२०८२ भाद्र ४ गते बुधवार
काठमाडौं । प्रगतिवादी साहित्यकार यदुनाथ भट्टराईकृत तेस्रो कृति 'समयका डोबहरू' यही शनिबार चितवनको भरतपुरमा सार्वजनीकरण गरिएको छ ।
आरिघोप्टे वर्षाको महाविपत्तिबीच पनि उल्लेख्य साहित्यकार एवम् साहित्यानुरागीहरूको गरिमामय उपस्थितिमा आयोजित लोकार्पण कार्यक्रमका प्रमुख अतिथि तथा भरतपुर महानगर प्रज्ञा-प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मीले भने- 'कृति यसर्थ पनि उत्कृष्ट छ कि यसले भुइँमान्छेको आवाज बोकेको छ ।' यस्ता कृति समकालीन समाजको आरसी त बन्छन् नै, अझ भावी पुस्तालाई मानवीय मूल्यका कोणबाट आफ्ना सिर्जनात्मक अभिव्यक्ति राख्नका निम्ति अभिप्रेरित गर्छन् भन्ने उनको कथन थियो ।
प्रमुख वक्ताका रूपमा निम्त्याइएका उदय अधिकारीले कृतिको विशद परिचर्चा गर्दै यो मानवीय सम्वेदना उजागर गर्ने टेको भएको दाबी गरे । निम्न वर्गको आवाज बोकेको 'समयका डोबहरू'मा भाषाशैली अत्यन्त मिठासपूर्ण रहेको तथा मानवीय सम्वेदनाको विविध क्षेत्र ओगटेको भन्दै भट्टराईको मुक्तकण्ठले सराहना गरे ।
मन्थन तथा विमर्शकै सिलसिलामा डा. धनेश्वर भट्टराईले लेखकको पहिलो कृतिदेखि नै प्रभावित भएको बताउँदै जीवनका अनेकानेक पाटापक्ष केलाइनु लेखकीय शक्ति भएको तर्क गरे ।
विशिष्ट अतिथि रामहरि श्रेष्ठले 'सुखीराम एक्लै कैलासपुर आइपुग्यो' र 'मानव कङ्काल' कथाले त आफ्नो आँखा नै रसाएको दाबी गरे ।
त्यस्तै प्रकाश चापागाईले कृतिले सफलता पाउने भविष्यवाणी गरे भने विदुर अधिकारीले छन्द कविता वाचन गरी समारोह सफलताको शुभकामना टक्र्याए। उता कपिल अज्ञातले साहित्यको मर्म उल्लेख गरे ।
कार्यक्रममा डा. होमनाथ सापकोटा, डा. कर्ण बानियाँ, होमनाथ घिमिरे, विपिन पाठक, सञ्जीव पौआदिको गरिमामय उपस्थिति थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij