Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

क्यालिफोर्नियाको भीषण डढेलोमा फसेका दशौँ हजारको उद्धार

क्यालिफोर्नियाको भीषण डढेलोमा फसेका दशौँ हजारको उद्धार


  • 1.4K
    Shares

    क्यालिफोर्नियाको भीषण डढेलोमा फसेका दशौँ हजारको उद्धार
    images

    काठमाडौं  । तीव्र गतिमा फैलिरहेको डढेलोका कारण संयुक्त राज्य अमेरिकाको लस एन्जलसमा अवस्थित प्यासिफिक प्यालिसेड्सबाट दशौँ हजार मानिसहरूको उद्धार गरिएको छ ।अग्निनियन्त्रकहरूले केही घण्टाभित्रै आगो पाँच वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफलमा फैलिएको बताएका छन् ।

    विमान र दमकलहरूले आगो निभाउने प्रयास गरिरहेका छन् । तर सुक्खा अवस्था र १६० किलोमिटर प्रतिघण्टासम्मको तीव्र हावाले आगो अझ फैलाएको छ ।क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमले तीव्र वेगको हावाले अन्यत्र पनि डढेलो फैलिन सक्ने चेतावनी दिएका छन् । मानिसहरू सुरक्षित स्थानमा जाने प्रयास गरिरहँदा ठाउँठाउँमा सवारी आवागमन प्रभावित भएको छ ।

    कतिपय मानिसहरू आफ्ना सवारीसाधन छाडेर भागेका छन् । केही सवारीसाधनलाई डोजर प्रयोग गरेर हटाइएको छ । लस एन्जलस अग्निनियन्त्रण विभागकी प्रमुख क्रिस्टिन क्रलीले हवाई निरीक्षण गर्दा आगलागी फैलिएको क्षेत्र १,२६० एकरभन्दा बढी पुगेको बताइन् । उनका अनुसार भीषण हावा, सुक्खा र साना रूख अनि पातपतिङ्गरका कारण आगो अझै फैलिएको छ ।

    आगो फैलिएको क्षेत्रमा २५० अग्निनियन्त्रकहरू हेलिकप्टर र दमकलसहित परिचालित छन् । अधिकारीहरूका अनुसार १०,००० भन्दा बढी घर र १३,००० भवन जोखिममा छन् ।मङ्गलवार सुरु भएको डढेलोले तीव्र हावा र सुक्खा अवस्थाका कारण भयानक बनेको थियो । सान्टा आना नामक शक्तिशाली हुरीले उक्त डढेलोलाई तीव्र गतिमा फैलाएको छ । भिडिओ फुटेजहरूमा प्यासिफिक प्यालिसेड्स क्षेत्रमा घरहरूमा आगो लागेको र मानिसहरू कार छाडेर आगोको लप्काबाट बच्न भागिरहेको देख्न सकिन्छ ।

    डढेलोको जोखिम अझै उच्च भएकाले राज्यका अधिकांश क्षेत्रका लागि चेतावनी जारी गरिएको छ । प्यासिफिक प्यालिसेड्स एउटा दुर्गम तर उच्च जनघनत्व भएको क्षेत्र हो । यो प्रशान्त महासागरको सीमामा पर्ने सान्टा मोनिका पर्वतको सीमामा अवस्थित छ । यहाँबाट बाहिरिनका लागि चर्चित प्यासिफिक कोस्ट राजमार्गको प्रयोग गर्नुपर्छ ।हावाको वेग अझै बढ्ने चेतावनी मौसमसम्बन्धी निकायले दिइएकाले राति पनि आगोको खतरा कायम रहने बताइएको छ ।

    विगत केही वर्षहरूमा अमेरिकामा डढेलोको आकार, अवधि र शक्ति नाटकीय ढङ्गले वृद्धि भएको छ । अधिकांश त्यस्ता डढेलो मानवीय गतिविधिका कारण लागेका बताइन्छ । सुक्खा मौसमका कारण क्यालिफोर्नियामा डढेलोका घटना दोहोरिहन्छन् । सन् २०१८ मा उत्तरी क्यालिफोर्नियामा हालसम्मकै खराब डढेलो लागेको थियो ।

     

    प्रकाशित मिति :पौष २४ २०८१ बुधवार - १२:१४:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij