Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

वैदेशिक रोजगार विभागमा ३६ हजार बढी उजुरीको चाङ : न्याय कुर्दै श्रमिक

वैदेशिक रोजगार विभागमा ३६ हजार बढी उजुरीको चाङ : न्याय कुर्दै श्रमिक


  • 568
    Shares

    वैदेशिक रोजगार विभागमा ३६ हजार बढी उजुरीको चाङ : न्याय कुर्दै श्रमिक

    काठमाडौं । वैदेशिक रोजगार विभागमा न्याय माग्दै परेका उजुरी संख्या ३६ हजार नाघेको छ । वैदेशिक रोजगारी क्रममा ठगीमा परेका, अलपत्र पारिएका तथा करार अनुसार काम र तलब नपाएका श्रमिकले दिएका उजुरीको यति ठूलो संख्या फर्छ्योट हुन नसकेको होे ।

    विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले २०६४ सालदेखिका उजुरी फर्छ्योट हुन बाँकी रहेको बताए । विभागमा दैनिक करिब २ सय हाराहारी नयाँ उजुरी थपिने गरेको उनको भनाइ छ ।

    गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै राहत उद्धारतर्फ १ हजार ८ सय २२ र मुद्दा शाखामा ५ हजार ६ सय ३२ र प्रहरी शाखामा ५ हजार ३ सय ३७ उजुरी परेका थिए ।

    तीमध्ये राहत उद्धारमा ९ सय ७९, मुद्दा शाखा ५ सय २८ र प्रहरी शाखामा ४ हजार ८ सय ७६ उजुरी फ्छर्योट भएका थिए । विभाग परिसरमा रहेको प्रहरी शाखाले भने आफ्नो तर्फबाट गर्नुपर्ने कार्य तीव्र गतिमा हुँदै आएको देखिन्छ ।

    ‘हामीसँग २०६४ सालदेखिका उजुरी छन्,’ महानिर्देशक भट्टराईले भने, ‘यो ठूलो संख्याको उजुरी फर्छ्योटका लागि हामीसँग सीमित कर्मचारी छन्, जसले गर्दा प्रक्रियामा ढिलाइ भइरहेको छ ।’

    उजुरीको यो चाङ व्यवस्थापन गर्न र पीडितलाई छिटो न्याय दिलाउन विभागले नयाँ कार्ययोजना अगाडि बढाएको छ ।

    महानिर्देशक भट्टराईका अनुसार पुराना उजुरी चरणबद्ध फर्छ्योट गर्ने योजना बनाइएको छ । ‘हामीले २०७० सालदेखिका उजुरीलाई प्राथमिकतामा राखेर काम सुरु गर्ने तयारी गरेका छौं । पहिलो चरणमा २०६४ देखि २०७० सालसम्मका उजुरी टुंग्याउने, त्यसपछि क्रमश: २०७२, २०७५ हुँदै हालसम्मका उजुरी हेर्नेछौं,’ उनले भने ।

    वैदेशिक रोजगारीसँग सम्बन्धित कानुन समयसापेक्ष बनाउन र प्रक्रिया सरल बनाउन केही नेपाल ऐनमा संशोधन पहल भइरहेको भट्टराईले बताए । कानुनी सुधारपछि मुद्दाको प्रक्रिया छिटो र सहज हुने विभागको अपेक्षा छ ।

    विभागमा रहेका मुद्दा टुंगो लगाउन वर्षौं लाग्ने देखिएपछि सरकारले व्यक्तिगत ठगीका मुद्दाको अनुसन्धान प्रहरी र न्याय निरूपण जिल्ला अदालतबाट गर्ने प्रस्ताव गरेको छ ।

    विभागले सेवा प्रवाह सहज र पारदर्शी बनाउन प्रविधि प्रयोगलाई बढावा दिएको छ । हाल वैदेशिक रोजगारी सम्बन्धी उजुरी अनलाइनबाटै दिन सकिने व्यवस्था गरिएको छ, जसले गर्दा पीडितले विभागसम्म धाउनुपर्ने बाध्यता हटेको छ । तर, उजुरी फर्छ्योट प्रक्रियामा रहेको ढिलाइले हजारौं श्रमिक र उनीहरूका परिवारले वर्षौंदेखि न्यायको प्रतीक्षा गरिरहनु परेको छ ।

    यसअघि पनि विभागले उजुरी फर्छ्योटका लागि विभिन्न प्रयास गरेको थियो । गत आव विभागले ९ सय ७९ उजुरी फर्छ्योट गरेको थियो । तर, उजुरीको दैनिक बढ्दो संख्याको तुलनामा फर्छ्योटको गति निकै सुस्त देखिन्छ । वैदेशिक रोजगारी क्रममा हुने ठगी नियन्त्रण र पीडितलाई समयमै न्याय प्रदान गर्नु विभागका लागि प्रमुख चुनौती बनेको छ ।

    वैदेशिक रोजगारीसँग सम्बन्धित जाहेरी दर्ता गर्दा सत्य र तथ्यमा आधारित रही कानुनको मान्य सिद्धान्त, मूल्य र मान्यता आत्मसात गरी पीडितमैत्री न्याय प्रणाली विकासमा विभागले जोड दिएको जनाएको छ । मुद्दा दर्ता, अनुसन्धान र अभियोजन प्रभावकारी बनाइएको महानिर्देशक भट्टराईले बताए ।

    विभागमा रहेका न्याय सेवाका कर्मचारी बाहेक अन्य सेवाका अधिकृत कर्मचारीलाई समेत अनुसन्धान अधिकृत तोकेर अनुसन्धान तथा अभियोजनको काम भइरहेको उनले बताए ।

    अनुसन्धान तथा मुद्दा शाखालाई थप प्रभावकारी सञ्चालन गर्न कार्यालय व्यवस्थापनका साथै अनुसन्धान तथा मुद्दा शाखाका लागि छुट्टै भौतिक संरचना निर्माण र व्यवस्थापन गरी मुद्दा फर्छ्योटमा केन्द्रित भइरहेको समेत उनको भनाइ छ ।

    प्रकाशित मिति :भाद्र २ २०८२ सोमवार - ०८:५६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij