२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौँ । युवराज मोहम्मद बिन सलमानले सन् २०२२ मा साउदी अरबलाई नयाँ खुला राज्य बनाउने योजना अघि सारेका थिए । ‘एमबीएस’ का रूपमा चिनिने सलमानले योजनाअन्तर्गत हत्याका मुद्दामा बाहेक मृत्युदण्डको सजाय हटाइएको दाबी गरेका थिए ।
तर यस वर्ष मृत्युदण्ड दिइएकाको संख्याले भने साउदीमा मानवअधिकारको अवस्था उस्तै भयावह रहेको देखिएको छ । साउदी अरबले यस वर्ष ३ सय ३० जनालाई मृत्युदण्ड दिएको छ । यो संख्या दशकौं यताकै सबैभन्दा ठूलो हो ।
समाचार संस्था रोयटर्सका अनुसार हाल सार्वजनिक मृत्युदण्डको संख्या मानवअधिकारवादी संस्था रिप्रिभले संकलन गरेको तथ्यांकमा आधारित छ । उक्त तथ्यांकलाई समाचार संस्था रोयटर्सले प्रमाणित गरेको जनाएको छ ।
साउदी अरबले गत वर्ष १ सय ७२ जनालाई मृत्युदण्ड दिएको थियो । सन् २०२२ को तुलनामा उक्त संख्या केही कम हो । सन् २०२२ मा १ सय ९६ जनालाई मृत्युदण्ड दिइएको थियो । तर यस वर्षको तथ्यांक भने निकै उकालो लागेको छ । २०१७ जुन २१ मा युवराज बनेका एमबीएसले सामाजिक आधुनिकीकरण नीतिअन्तर्गत महिलाहरूलाई रंगशालामा खेल हेर्न पाउने, सवारी चालक अनुमतिपत्र दिने, हलमा गएर फिल्म हेर्न पाउने, सांगीतिक कार्यक्रम हेर्न पाउने, अभिभावक बिनाविदेश यात्रा गर्न पाउनेलगायतका अधिकार प्रदान गरेका थिए ।
महिलाका लागि विश्वमै सबैभन्दा अनुदार कानुन भएको मुलुकमध्येमा पर्ने साउदी अरबमा एमबीएसको नेतृत्वमा केही सुधार भएका छन् । यद्यपि यस्ता परिवर्तनहरूको साउदी रुढिवादी सामाजिक संघ–संस्थाहरूले विरोध गर्दै आएका छन् । उनीहरूले त्यस्ता निर्णयका कारण साउदी नागरिकको नैतिकता भ्रष्ट हुने बताउने गरेका छन् ।
साउदीमा राजनीतिक, आर्थिक, शैक्षिक र सांस्कृतिक रूपान्तरणका लागि एमबीएसले ‘भिजन २०३०’ योजना अघि सारेका छन् । योजनाअन्तर्गत साउदीले कडा धार्मिक प्रतिबन्ध र मानव अधिकार उल्लंघन हुने राष्ट्रको परिचय फेर्न अर्बौं अमेरिकी डलर खर्च गरिरहेको छ । पछिल्लो समय साउदीले आफूलाई पर्यटन र मनोरञ्जन क्षेत्रमा रूपान्तरण गर्न चाहेको छ ।
त्यस्तै, एमबीएसको ‘भिजन २०३०’ योजनाअन्तर्गत साउदीलाई वैश्विक लगानी केन्द्र बनाउने लक्ष्यअन्तर्गत सन् २०३४ को विश्वकप फुटबल आयोजना गर्दै छ । साउदी अरबले १० वर्षपछि आयोजना गर्ने विश्वकपलाई महत्वाकांक्षी परियोजनाका रूपमा लिएको छ । विश्वकपकै लागि साउदीले ११ वटा रंगशाला निर्माण गर्दै छ । त्यस्तै, विमानस्थल, सडक, रेल, होटललगायतका आधुनिक पूर्वाधारहरूको निर्माण गर्ने पनि साउदी सरकारको लक्ष्य छ । तर विदेशी कामदारको श्रम शोषणका मामिलामा पनि साउदी अरब निकै विवादित छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij