । उहाँका अनुसार सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप कोष सञ्चालन नियमावली–२०८२ स्वीकृत गर्ने निर्णय समेत गरेको छ । सरकारले जेन–जी पुस्ताद्वारा मंसिर २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय पनि जानकारी दिनुभयो । 

    १८. मधेस प्रदेशको खानेपानी तथा सिंचाईको अवस्थाबारे स्थलगत अध्ययन प्रतिवेदन संसदीय समितिसमक्ष पेश

    राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिअन्तर्गतको खानेपानी सरसफाई तथा स्वच्छता उपसमितिले मधेश प्रदेशमा रहेको खानेपानी तथा सिंचाईको अवस्थाबारे स्थलगत अध्ययन गरी समिति समक्ष प्रतिवेदन पेश गरेको छ । संसदीय उपसमितिले मधेस प्रदेशमा रहेको खानेपानी र सरसफाईको समस्याको स्थलगत अध्ययनका साथै सरोकारवालासँगको छलफलपछि तयार पारेको अध्ययन प्रतिवेदन समितिको मंगलवारको बैठकमा पेस गरेको हो । खानेपानी सरसफाई तथा स्वच्छता उपसमिति उर्मिला अर्यालले प्रतिवेदन पेस गर्दै मधेस प्रदेशमा खानेपानीको गम्भीर समस्या रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउन माग राख्नुभयो । प्रतिवेदनमाथि छलफल गर्दै सांसदहरुले तराई लगायत देशभर रहेको खानेपानीको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुपर्ने बताउनु भयो । 


    १९. माओवादी केन्द्रले ग¥यो पार्टी एकता प्रश्ताव अनुमोदन, एकतापछिको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ हुने

    नेकपा (माओवादी केन्द्र)ले एकीकृत समाजवादीसहित विभिन्न ८ दलसँग पार्टी एकता गर्ने सचिवालय बैठकको प्रश्ताव अनुमोदन गरेको छ । बुधवार बसेको पार्टीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार एकतापछि पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी हुने भएको छ । उहाँले पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्सवाद लेनिनवाद हुने तथा कार्यक्रम नेपाली विषेशताको वैज्ञानिक समाजवाद हुने पनि बताउनु भयो । उहाँले तत्कालिक कार्यनीति पुँजीवादी, जनवादी क्रान्तीका उपलब्धीहरुको रक्षा, राष्ट्रिय स्वाधिनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रुपान्तरण गर्दै समाजवादको आधार तयार गरिने पनि दाबी गर्नुभयो ।

    २०. जेन–जीसहितका युवा पुस्तालाई सामेल गरेर अघि बढन पार्टी एकीकरण अभियान शुरु ग¥यौंः नारायणकाजी श्रेष्ठ

    नेकपा (माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जेनजीसहितका युवा पुस्तालाई सामेल गरेर अघि बढन आफूहरुलाई पार्टी एकीकरणको अभियानलाई अघि बढाएको बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित पार्टी राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा बोल्दै उहाँले जेन–जी आन्दोलनको मुद्दालाई आत्मासात गरेर उनीहरुलाई पनि सामेल हुनेगरी नौ वटा कम्युनिष्ट पार्टीहरुबीच एकीकरणको काम गर्नुपरेको बताउनुभएको हो । उहाँले नेकपा एससहितका नौ वटा कम्युनिष्ट पार्टीहरुको बीचको एकीकरण नेपालको कम्युनिष्ट पार्टीहरुको एकीकरणको कोशेढुंगा सावित हुने दाबी समेत गर्नुभयो । नेता श्रेष्ठले राष्ट्रिय, सुशासन,  समृद्धि र समाजवादीको आधार निर्माणको पक्षमा आउने सबै कम्युनिष्ट शक्तीहरुलाई आफूहरुले एकीकृत गर्दै अघि बढ्ने लक्ष्य लिएको जिकिर समेत गर्नुभयो । 

    २१. डेडिकेटेड ट्रंकलाईन विवादमा सरकारले उद्योगीहरुको प्रश्तावमा सहमति जनायोः चन्द्र ढकाल

    सरकारले डेडिकेटेड ट्रंक लाईन विवाद समाधान गर्ने व्यवसायीहरुको प्रश्तावमा सहमती जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री सुशीला कार्की, सम्बन्धित मन्त्रीहरुसँगको भेटमा आफूले राखेको मध्यमार्गी प्रश्तावमा सहमती भएको दाबी गर्नुभएको हो । करिव साँढे २ घण्टा लगाएर गरिएको छलफलमा सहमती जुटेको उहाँको भनाई थियो । अध्यक्ष ढकालकाअनुसार उद्योगीहरुको सहमतीमा २८ किस्तामा पहिलो किस्तालाई धरौटीको रुपमा मान्ने सहमती गरिएको छ । 

    २२. माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक शुरु

    नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक शुरु भएको छ । नेकपा (एकीकृत समाजवादी) लगायत दलसँगको एकता अनुमोदनका लागि बैठक बोलाइएको हो । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा शुरु भएको बैठकमा महाधिवेशन आयोजक समितिका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बैठकलाई सम्बोधन गर्नुहुनेछ । आईतवार माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)सहितका ८ दलले एकताका लागि सहमती पत्रमा हस्ताक्षर गरेका थिए । दाहाल नेतृत्वको माओवादी केन्द्र, माधव नेपालको नेतृत्वको नेकपा (एकीकृत समाजवादी), महिन्द्र राय नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी, चिरण पुन नेतृत्वको नेकपा, कर्णजीत बुढाथोकी नेतृत्वको माओवादी समाजवादी र प्रेमबहादुर सिंह नेतृत्वको नेकपा साम्यवादीले सो सहमती पत्रमा हस्ताक्षर गरेका हुन् । 

    २३. विद्युतीय चार्जिङ स्टेशनको नीति चाँडै परिमार्जन हुन्छः ऊर्जामन्त्री घिसिङ

    ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेशनको पोलिसी चाँडै परिमार्जन हुने बताउनुभएको छ । बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले मंगलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री घिसिङले विद्युतीकरणको दायरालाई फराकिलो बनाउने गरी सरकारले यातायाता, खाना पकाउने लगायतको काममा विद्युत खपतमा जोड दिने नीति लिएको उल्लेख गर्दै त्यसलाई प्रभावकारी बनाउने काममा सो केन्द्रलाई विशेष ध्यान दिन पनि निर्देशन दिनुभयो । उहाँले विन्ड इनर्जीको क्षेत्रमा काम गर्न चाहने निजी क्षेत्रलाई सरकारले आवश्यक सहयोग गर्ने आश्वासन समेत दिनु भयो । विन्ड इनर्जीको क्षेत्र पनि नेपालको सम्भावनाको क्षेत्र भएकाले यस क्षेत्रमा काम गर्न चाहने निजी क्षेत्रलाई सरकारले आवश्यक सहयोग गर्ने मन्त्री घिसिङको योजना थियो । 

    २४. बैंक तथा वित्तीय संस्थामा कति पैसा छ ?

    बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७४ खर्ब ७५ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय निक्षेप बढ्ने क्रम बढिरहेको हो । कात्तिक दोस्रो हप्तासम्म वाणिज्य बैंकले मात्रै ६७ खर्ब १७ अर्ब निक्षेप संकलन गरेका छन् । यो अवधीमा बैंक तथा वित्तीय संस्थाहरुले ५६ खर्ब ३५ अर्ब कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकहरु मात्रै ५० खर्ब १२ अर्ब कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंककाअनुसार विकास बैंक तथा फाइनान्सले यो अवधीमा ७ खर्ब ५८ अर्ब निक्षेप संकलन गरेका छन् । उनीहरुले कर्जा प्रवाह भने ६ खर्ब २३ अर्ब गरेको तथ्यांकले देखाउछ । यो अवधिमा बैंकिङ क्षेत्रमा कायम रहेको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) भने ७४ दशमलव २५ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा दिनसक्ने क्षमता अझै पनि धेरै रहेको रहेपनि कर्जा प्रवाह सुस्त छ । 

    २५. काँग्रेसको केन्द्रिय समितिमा रहेका फोहोर सफा गरेर मात्रै निर्वाचनमा जान चाहन्छौँः काँग्रेस नेता चालिसे

    नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरका नेता देवराज चालिसेले काँग्रेसको केन्द्रिय समितिमा रहेका फोहोर सफा गरेर मात्रै निर्वाचनमा जाने बताउनुभएको छ । मंगलवार काठमाडौमा पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले महाधिवेशनमार्फत नीतिगत सुधार गरेर मात्रै निर्वाचनमा जान सकिने बताउनु भयो । पार्टी सुध्रिएर जनताको माझ जानसकेमा मात्रै जनताले पत्याउने उहाँको भनाई छ । काँग्रेसको केन्द्रिय समितिमा निर्वाचनपछि मात्रै महाधिवेशनको कुरा उठ्ने गरेको उल्लेख गर्नुहुँदै उहाँले पुरानो अनुहार लिएर जनताको माझ जान नससकिने बताउनु भयो । उहाँले वर्तमान नेतृत्वले जनताको असन्तुष्टीको आवाज सुन्न नसकेको पनि आरोप लगाउनु भयो ।

    २६. जेन–जी आन्दोलनको भ्रष्टाचार विरोधी माग र भावना विपरित भइरहको एकता स्वीर्कान सकेनौँः जनार्दन शर्मा

    नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले जेनजी आन्दोलनको भ्रष्टाचार विरोधी माग र भावना विपरित माओवादी केन्द्र र एकीकृत समाजबादीबीच हुन लागेको एकतालाई स्वीर्कान नसकेको बताउनुभएको छ । मंगलवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले विगत केही वर्षदेखि माओवादी पार्टीलाई रुपान्तरण गर्ने, पारदर्शी बनाउने, सुशासनको पक्षमा र जनतातिर जवाफदेही हुने, विधिपद्धति लागू गर्ने, पार्टीलाई समग्र रुपले पुनःगठन गरेर अगाडी बढ्नेगरि आफू लागेको भएपनि सफल हुन नसकेको बताउनु भयो । 

    २७. हाम्रो पिँढीले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राखेनः राम कार्की

    नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले आफूहरुले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने नसकेको बताउनुभएको छ । मंगलवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले खास गरेर आफूहरुको पिँढीले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राख्न नसकेको स्वीकार गर्नुभयो । हाल नेपालको कम्युनिष्ट आन्दोलन विघटन हुन पुगेको उहाँको भनाई छ । केही नेताहरुको लागि पार्टीहरु भएपनि जनता र जेनजीको नजरबाट हेर्दा पार्टीहरु विघठित भईसकेको उहाँले बताउनु भयो । उहाँले जेन–जी युवाहरुको भावना विपरित भ्रष्टाचारका मुद्दा लागेका नेताहरु टाउकोमा कल्की झुन्डाएर ठूलो पदमा पुगेको बताउनुहुँदै एकताको स्वाङ गरिरहेको आरोप लगाउनु भयो । – न्युज एजेन्सी नेपाल 

     

    प्रकाशित मिति :कार्तिक १८ २०८२ मंगलवार - १९:०५:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij