२०८२ भाद्र २५ गते बुधवार
भारतको बेङ्लुरुमा एक जना नेपाली युवतीको क्रूर हत्या भएको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारतको बेङ्लुरुस्थित एक भाडाको कोठामा नेपाली युवती महालक्ष्मीको शव ३० देखि ४० टुक्रा पारिएको अवस्थामा फेला परेको छ ।
निकै अमानवीय र क्रूर ढंगले महालक्ष्मीको हत्या भएको घटना विवरणहरूले देखाएका छन् । भारतीय सञ्चारमाध्यहरूका अनुसार बेङ्लुरुको तीनतले भवनको एक कोठामा रहेको फ्रिजमा १९ दिनसम्म एक २९ वर्षीया युवतीको शव ३० देखि ४० टुक्रा पारेर राखिएको प्रहरीले फेला पारेको छ । सो कोठाबाट गन्ध आउन थालेपछि घरमालिकले प्रहरी र युवतीकी आमालाई खबर गरेका थिए । त्यसपछि घटनास्थलमा पुगेको प्रहरी क्राइम सिन देखेर अत्तालियो । किनकि प्रहरीले यसअघि यस्तो क्राइम सिन देखेकै थिएन ।
प्रहरी पहिलोपटकमा कोठामा प्रवेश नै गर्न सकेन । किनकि गन्ध निकै आइरहेको थियो । डब्बल मास्क लगाएर कोठामा पुगेको प्रहरीले फ्रिज र फ्रिजबाहिर शवका टुक्राहरू देख्यो । र, उसले फरेन्सिकको टोलीलाई बोलायो । तर, फरेन्सिकको टोलीले पनि शव संकलन गर्न नसकी अस्पतालको मुर्दाघरका कर्मचारीलाई बोलाएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
प्रहरीका अनुसार यो हत्या कसले किन गराएको हो भन्ने खुलेको छैन । तर, प्रहरीले शंकास्पद व्यक्तिलाई भने पछ्याइरहेको छ । समाचारअनुसार महालक्ष्मीको बिहे हेमन्त दाससँग भएको थियो । तर, उनीहरूबीच झगडा भएकाले महालक्ष्मी विगत नौ महिनादेखि श्रीमान्बाट अलग्गै बस्दै आएको खुलेको छ । जुन कोठामा उनको हत्या भयो, त्यहाँ उनी विगत ६ महिनादेखि बस्दै आएको खुलेको छ ।
नेपालबाट गएको यो परिवारले बेङ्लुरुमा काम गरिरहेको थियो । हेमन्त र महालक्ष्मी दुवैले त्यहाँ छुट्टाछुट्टै स्थानमा काम गर्थे । तर, जब हेमन्तले महालक्ष्मीमाथि परपुरुषसँग लागेको शंका गर्न थाले, त्यसपछि उनीहरूबीच झगडा पर्न थाल्यो । समाचारअनुसार महालक्ष्मी भारतीय युवक असरफसँग लसपसमा रहेको हेमन्तको आशंका थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij