२०८२ भाद्र १ गते आइतवार
काठमाडौ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन्।
आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री लामाले आज प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन्।
यही साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त लामाले नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ को उपनियम ९१० बमोजिम प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका हुन्।
प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ जना प्रदेशसभा सदस्य छन्।
११० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५६ सांसद पक्षमा भए पुग्छ। त्यसैले मुख्यमन्त्री लामाले विश्वासको मत पाउने निश्चित छ।
जसमध्ये लामा कांग्रेस र एमालेको गठबन्धनबाट मुख्यमन्त्री बनेका हुन्। कांग्रेससँग ३७ र एमालेसँग २७ गरी सत्ता गठबन्धनसँग कूल ६४ सांसद छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij