Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

ट्रम्प र  जकरबर्ग सम्बन्ध अब भने सुधारोन्मुख भएको संकेत देखिएको छ

ट्रम्प र  जकरबर्ग सम्बन्ध अब भने सुधारोन्मुख भएको संकेत देखिएको छ


  • 1.3K
    Shares

    ट्रम्प र  जकरबर्ग सम्बन्ध अब भने सुधारोन्मुख भएको संकेत देखिएको छ
    images

    काठमाडौं, मेटाका प्रमुख मार्क जकरबर्ग र अमेरिकी राष्ट्रपतिमा हालै निर्वाचित डोनाल्ड ट्रम्पबीच झन्डै–झन्डै कटुतापूर्ण रहेको सम्बन्ध अब भने सुधारोन्मुख भएको संकेत देखिएको छ । फेसबुक र इन्स्टाग्रामको स्वामित्व रहेको कम्पनी मेटाले अमेरिकाको ४७ औं राष्ट्रपति निर्वाचित ट्रम्पको उद्घाटन तयारी कोषमा १० लाख अमेरिकी डलर चन्दा दिएको छ ।

    यो कदमलाई जकरबर्ग र ट्रम्पबीचको सुध्रिएको सम्बन्ध र सहजीकरणको प्रयासका रूपमा हेरिएको छ । यसले प्रविधि व्यवसाय उद्योगमै महत्त्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

    मेटाले चन्दा दिएको विषयलाई विभिन्न सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् । जनवरी २० बाट ह्वाइट हाउस छिर्ने तयारीमा रहेका ट्रम्पसँग जकरबर्गले लामो समयदेखि तिक्ततापूर्ण रहेको सम्बन्ध सुधार्न खोजेको विज्ञहरूको राय छ । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा फेसबुककै कतिपय कमजोरीको फाइदा उठाउँदै जितेका ट्रम्पले २०१७ मा फेसबुकलाई ‘ट्रम्पविरोधी’ प्लाटफर्म भएको घोषणा गरेका थिए ।

    सन् २०२४ को चुनावी अभियान सुरु गर्ने क्रममा पनि उनले फेसबुक जनताको सत्रु भएको र आफ्नो अभियानलाई प्रभावित गर्न खोजे जकरबर्गलाई आजीवन जेल हाल्ने धम्कीसमेत दिएको बीबीसीले उल्लेख गरेको थियो । झन्डै २ सय १८ अर्ब अमेरिकी डलरसहित विश्वकै चौथो धनी व्यक्तिका रूपमा रहेका ४० वर्षीय मेटाका मालिक जकरबर्ग आखिर किन ट्रम्पतर्फ ढल्किँदै गएका होलान् ।

    सन् २०१६ देखि नै ट्रम्पका चुनावी अभियानलाई सघाउँदै आएका मेटाका बोर्ड सदस्य एवं ‘भेन्चर क्यापिटलिस्ट’ मार्क एन्डरसनका कारण पनि जकरबर्गले ट्रम्पसँगको सम्बन्ध सुधार्न थालेको अनुमान गरिएको छ । एन्डरसन ट्रम्पको पछिल्लो ह्वाइट हाउस प्रवेश तयारीका एक प्रमुख पात्र पनि हुन् । उनैले जकरबर्ग र ट्रम्पबीच मध्यस्थता गरेको अमेरिकी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
    ट्रम्पको चुनावी अभियानमा जकरबर्गले व्यक्तिगत रूपमा चन्दा दिएका थिएनन् । यसअघि निर्वाचित भएका ट्रम्प र जो बाइडेनको शपथग्रहणका लागि पनि उनले चन्दा दिएनन् । यस पटक उद्घाटन तयारीका लागि दिइएको चन्दा मेटाका तर्फबाट ट्रम्पलाई पहिलो ठूलो आर्थिक सहयोग हो । जकरबर्ग र ट्रम्पबीचको सम्बन्ध लामो समयसम्म तनावपूर्ण रह्यो । २०२१ जनवरी ६ मा अमेरिकी संसद् क्यापिटल हिलमा भएको हिंसात्मक दंगा र त्यसलाई भड्काउन ट्रम्पले फेसबुकलगायत सामाजिक सञ्जाल प्रयोग गरेको भन्दै मेटाले आफ्ना सबै प्लाटफर्मबाट तत्कालीन राष्ट्रपति ट्रम्पलाई प्रतिबन्ध लगाइदिएको थियो । यो निर्णयलाई केहीले सर्वसाधारण र लोकतन्त्रको सुरक्षाका लागि आवश्यक कदम भनेका थिए भने कतिपयले यसलाई प्रविधि व्यावसायिक संस्थाले गरेको शक्ति दुरुपयोगका रूपमा आलोचना गरेका थिए । सन् २०२३ मा उक्त प्रतिबन्ध हटाइए पनि दुईबीचको सम्बन्धमा उल्लेख्य सुधार भने आउन सकेको थिएन ।
    हालैको चन्दा रकमले जकरबर्गको राजनीतिक रणनीतिमा पनि परिवर्तनको छनक दिन्छ । उनले यसअघि उपराष्ट्रपति कमला ह्यारिसलगायत अन्य डेमोक्रेटिक नेताहरूलाई ठूलो राशिको चन्दा दिने गरेका थिए । सन् २०२० मा उनले कोभिड–१९ सम्बन्धी सार्वजनिक कामका लागि पत्नी प्रिसिलिया चानसँग मिलेर झन्डै ४० करोड डलर चन्दास्वरूप दिएका थिए । जकरबर्गको पछिल्लो प्रयासलाई सरकार जुनसुकै राजनीतिक दलको भए पनि मेटाका लागि अनुकूल सम्बन्ध सुनिश्चित गर्ने चाहनाका रूपमा बुझ्न सकिन्छ ।

    गुगलका संस्थापक ल्यारी पेज र सेर्गेई ब्रिनले ट्रम्पलाई कहिले पनि राजनीतिक चन्दा दिएका छैनन् तर ब्रिनले पनि जकरबर्गले जस्तै ट्रम्पलाई उनको फ्लोरिडास्थित मार–ए–लागो बंगलामै गएर भेटेका थिए । यस्तै, दोस्रो धनाढ्य तथा अमेजनका मालिक जेफ बेजसले पनि ट्रम्पको उद्घाटन तयारीका लागि १० लाख डलर दिइसकेका छन् । उनले चुनावको मुखमा वासिङ्टन पोस्टलाई
    ह्यारिसको समर्थन गर्नबाट रोकेका थिए । ट्रम्पप्रति खुला समर्थन गर्दै उनको नयाँ सरकारमा मन्त्रीसमेत हुने तयारीमा रहेका विश्वकै धनाढ्य इलन मस्कले भने ट्रम्पको चुनावी अभियानमा मात्रै झन्डै २२ करोड ४० लाख अमेरिकी डलर खन्याएका थिए । योसँगै सन् २०२४ मा उनले रिपब्लिकन पार्टीका विभिन्न अभियानका लागि २८ करोड अमेरिकी डलरभन्दा बढीको चन्दा दिइसकेका छन् ।

    कुनै बेला सिलिकन भ्यालीमा भेन्चर क्यापिटल व्यवसायी रहेका ट्रम्पका उपराष्ट्रपति जेडी भान्स र मस्क सिलिकन भ्यालीको नवनिर्वाचित राष्ट्रपतिसँग सम्बन्ध सुधारको प्रयासका सूत्रधार बनेका छन् । पेपलका सहसंस्थापक पिटर थिएलजस्ता खुला ट्रम्प समर्थक पनि नयाँ सरकारको प्रविधि कम्पनीहरूप्रतिको रवैया के हुन्छ भन्ने विषयमा निर्णायक बन्न सक्ने यो विषयलाई नजिकबाट नियालिरहेका एपीका विश्लेषक माइकल एल प्राइसलगायतको अनुमान छ ।

    संघीय सरकारबाट थप नियमनको जोखिममा रहेका मेटाजस्तै ठूला प्रविधि कम्पनीहरू जकरबर्गले झैं ट्रम्प प्रशासनसँग निकट सम्बन्ध बनाउन लागिपरेको पोलिटिकोका माइकल म्याक्ग्राको ठहर छ । ट्रम्पलाई खुला समर्थन गर्दा मेटाजस्ता कम्पनीका प्रयोगकर्ता र कर्मचारीहरूमध्ये धेरैलाई असन्तुष्ट बनाउने सम्भावना पनि देखिन्छ । जकरबर्गको यो कदमले प्रविधि उद्योगमा राजनीतिक ध्रुवीकरण थप्न सक्ने जोखिम रहेको विज्ञले औंल्याएका छन् । कम्पनीहरू यसरी आ–आफ्ना स्वार्थ सुरक्षित गर्न धनीहरूको पक्षमा वकालत गर्ने ट्रम्पजस्ता नेतालाई रिझाउनतिर लाग्नु प्रयोगकर्ताका लागि चिन्ताको विषय हुन सक्ने उनीहरूको ठहर छ ।

    ट्रम्पको चुनावी अभियानले सबैखाले डिजिटल प्रचारका लागि झन्डै ४३ करोड अमेरिकी डलर विज्ञापनमा खर्च गरेको थियो । यसमध्ये लगभग ३ करोड डलर फेसबुक र इन्स्टाग्राममार्फत हुने प्रचारका लागि खर्चेको थियो । पछिल्ला दिनमा पराजित उम्मेदवार ह्यारिसलाई ५ करोड डलर चन्दा दिएका बिल गेट्सबाहेक सबैजसो टेक धनाढ्यहरूको ध्यान नयाँ प्रशासनसँग सम्बन्ध सुधार्नेतर्फ केन्द्रित देखिन्छ ।

    प्रकाशित मिति :मंसिर २९ २०८१ शनिवार - ०७:३२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij