२०८२ कार्तिक १८ गते मंगलवार
काठमाडौं । नेपालको वाम आन्दोलन फेरि एकपटक वैचारिक मोडमा उभिएको छ। नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेमा फर्कने सम्भावना रहेको सङ्केत गर्दै त्यसका लागि ‘समाजवादी क्रान्तिको बाटो’ अपनाउनुपर्ने मुख्य सर्त राखेका छन्।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा नेता खनालले आफूलाई एमालेप्रति माया रहे पनि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ‘सुस्थिर चिन्तन’ नदेखिएको भन्दै कडा आलोचना गरेका छन्।। एमालेसँग एकता नभए नयाँ पार्टी निर्माण अवश्यम्भावी रहेको उनको ठहर छ।
एमाले फर्कने चार वैचारिक सर्त
नेता खनालले एमाले फर्कनका लागि चारवटा आधारभूत वैचारिक सर्तहरू अगाडि सारेका छन्, जसलाई वार्ताको आधार बनाउन सकिने उनले बताएका छन्।
खनाल भन्छन्, ‘एमाले फर्कन तयार छौँ, तर समाजवादी क्रान्तिको बाटो अवलम्बन गर्नुपर्छ। जनताको बहुदलीय जनवादलाई मात्र होइन, समाजवादी क्रान्ति र रूपान्तरणको बाटोमा अघि बढ्न तयार भए मात्र हामी फर्कन सक्छौँ।’
उनले यी चार बुँदामा एकरूपता भएमा तत्काल वार्ता सुरु गर्ने स्पष्ट पारेका छन्।
१. मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने: विचारमा मात्र होइन, व्यवहारमा पनि मार्क्सवादी बन्नुपर्ने।
२. समाजवादी क्रान्ति र रूपान्तरणको बाटो अपनाउने: पुँजीवादी जनवादी क्रान्ति पूरा भइसकेकाले अब समाजवादतर्फको रूपान्तरणको चरणमा प्रवेश गर्नुपर्ने।
३. नेपाली विशेषताको समाजवादी कार्यक्रम स्वीकार गर्ने: मार्क्सवादको ढाँचालाई नेपाली यथार्थ (कृषक, श्रमिक र युवाको मिश्रित वर्ग संरचना) मा रूपान्तरण गर्नुपर्ने।
४. देशी–विदेशी प्रतिक्रियावादविरुद्ध लड्ने संकल्प: यो आर्थिक निर्भरता र राष्ट्रिय स्वाभिमानको ह्रासविरुद्धको सङ्घर्ष हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij