२०८२ भाद्र ४ गते बुधवार
काठमाडौं । चर्चित लघुकथाकार खेमराज पोखरेलको 'एकालाप' लगायत पच्चिस वटा लघुकथासङ्ग्रहको एकसाथ सार्वजनिकीकरण गरिएको छ । यही भाद्र तीन गते राजधानीमा आयोजित एक विशेष कार्यक्रमबिच लोकार्पित कृतिहरूबारे समष्टिमा परिचर्चा समेत भएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल स्रष्टा समाजका अध्यक्ष तथा साहित्यकार श्रीओम श्रेष्ठ 'रोदन'ले साहित्यमा लघुकथाको विशेष स्थान रहेको उल्लेख गर्दै पूर्णप्रसाद ब्राह्मणदेखि आजसम्म आइपुग्दा लघुकथाले उल्लेख्य फड्को मारेको बताए । लघुकथालाई स्थापित गर्ने सिलसिलामा आएका अड्चनबारे विशद चर्चा गर्दै उनले अबका दिनको चुनौती भनेको यसलाई स्तरीय बनाउन कसरत मात्र हुने बताए ।
त्यसरी नै विशेष अतिथि साहित्यकार तथा अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकालीले लघुकथाकारहरूको सराहना गर्दै थप मेहनत गर्न उत्प्रेरित गरे । उनले खेमराज पोखरेलको संयोजनकारी भूमिकाको खुलेर तारिफ गरे ।
कार्यक्रमका अध्यक्ष खेमराज पोखरेलले आफूलाई झन्डै दुई दर्जन कृतिकारले ढुक्कले विश्वास गरेकोमा खुसी प्रकट गरे । नाम लिएरै एक चर्चित साहित्यकारको 'कागजको सत्यानाश' भन्ने रुखो सार्वजनिक अभिव्यक्तिबारे टिप्पणी गर्दै उनलाई राम्रो लेख्न तर कसैलाई औँलो नठड्याउन सुझाए ।
लघुकथाप्रति साधनारत पोखरेलले पहिलो कृति लहैलहैमा निकालिएछ भने पनि दोस्रो कृतिपछि भने पटक-पटक निधार खुम्च्याउन आग्रह गरे । एउटा फरक प्रसङ्ग उल्लेख गर्दै उनले कुनै ज्येष्ठ नागरिकले लघुकथा अध्ययन नै यो वयमा सर्वाधिक समुचित भनेको बताए ।
लघुकथाकारहरूको सघन उपस्थिति रहेको सो कार्यक्रमको सहजीकरण लघुकथाकार ममता मृदुलले गरेकी थिइन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij