२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । मेची भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१\८२ मा चिया निर्यातमा उल्लेख्य वृद्धि भएको छ।
कार्यालयको तथ्याङ्क अनुसार साउनदेखि असार मसान्तसम्ममा ४ अर्ब २१ करोड ३५ लाख ९२ हजार बराबरको चिया निर्यात गरिएको छ भने अघिल्लो वर्षको तुलनामा ३२.५० प्रतिशतले बढी रहेको छ।
कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँका अनुसार उक्र अवधिमा १५ हजार ४१६ दशमलव ७५६ मेट्रिक टन चिया निर्यात गरिएको छ।
चियामा वृद्धि भए पनि सोही अवधिमा अलैँचीको निर्यातमा भने तीन दशमलव २० प्रतिशतले गिरावट आएको छ। २०८१\८२ मा रु ७ अर्ब ६७ करोड ४० लाख ३७ हजार बराबरको अलैँची निर्यात भएको थियो, जबकि २०८०\८१ मा सो रकम रु ७ अर्ब ९३ करोड ९ लाख ९० हजार रहेको थियो।
अन्य वस्तुहरूमध्ये भेनियर सिटको निर्यात ७२.३० प्रतिशत, मोलासिसको निर्यात २४७.५० प्रतिशत, प्लाइउडको ७.६० प्रतिशत र फलामे पाताको १.८० प्रतिशतले बढेको छ।
सिमेन्ट क्लिङ्करको निर्यातमा १३ प्रतिशत, अदुवामा ६०.७० प्रतिशत, अम्रिसोमा १४.९० प्रतिशत र छुर्पीमा १.०५ प्रतिशतको गिरावट आएको छ।
मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१\८२ मा कुल रु २५ अर्ब १३ करोड ९७ लाख ५० हजार बराबरको विभिन्न मालवस्तु निर्यात भएको जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij