Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

इरानले किन इजरायलमाथि आक्रमण गर्‍यो, अब के होला? 

इरानले किन इजरायलमाथि आक्रमण गर्‍यो, अब के होला? 


  • 1.8K
    Shares

    इरानले किन इजरायलमाथि आक्रमण गर्‍यो, अब के होला? 
    images

    इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले एक विज्ञप्तिमा आईआरजीसीका एक शीर्ष कमाण्डर र इरान समर्थित मिलिसिया समूहका नेताहरूको हत्याको जवाफमा आक्रमणहरू गरिएको बताएको छ।

    विज्ञप्तिमा हिजबुल्लाह प्रमुख हसन नसरल्लाह र आईआरजीसी कमाण्डर अब्बास निलफोरोशनको बेरुतमा मृत्यु भएको उल्लेख गरिएको छ।

    विज्ञप्तिमा जुलाई महिनामा तेहरानमा हमासको राजनीतिक शाखाका प्रमुख इस्माइल हानियाको मृत्यु भएको पनि उल्लेख छ। इजरायलले हानियाको मृत्युको जिम्मेवारी लिएको छैन, तर यसको पछाडि इजरायलको हात रहेको विश्वास गरिन्छ।

    एक वरिष्ठ इरानी अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई देशका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले व्यक्तिगत रूपमा आक्रमणको आदेश दिएको बताए ।

    वास्तवमा, इरानले इजरायलको अस्तित्व स्वीकार गर्दैन। इजरायल इरानको सैन्य नीतिको केन्द्रबिन्दु रहेको छ।अर्कोतर्फ इजरायलले इरानलाई आफ्नो अस्तित्वका लागि खतरा मान्दै वर्षौँदेखि यसविरुद्ध गोप्य अभियान चलाउँदै आएको छ ।

    इजरायलमा गरेको मिसाइल आक्रमण कति ठुलो थियो ?

    इरानले पहिलोपटक हाइपरसोनिक मिसाइलसहित इजरायलमा २०० वटा क्षेप्यास्त्र प्रहार गरेको इरानी सरकारी टिभीले बुधबार जनाएको छ । त्यसैगरी इजरायलले तेहरानले उक्त आक्रमणको मुल्य चुकाउनपर्ने चेतावनी दिएको छ ।

    इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले तेल अवीव र यस क्षेत्र वरपरका “तीनवटा सैन्य आधार“लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको इरानी मिडियाले पुष्टि गरेको छ । इजरायली सेनाले इरानले आफ्नो क्षेत्रमा करिब १८० वटा क्षेप्यास्त्र प्रहार गरेको जसमध्ये अधिकांशलाई रोकिएको बताएको छ । 

    सन् २०२३ को जुनमा इरानले एक मध्यवर्ती दूरीको ब्यालेस्टिक मिसाइलको अनावरण गरेको थियो, जुन ध्वनिको गतिभन्दा १५ गुणा हाइपरसोनिक गतिमा यात्रा गर्न सक्षम छ । तत्कालीन राष्ट्रपति इब्राहिम रायसीले उक्त हतियारले इरानको प्रतिरोधको शक्ति बढाउने बताउनुभएको थियो । 

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले गरेको क्षेप्यास्त्र आक्रमण “ठुलो गल्ती” भएको बताउनुभएको छ । रिभोलुसनरी गार्ड्सले मिसाइल हमलालाई जुलाईमा हमास नेता इस्माइल हनियाह, साथै हिजबुल्लाह नेता हसन नसरल्लाहको शुक्रबार गरिएको हत्याको बदला भएको बताएको छ ।

    कच्चा तेलको मूल्य ४ प्रतिशतसमम बढ्ने

    इरानले इजरायलमा क्षेप्यास्त्र आक्रमण गरेको खबर बाहिरिएसँगै कच्चा तेलको मूल्य पनि बढ्न थालेको छ । अमेरिकी अधिकारीहरूले इरानले इजरायलमा मिसाइल आक्रमण गर्ने तयारी गरिरहेको खबर बाहिरिएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ करिब ४ प्रतिशतले बढ्न पुगेको हो । 

    ब्रेन्ट फ्युचर्स ३.५ प्रतिशतले बढेर ७४.२ डलर प्रति ब्यारेल पुग्यो । कच्चा तेलको भाउमा भएको मूल्य वृद्धिले पेट्रोल र डिजेलको मूल्य घट्ने आशालाई ध्वस्त पारेको छ ।रिपोर्टका अनुसार लेबनानमा इजरायली हवाई हमलापछि मध्यपूर्वमा द्वन्द्वको चिन्ता बढेको छ। लेबनानमा रहेको इरान समर्थित समूह हिजबुल्लाहले तेल अवीवमा मिसाइल प्रहार गरेको थियो ।

    अमेरिकाले इरानले इजरायलमाथि ब्यालेस्टिक मिसाइल आक्रमण गर्ने तयारी गरिरहेको सङ्केत पाएको चेतावनी दिएको छ । इजरायलको आक्रमणको जवाफमा इरानले पनि आक्रमण गरेको थियो । यसपछि ऋणपत्र, सुन र अमेरिकी डलरको भाउ पनि बढेको छ ।

    पछिल्लो एक वर्षमा मध्यपूर्वमा बढ्दो तनावका बिच ऊर्जा बजारमा शान्ति देखिएको थियो, चाहे त्यो इजरायली हमला होस् वा हुथी विद्रोहीको आक्रमण। धेरै समाचार एजेन्सीका अनुसार अमेरिकाले इरानले इजरायल विरुद्ध मिसाइल प्रहार गर्ने तयारी गरिरहेको सङ्केत प्राप्त गरेको समाचार प्रकाशित गरेका छन् । इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले भने हाल इरानबाट कुनै पनि हवाई खतरा नरहेको बताए ।

    “मध्य पूर्वमा तनावका कारण बजार उथलपुथलमा छ। तेलको मूल्य बढ्दै छ, बन्ड बढ्दैछ, सुन बढ्दैछ, स्टक घट्दैछ। यो एक क्लासिक भूराजनीतिक प्रतिक्रिया हो”, रिथोल्ट्ज वेल्थ म्यानेजमेन्टका प्रमुख बजार रणनीतिकार केली कक्सले बताए ।

    इरानमा अनेकौ यातना भोग्नुपरेको निर्वासित अफगानी शरणार्थीहरूको गुनासो

    इरानसँग अफगानिस्तानको सीमाबाट अफगानी शरणार्थीहरु बच्चा च्यापेर, आफ्नो सम्पूर्ण सांसारिक सम्पत्ति झोलामा अटाएर स्वदेश फर्किरहेका छन् ।  प्रत्येक दिन तीन हजार अफगानी जसमध्ये कोही इरानमा जन्मेका थिए, आफ्नो उज्ज्वल जीवन जिउने प्रयास असफल भएपछि स्वदेश फर्किरहेका छन् ।   

    “शरणार्थीहरूले धेरै शारीरिक र मानसिक यातनाको सामना गर्नुपरेको छ”, इस्लाम कालाको सीमावर्ती सहरमा आगमन दर्ता गर्ने अधिकारी अब्दुल घानी काजीजादाले बताउनुभयो । कोही अवैध रूपमा इरान प्रवेश गरेका र कोहीको भिसा म्याद सकिएका कारण उनीहरु आफ्नो देश फर्कन बाध्य भएका हुन् । लगभग ९० प्रतिशतलाई अफगानीलाई इरानबाट निर्वासित गरिएको छ भने बाँकी स्वेच्छाले फर्किरहेका छन् । 

    “उनीहरूलाई १८ वर्ष माथिका जो कोहीले १० करोड तोमान बैङ्कमा जम्मा गराउनुपर्ने अन्यथा एक हप्ताभित्र इरान छाड्न चेतावनी दिइएको थियो”, काजीजादाले भन्नुयो । यी शरणार्थीहरू देश भित्रनु अघी अफगान अधिकारीले दर्ता गरिरहेका छन् र आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनद्वारा जाँच गरिएका छन् । आफ्नो परिवारसँग जीवन पुनर्निर्माण गर्न फर्किरहेका शरणार्थीका लागि प्रति व्यक्ति दुई हजार अफगानी दिइने व्यवस्था गरिएको छ भने एक्लै फर्किनेको हकमा यो सुविधा लागू गरिएको छैन । 

    ३६ वर्षीया रमजान अजिजी आफ्नी श्रीमती र तीन बच्चासहित आगमन दर्ता गराउन पर्खिरहनुभएको थियो । उहाँ सन् २०२३ मा एक दलाललाई १ हजार २२० डलर दिएर अवैध रूपमा इरान प्रवेश गर्नुभएको थियो । तर बढ्दो बेरोजगारी साथै अन्तर्राष्ट्रिय प्रतिबन्ध अन्तर्गत देशमा अपराधको आरोपमा अफगानहरूले बढ्दो शत्रुताको सामना गर्नुपरेको छ ।

    २६ वर्षीया फाजिला कादेरीले राजधानी तेहरान नजिकैको करज शिविरमा आफू र आफ्नो पतिले भोगेका कष्टको स्मरण गर्नुभयो । “सुरक्षाकर्मीले पुरुष र महिलामा कुनै भेद नगरी हामीलाई छ वा सात दिनसम्म लठ्ठीले धेरै कुटपिट गरे”, उहाँले बताउनुभयो । कुटपिटका कारण उहाँको पतिको हड्डी भाँचिएको थियो । उहाँ मध्य–उत्तरी प्रान्त काजभिनमा एकजना तस्करलाई पैसा दिएर चार वर्षअघि इरान आउनुभएको थियो । 

    वैध पासपोर्ट र भिसा हुँदाहुँदै पनि आफूलाई पक्राउ गरी इरानबाट निष्कासन गरिएको २९ वर्षीया मजदुर अब्दुल बसीरले बताउनुभयो । “पासपोर्ट लिएर म १० दिनका लागि सैन्य शिविर मा पुगेँ”, उहाँले भन्नुभयो ।  उहाँले एक पटक शिविरमा घाइते हुनेगरी कुटपिट गरिएको बताउनुभयो । 

    सुरक्षाकर्मीहरूले अफगानी पासपोर्ट वा वैध इरानी निवास अनुमतिहरू च्यातेको पनि उहाँले दावी गर्नुभयो । तसर्थ उहाँलाई अफगान पासपोर्ट बिना अफगानिस्तान निर्वासित गरियो । सीमामा रहेका अफगानी अधिकारी काजीजादाले करिब ७० प्रतिशत शरणार्थीलाई इरानी कागजातबिना फिर्ता पठाइएको जानकारी गराउनुभयो । 

    अफगानिस्तानका विदेशमन्त्री अमिर खान मुत्ताकीले सेप्टेम्बरको अन्त्यमा तेहरानलाई “ इरानको विकासमा योगदान पुर्याएका अफगानी शरणार्थीलाई“ सहयोग गर्न आग्रह गर्नुभएको थियो । इरानी राष्ट्रपति मसूद पेजेस्कियनले गत महिना तेहरानले अवैध नागरिकहरूलाई “सम्मानजनक ढङ्गले” आफ्नो देशमा फिर्ता गरिरहेको बताउनुभएको थियो । 

    – विभिन्न न्युज एजेन्सीको सहयोगमा

    प्रकाशित मिति :आश्विन १८ २०८१ शुक्रवार - ०७:४०:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij