२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले गरेका उपलब्धिहरू सार्वजनिक गरेका छन् ।
आज (शुक्रबार) प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो दोस्रो कार्यकालको तेस्रो वर्ष पूरा भएको अवसरमा प्राधिकरणले गरेका उपलब्धिहरू सार्वजनिक गरेका हुन् ।
८ वर्ष अगाडि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको उनले जानकारी दिए ।
गत आर्थिक वर्ष २०८०–८१ मा मात्र खुद नाफा १३ अर्ब ३१ करोड रुपैयाँ रहेको उनले जानकारी दिए । आव २०७३–७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको प्राधिकरण त्यसयता निरन्तर नाफामा गएको हो ।
यसबीचमा तीन पटक गरी २५ प्रतिशत विद्युत् महसुल घटाइएको भन्दै उनले प्राधिकरणले महसुल बढाएर नाफा नबढाएको समेत जानकारी दिए ।
अहिले प्राधिकरणका ५९ लाख ग्राहक पुगेका छन् । यसमध्ये २२ लाख ग्राहकले न्यूनतम शुल्क ३० रुपैयाँ मात्र कायम गरी निःशुल्क विद्युत् उपलब्ध गराइएको उनले जानकारी दिए ।
सिँचाइका लागि प्रतियुनिट २ रुपैयाँमा विद्युत् उपलब्ध गराइएको समेत कुलमानले बताए । लिफ्टिङ खानेपानीमा डिमान्ड शुल्क नलाग्ने र इनर्जी शुल्कमा सहुलियत दिइएको समेत उनको भनाइ छ ।
विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसनमा सहुलियतपूर्ण महसुल दर कायम गरिएको उनले बताए ।
नेपाल सरकारले २५ साउन २०७८ का दिन कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि दोस्रो पटक नियुक्त गरेको थियो । आज उनको दोस्रो कार्यकालको तेस्रो वर्ष पूरा भएको हो ।
यसबीचमा आफ्नो कार्य सम्पादन मूल्यांकनका आधारमा आव २०७८–७९ मा ९४.२३ प्रतिशत र त्यसपछिको आवमा ९८.९४ प्रतिशत अंक प्राप्त भएको समेत उनले जानकारी दिए ।
८ वर्ष अगाडि २०७२–७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र रहेकोमा अहिले ९९ प्रतिशत पुगेको उनले जानकारी दिए ।
८ वर्ष अगाडि २९ लाख ७० हजार ग्राहक रहेकोमा अहिले ५९ लाख ३५ हजार पुगेको हो । सो बेला ३ अर्ब ७२ करोड युनिट विद्युत् खपत हुने गरेकोमा अहिले १०अर्ब २३ करोड युनिट पुगेको समेत उनले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij