२०८२ भाद्र २५ गते बुधवार
भारतको आन्ध्र प्रदेशस्थित एक इन्जिनियरिङ कलेजको गर्ल्स होस्टलको शौचालयमा ‘गोप्य क्यामेरा’ भेटिएको छ। घटनाको जानकारी पाएलगत्तै विद्यार्थीहरूले नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन्।
घटनामा प्रहरीले बीटेक अन्तिम वर्षका एक विद्यार्थीलाई पक्राउ गरेको छ भने उनको मोबाइल र ल्यापटपसमेत बरामद गरेको छ। प्रहरीका अनुसार हालसम्म करिब तीन सय फोटो तथा भिडियो लिक भइसकेका छन्। गोप्य क्यामेराबाट रेकर्ड गरिएका छात्राको भिडियो बिक्री हुने गरेको बताइएको छ।
मिडिया रिपोर्टका अनुसार गुडलाभलेरु कलेज अफ इन्जिनियरिङलाई घटनाबारे एक साताअघि नै जानकारी गराइए पनि कलेज प्रशासन मौन रहेपछि बिहीबार विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका हुन्। आन्दोलनको समाचार सञ्चारमाध्यममा आउन नदिन व्यवस्थापनले कलेजको गेट बन्द गरेको थियो। तर, छात्राहरूले राति अबेरसम्म आन्दोलन जारी राखेपछि प्रहरीले घटनाको जानकारी पाएको थियो।
केही सञ्चारमाध्यमले एक कलेजकी युवतीले महिला शौचालयमा क्यामेरा लुकाउन आरोपीलाई सहयोग गरेको दाबी गरेका छन्। ती युवतीबारे प्रहरीले र कलेज प्रशासनले खुलाएको छैन।
आरोपीले पहिलो पटक ओयोको कोठामा आफ्नी प्रेमिकाको भिडियो बनाएका थिए। त्यसपछि प्रेमिकालाई ब्ल्याकमेल गरी होस्टेलमा क्यामेरा जडान गरिएको समाचारमा उल्लेख छ। एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij