Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

कवि तथा प्राज्ञ शशी लुमुम्बू ‘हङकङ साहित्यिक साझाद्वारा पुरस्कृत एवम् सम्मानित

कवि तथा प्राज्ञ शशी लुमुम्बू ‘हङकङ साहित्यिक साझाद्वारा पुरस्कृत एवम् सम्मानित


  • 2.0K
    Shares

    कवि तथा प्राज्ञ शशी लुमुम्बू ‘हङकङ साहित्यिक साझाद्वारा पुरस्कृत एवम् सम्मानित
    images

    काठमाडौं । कवि तथा प्राज्ञ शशी लुमुम्बू ‘हङकङ साहित्यिक साझा शृङ्खला पुरस्कार तथा सम्मान–२०२५’ द्वारा पुरस्कृत एवम् सम्मानित भएका छन् । शृङ्खलाद्वारा शनिबार अनामनगरस्थित सिलौटो कटेजमा आयोजित भब्य समारोहबीच लुमुम्बू पुरस्कृत तथा सम्मानित भएका हुन् । 

    समारोहमा उनलाई नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति, कविवर तथा मुन्धुमविद् बैरागी काइँलाले दोसल्ला तथा सम्मानपत्र अर्पण गरी नगद पचपन्न हजार पाँच सय पाँच रुपैयाँसहित पुरस्कृत तथा सम्मानित गरेका हुन् ।

    समारोहमा बोल्दै प्रमुख अतिथि काइँलाले हङकङमा बस्ने नेपालीहरुले साहित्यमा गरेको योगदान धेरै ठूलो रहेको भन्दै हङ्कङ उक्त योगदानको सह्राना गर्नुपर्ने धारणा राखे । प्रवास र नेपालमा रहेका साहित्यकारहरूलाई जोड्ने पुलको रुपमा भने शशी लुमुम्बुले गरेको उल्लेख गर्दै काइँलाले प्रकाशन नेपाली कविता–काव्य विधामा शशी लुमुम्बूले सशक्त कविता सृजना गरी उल्लेखनीय योगदान दिएको चर्चा गरे । “देश बाहिर जाने साहित्यकारलाई देशभित्र रहने साहित्यकारहरूसँग जोड्ने थोरै साहित्यकारहरू छ, तिनीहरुमध्ये शशी लुमुम्बु एक हुनुहुन्छ । हामीले कुन साहित्यकार कुन देशमा, कुन क्षेत्रमा हुनुहुन्छ ? भनेर वहाँलाई सोध्दा हामीलाई बताउन सक्नुहुन्छ’, काइँलाले भने, ‘यसरी काम गर्दै जाँदा शशी ज्यू कहाँ हुनुहुन्छ ? भनेर खोज्ने दिन आउँदो रहेछ । वहाँ आफैमा पनि साहित्यकार, कवि र कुसल संयोजक हुन् । यसरी वहाँलाई सम्झेर हङकङ साहित्य शृङ्खलाले साह्रै राम्रो काम ग¥यो ।’ 

    यस्तै, प्राज्ञ तथा कवि श्रवण मुकारुङले नेपाली साहित्यमा कवि शशी लुमुम्बूको उल्लेखनीय योगदान रहेको बताए । शृङ्खलालाई धन्यवाद दिँदै मुकारुङले– “यो शशी सर हैन, यस्तो पात्रलाई पुरस्कार दिनुभयो तपाइँहरुले, यो तपाइँहरुको संस्था पुरस्कृत भयो भन्ने म ठान्छु ।  किनभने मैले शशी सरको जर्नी थाहा पाउँछु । वहाँको संघर्षहरू । तपाइँहरुलाई पनि थाहा भएकै कुरा हो । यत्ति धेरै पुरस्कार वहाँले अरुलाई दिलाउनुभएको छ । यति धरै स्रष्टाहरूलाई एउटा पुरस्कृत श्रष्टा बन्न वहाँले उत्प्रेरित गर्नुभएको छ । यति धेरै श्रष्टाहरूको कृति सम्पादन गरिदिनुभएको छ । यति धेरै यस्ता मञ्चहरू वहाँहरूले क्रिएट गरिदिनुभएको छ”, उनले थपे, “यो हामी भेला भएको छौं, त्यसको निरन्तरता पनि हो भन्ने मलाई लाग्छ । कविता लेखनका अतिरिक्त अन्य लेखकहरूका कृतिको सम्पादन, विभिन्न महत्वपूर्ण कार्यक्रमहरूको संयोजन आदिका माध्यमबाट शशी लुमुम्बूले अतुलनीय योगदान दिनुभएको छ । स्थापित पुरस्कार तथा सम्मान पहिलो पटक उहाँलाई अर्पण गरेर संस्था स्वयं सम्मानित भएको छ ।”

    आफूले केही काम गरेको स्वीकार गर्दै लुमुम्बूले पुरस्कार पाउनकै लागि भने काम नगरेको स्पष्ट पारे । “मैले त्यत्ति धेरै विशिष्ट योगदान दिएँ जस्तो त लाग्दैन । अलिअलि काम त गरेकै हो, तर सम्मानित हुनेगरी, पुरस्कृत हुनेगरी काम गरेजस्तो त लाग्दैन”, लुमुम्बूले भने, “लेख्दाखेरी अथवा अभियान जारी राख्दाखेरी पुरस्कार प्राप्तीका लागि, केही मानपदवी प्राप्तीका लागि गरिएको हुँदैन । राष्ट्रकै लागि भनेर पनि कतिपय अवस्थामा गरिँदैन रहेछ । यो त आत्माशान्तिका लािग, आत्मआनन्दका लागि गरिँदो रहेछ । त्यसपछि समाजको र देशको लागि हुन जाँदो रहेछ ।” 

    sany.jpg

    समारोहका सभाध्यक्ष वरिष्ठ साहित्यकार दाजु गुरुङले नेपाली साहित्यको उन्नयनमा हङकङेली नेपाली डायास्पोरिक लेखक÷साहित्यकारहरूको विशिष्ट योगदान गरिरहेको तर राज्यले भने उक्त योगदानलाई अनदेखा गरिरहेको बताए । डायास्पोरामा सृजनारत स्रष्टाहरूको योगदानलाई राज्यले उचित कदर गर्नुपर्नेमा सभाध्यक्ष गुरुङको जोड थियो ।

    शृङ्खलाका निवर्तमान संयोजक रमण गुरुङ र सल्लाहकार डिबी पालुङ्वाले हङकङमा नेपाली साहित्यको अवस्था र नेपाली साहित्यको प्रवद्र्धनका निमित्त हङकङ साहित्यिक साझा शृङ्खलाले गरिरहेको कार्यहरूका बारेमा प्रकाश पारेका थिए । 

    कार्यक्रममा कथाकार सिर्जना राईले लुमुम्बुका एक कविता वाचन गरेकी थिइन् । खदा अर्पण मन्दीरा अधिकारी खापुङ र मुन्धुम चेम्जोङले गरेका थिए भने कार्यक्रमको सहजीकरण यासेली योङहाङले गरेका थिए ।

    shashi limumbu group.jpg

    हङकङ साहित्यिक साझा शृङ्खलाको स्थापना सन् २०१२ मा भएको हो । भर्खरै १३औं बार्षिकोत्सव मनाएको शृङ्खलाका संस्थापक संयोजक साहित्यकार चन्द्र मादेन आन्छन् हुन् भने बर्तमान संयोजक कवि जूनु राना छन् । यस्तै, संरक्षकहरू साहित्यकारहरू राजकुमार राई, देश सुब्बा, टंक सम्बाहाम्फे र दाजु गुरुङ हुन् ।

    Shashi.jpg

    प्रकाशित मिति :आषाढ ८ २०८२ आइतवार - १२:०८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij