२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेश जोड्ने कालीगण्डकी नदीमा निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ ।
गण्डकी प्रदेशअन्तर्गत तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र लुम्बिनी प्रदेशअन्तर्गत पाल्पाको रामपुर नगरपालिका–१ स्याउली बजार जोड्ने कालीगण्डकी नदीमाथि निर्मित पुल अन्तिम चरणमा पुगेको हो ।
फागुनभित्र पुल सञ्चालन गर्नेगरी कामहरू तीव्र गतिमा अगाडि बढेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिए । उनका अनुसार हाल फुटपाथ, पहुँचमार्ग, रेलिङलगायते कामहरू भइरहेको छ ।
छ वर्षको अवधिमा पुल निर्माण भएको हो । उक्त पुलको काम युनाइटेड बिल्डर्सले पाएको छ । दुई सय १० मिटर लामो उक्त पुल पश्चिमक्षेत्र सेक्टर नम्बर ४ को प्रत्यक्ष निर्देशन र निरीक्षणमा पुल निर्माण कार्य गरिएको हो ।
डबल लेन प्रविधिमा निर्माण भएको पुल रु २७ करोड लागतमा सङ्घीय सरकारको बजेटमार्फत निर्माण भएको सिग्देलले जानकारी दिए ।
कालीगण्डकी नदीमा पुल नहुँदा पुट्टार र स्याउलीका सर्वसाधारण पाल्पाको निस्दी गाउँपालिका हुँदै लामो दूरीबाट यात्रा गर्न बाध्य छन् । यहाँ पुल निर्माण भएपछि स्थानीय खुसी छन् ।
पुल नहुँदा नजिकै रहेको स्याउली बजार जान पनि घुमेर जाँदा टाढा पर्थ्यो । पुल निर्माण भएपछि सहज रूपमा आवतजावत गर्न सकिन्छ ।
मोटरेबल पुल निर्माण भएपछि दुई स्थानीय तहका हजारौं सर्वसाधारण लाभान्वित हुने स्थानीय रोमाकान्त पोख्रेलले जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij