२०८२ चैत्र २ गते सोमवार
देशलाई लोडसेडिङबाट मुक्त गराएको भनी नेपाली नागरिकबाट प्रशंसा पाएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई वर्तमान सरकारले भने हटाउने प्रयास गरिरहेको छ।
यस क्रममा ऊर्जामन्त्री दीपक खड्काले पटकपटक स्पष्टीकरण मागेका घिसिङलाई कार्यसम्पादन मूल्यांकनमा पनि शून्य नम्बर दिएका छन् भने पछिल्लोपटक मन्त्रिपरिषद्बाटै बिहीबारदेखि लागू हुने गरी ३ दिनभित्र स्पष्टीकरण दिन निर्देशन जारी गराएका छन्।
घिसिङप्रति सरकारको यो रवैया देखेर राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई समेत रिस उठेको छ। यसै क्रममा पुनले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई आगामी चुनावमा उम्मेदवार बनेर ऊर्जामन्त्री खड्कालाई हराउने आँट गर्न सुझाव दिएका छन्।
साथै उनले कार्यसम्पादन मूल्यांकनमा कुलमानलाई शून्य नम्बर दिने सचिव र सहचिवको टोलीलाई माइनस ९९ नम्बर दिँदै आक्रोश पोखेका छन्।
‘कुलमान घिसिङलाई शून्य नम्बर दिने सचिव र सहसचिवको टोलीलाई मैले -९९ अर्थात माइनस ९९ नम्बर दिन्छु। त्यस्ता विवेकहीन कर्मचारीले देश डुबाउँछन् र नेताहरूलाई पंगु बनाउँछन्’, पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनि आफूलाई दु:ख दिने मन्त्रीकै क्षेत्रबाट अब आउने संघीय चुनावमा लडेर गुल्ट्याइदिने आँट गर्न कुलमान घिसिङलाई सुझाव दिन्छु।’
गत निर्वाचनमा हालका ऊर्जामन्त्री खड्का संखुवासभाबाट विजयी भएका थिए। कांग्रेसबाट चुनाव लडेका उनले एमाले उम्मेदवार राजेन्दप्रसाद्र गौतमलाई ५ हजार ४ सय ३९ मतान्तरले हराएका थिए। खड्काले ३२ हजार १५८ मत ल्याउँदा गौतमले २६ हजार ७१९ मत पाएका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij