२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाले नगरभित्र ‘कोखदेखि शोकसम्म’ को कार्यक्रम ल्याएको छ ।
नगरपालिकाले सोमबार आयोजना गरेको ‘नगरप्रमुखसँग सञ्चारकर्मी अन्तरक्रिया कार्यक्रम’मा नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनलले नगरबासीको सुविधाका लागि ‘कोखदेखि शोकसम्म’ को कार्यक्रम ल्याएको हो ।
यस कार्यक्रम अन्तर्गत शिशु जन्मनासाथ रु पाँच हजार र कोही व्यक्तिको मृत्युपछि रु १० हजार उपलब्ध गराउने भएको छ ।
उक्त कार्यक्रम अन्तर्गत नगरपालिकाले भर्खरै जन्मेको बच्चालाई रु पाँच हजार उपलब्ध गराउने र उक्त रकम १६ वर्ष पुगेपछि साँवा ब्याजसहित प्राप्त हुने व्यवस्था मिलाइएको बताए । त्यसैगरी मृत्युपछि काजक्रिया र अन्तिम संस्कारका लागि रु १० हजार उपलब्ध गराउने जनाएको छ ।
साथै नगरप्रमुख महर्जनले ८० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई भने मासिक रु दुई हजार दिने व्यवस्था गरिएको जानकारी दिए । नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि प्रत्येक वर्ष मेयर रनिङ शिल्ड प्रतियोगिताको थालनी गरेको पनि जानकारी दिए ।
नगरपालिकाले आँखाका बिरामीका लागि तिलगङ्गा आँखा केन्द्र स्थापना, डायलासिस सेवाको शुभारम्भ, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि, नगरभित्रका सडक कालोपत्रे गर्दै आएको छ । उनले आफू निर्वाचित भएको तीन वर्षमा तारकेश्वरभित्र शुद्ध खानेपानी एक घर एक धारा पुर्याउने काम गरिरहेको बताए ।
उक्त कार्यक्रममा नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटीले नगरपालिकाको विकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम गरिरहेको बताए । उनले नगरभित्र रोजगारी सिर्जना गर्न नगरपालिकाले विभिन्न किसिमका तालिम प्रदान गर्दै आएको जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij