
२०८२ भाद्र २ गते सोमवार
माछापुच्छ्रे बैंक लिमिटेडले हाल नेपाली बैंकिङ्ग उद्योगमा नै पहिलो पटक आफ्ना ग्राहकहरुलाई उत्कृष्ट तथा विशिष्ट सेवा प्रदान गर्ने लक्ष्यसाथ नेपाली रुँपैया र अमेरिकन डलरमा नियोन क्रेडिट कार्डको सुविधा सगौरव सञ्चालनमा ल्याएको छ।
आधुनिक जीवनशैलीमा ब्यस्त रहने ग्राहक तथा देश विदेश यात्रा गर्ने वर्गलाई लक्षित गरी सञ्चालनमा ल्याइएको ‘नियोन क्रेडिट कार्ड’ डिजाइन तथा आवरणमा चम्किलो तथा मनमोहक छ, जुन बजारमा उपलब्ध अन्य प्रकारका कार्डहरुभन्दा बिल्कुलै भिन्न देखिन्छ।
पीओएस मर्चेन्ट सञ्जाल विस्तारमा उत्कृष्ट कार्यसम्पादन गरेको र भिसा क्रेडिट कार्ड उपयोग गर्न आफ्ना ग्राहकलाई पे्ररित गरी पुर्याएको उल्लेख्य योगदानको कदर स्वरुप भिसाद्वारा विशिष्ट अवार्डले सम्मानित भई नेपालको एक अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित माछापुच्छ्रे बैंकले ‘ग्लो विथ कन्फिडेन्स’ ट्यागलाइनसहित बजारमा ल्याएको नियोन क्रेडिट कार्ड भिसाद्वारा सञ्चालित विश्वव्यापी स्वीकार्य विद्युतीय भुक्तानीको उत्कृष्ट माध्यम हो।
नियोन क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले नेपालभरका विभिन्न ३५० भन्दा बढी मर्चेन्टहरुमा विविध वस्तु तथा सेवाको उपभोग र किनमेल गर्दा विशेष छुट तथा क्यासव्याक अफरहरु प्राप्त गर्न सक्नेछन्, साथै रु.५ हजार वा सो बराबरको ट्याप एण्ड पे (क्यासलेस) कारोबार गर्न सक्नेछन्, जसले गर्दा ग्राहकहरुमा प्रिमियम तथा उत्कृष्ट सुविधाको अनुभूति जाग्रित हुने विश्वास बैंकले लिएको छ।
नियोन क्रेडिट कार्ड प्रयोग मार्फत विशेष छुट तथा क्यासव्याक अफर प्राप्त गर्न सकिने मर्चेन्टहरु तथा छुटसम्बन्धी विवरणको बारेमा बैंकको वेबसाइट, सामाजिक सञ्जालमार्फत ग्राहकलाई निरन्तर जानकारी गराइने छ। नियोन क्रेडिट कार्ड को पहिलो संस्करण सीमित अवधिको लागि ल्याईएको माछापुच्छ्रे बैंकको नविनतम योजना हो, जसअन्तर्गत सुपरमार्केट, होटेल, रेष्टुरेन्ट, तथा विविध फ्रेन्चाइज आउटलेट्स आदिमा विशेष छुट तथा अफर सुविधाहरु उपलब्ध गराउने बैंकको योजना रहेको छ।
माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले नियोन क्रेडिट कार्ड प्रस्तुत गर्न पाउँदा निकै उत्साहित रहेको बताए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij