२०८२ फाल्गुण २५ गते सोमवार
१. राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ रोकियो बराबरीमा
विभागीय टोली एपिएफले अग्रता जोगाउन नसक्दा राष्ट्रिय लिगमा बराबरीको नतिजासँगै शीर्ष स्थानका लागि अंकदूरी बढाउने अवसर गुमाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफले सोमवार प्लानिङ ब्वाइज युनाइटेड क्लबसँग १–१ गोलको बराबरी नतिजा सामना ग¥यो । शिर्ष स्थानको एपिएफले अग्रता जोगाउन नसक्दा अंक बाँडेको हो । एपिएफका कप्तान युवराज खड्का र प्लानिङका एलेक्स विलियमले गोल गरे । दुवै हाफमा समान एक गोल भयो । एपिएफले शिर्ष स्थानको लागि अंक बढाउने अवसर गुमाएको छ । बराबरीपछि प्लानिङले भने शीर्ष स्थानमा उक्लिने अवसर गुमायो । एपिएफ ९ खेलबाट २१ अंक जोड्दै शिर्ष स्थानमा छ । दोस्रो स्थानको टोलीभन्दा दुई अंकले मात्र बढी हो । चर्च ब्वाइज, लालीगुराँस एसोसिएसन, प्लानिङ ब्वाइज र मच्छिन्द्र क्लब गरी चार टोलीको समान १९ अंक जोडेको छ ।
२. नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुद्वारा पद तथा गोपनियताको शपथ ग्रहण
नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । सिंहदरबारमा आयोजित एक कार्यक्रमबीच सदस्यहरुले शपथ ग्रहण गर्नुभएको हो । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सदस्यहरुलाई पद तथा गोपनियताको शपथ खुवाउनु भयो । सदस्यहरुले शपथ लिएसँगै औपचारिक रुपमा आफ्नो कार्यभार सम्हाल्नुहुनेछ । राष्ट्रिय सभालाई ‘स्थायी सदन’ का रुपमा लिइन्छ । जसले प्रतिनिधि सभाले बनाएका कानूनहरुको पुनरावलोकन गर्ने र परिपक्व निर्णय लिन महत्वपूर्ण भुमिका खेल्ने गर्दछ ।
३. काठमाडौं उपत्यकामा वायु प्रदुषण बढ्यो
पछिल्लो समय काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिक बढेको छ । प्रदूषणका कारण उपत्यकाको आकाश धमिलो छ भने घाम राम्रोसँग लाग्न सकेको छैन । बिहानैदेखि काठमाडौंको मौसम धुम्म छ । दृश्य क्षमता घटेका कारण यातायात सञ्चालन र हवाई उडानमा समेत सामान्य प्रभाव परेको छ । हावामा धुलोका कण र धुवाँको मात्रा बढेकाले सर्वसाधारणले आँखा पोलेको र श्वासप्रश्वासमा असहज महशुस गरेका छन् । वातावरण विभागकाअनुसार उपत्यकाको वायु गुणस्तर सूचकांक जोखिमपूर्ण स्तरमा पुगेको छ । लामो समयदेखि हिउँदे वर्षा नभएको र देशका विभिन्न भागमा लागेको डढेलोको धुवाँ हावाको माध्यमबाट उपत्यकामा भित्रिएका कारण प्रदूषण ह्वात्तै बढेको मौसमविद्हरूले बताएका छन् ।
४. धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर)
यतिबेला सङ्घीय राजधानी काठमाडौं उपत्यका वातावरणीय प्रदुषणको चपेटामा परेको छ । वायु प्रदुषण मापन गर्ने सूचकांकले मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक अवस्था देखाएको छ । काठमाडौंको आकाश पूर्ण रुपमा धुवाँ र धुलोको बाक्लो चादर (तुवाँलो) ले छोपिएको छ । निलो आकाश देखिन छाडेको छ भने सास फेर्ने हावा नै विषालु बन्दै जाँदा उपत्यकावासीको जनजीवन कष्टकर बनेको छ । वागमती नदी किनारदेखि चक्रपथका फराकिला सडकहरूसम्म चारैतिर उराठलाग्दो र फुस्रो दृश्य मात्र देखिन्छ । शहरका अग्ला भवनहरू र धरहरा जस्ता संरचनाहरू धुवाँको तुवाँलोभित्र धमिलो देखिन थालेका छन् । उपत्यकाका डाँडाहरूबाट लिइएका तस्बिरहरूले त झनै डरलाग्दो यथार्थ पस्किएका छन् ।
५. इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन
अमेरिकी राजधानी वासिङ्टन डिसीमा इरानविरुद्धको अमेरिकी सैन्य कारबाहीको विरोध गर्न प्रदर्शन भएको छ । हजाराँै मानिसहरु ह्वाइट हाउस नजिकै भेला भइ प्रदर्शन गरेका हुन् । उनीहरुले प्लेकार्ड बोकेर नाराबाजी गर्दै युद्ध अन्त्यको माग गरिरहेका छन् । अमेरिकाका ५० भन्दा बढी शहरमा यस्तै विरोध प्रदर्शन भएका थिए । अमेरिका र इजरायलले एक साताअघि इरानमाथि भीषण आक्रमण शुरु गरेका थिए । जारी सैन्य तनावले क्षेत्रीय तनाव बढाएको छ र विश्वव्यापी रूपमा यसको असर परेको छ ।
६. पूर्वी लेबनानमा इजरायली आक्रमण र झडपपछि मृत्यु हुनेको संख्या ४१ पुग्यो
पूर्वी लेबनानको नाबी चित गाउँमा इजरायली हवाई आक्रमण र झडपमा परी मृत्यु हुनेको संख्या ४१ पुगेको छ । अन्य ४० जना घाइते भएका छन् । जनस्वास्थ्य मन्त्रालयको जनस्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले एक विज्ञप्तिमा जनाएअनुसार बालबेक जिल्लाको नाबी चित र वरपरका सहरहरूलाई लक्षित गरी इजरायलले गरेको शृंखलाबद्ध आक्रमणका कारण यी हताहती भएका हुन् । स्थानीय बासिन्दाहरू पनि इजरायली सेनाको सामना गर्न हिजबुल्लाह सदस्यहरूसँग सामेल भएका थिए । इजरायली लडाकु विमान र हेलिकप्टरहरूले पछि गाउँ र वरपरका क्षेत्रमा करिव ४० हवाई आक्रमण गरेका थिए । नोभेम्बर २७, २०२४ मा युद्धविराम लागू भएयता हिजबुल्लाहले सोमबार बिहान लेबनानबाट इजरायलतर्फ रकेट प्रहार गरेपछि यो तनाव बढेको हो । यो उक्त समूहको पहिलो यस्तो आक्रमण थियो ।
७. नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू
नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सोमवार निर्वाचित सदस्यहरुलाई शपथ गराउनुभएको हो । गत माघ ११ गते भएको राष्ट्रिय सभाको निर्वाचनबाट १८ जना सदस्य निर्वाचित हुनुभएको थियो । ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुने व्यवस्था छ । सोही व्यवस्थाअनुसार फागुन २० गते १९ जना सदस्यको कार्यकाल सकिएको हो । १९ जनामध्ये १८ जना सदस्यको माघ ११ गते निर्वाचन भएको हो । एक जना सदस्यलाई भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नुहुनेछ । राष्ट्रियसभा सदस्यमा नेपाली काँग्रेसका ९ जना, नेकपा एमालेका ८ जना र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का एक जना सदस्य निर्वाचित हुनुभएको छ ।
८. लगानीकर्तामा उत्साह, चुनावपछिको पहिलो दिन नै शेयर बजारमा लाग्यो दोस्रो सर्किट
प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि पहिलो पटक खुलेको शेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । सोमवार शेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो । दोस्रो सर्किट लागेपछि कारोबार ४० मिनेटका लागि बन्द भएको छ । यसअघि बजार खुलेको एक मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले बढेर पहिलो सर्किट ब्रेक लागेको थियो । पहिलो सर्किट ब्रेक लागेर २० मिनेटपछि खुलेको शेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो । पहिलो सर्किट ब्रेकपछि थप १ प्रतिशत अर्थात समग्रमा ५ प्रतिशतले बजार बढेपछि दोस्रो सर्किट ब्रेक लागेर कारोबार स्थगित भएको छ । हाल नेप्से परिसूचक २८४८ अंकमा पुगेको छ भने बजार १३५ अंकले बढेको छ । त्यस्तै २८ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यदी बजार ६ प्रतिशतमा बढेमा दिनभरीकै लागि कारोबार रोक्का हुने छ । प्रतिनिधि सभा सदस्यको निर्वाचनले स्थिर सरकार निर्माण हुनेगरी म्याण्डेड दिएपछि लगानीकर्तामा उत्साह बढेको हो । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले करिव दुई तिहाई सिट हासिल गर्ने भएको छ ।
९.अब राष्ट्रिय सभाको भुमिका बढ्योः सांसदहरु
राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्यहरुले मुलुकमा विकसित पछिल्लो परिस्थितिमा राष्ट्रिय सभाको भुमिका बढ्दै गएको बताउनुभएको छ । सोमवार २० फागुनमा कार्यकाल सकिएका सांसदहरुको बिदाईका लागि राखिएको समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो धारणा राखेका हुन् । बैठकमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीकी सांसद रेनु चन्दले ऐन र कानून निर्माणको क्षेत्रमा संसदको माथिल्लो सदनको भुमिका बढेको बताउनु भयो । उहाँले अगामी दिनमा सभालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा गम्भीर हुन जरुरी रहेको पनि बताउनु भयो । संविधान संशोधन जस्ता महत्वपूर्ण मुद्दाहरु र नयाँ ऐन, कानून बनाउनुपर्ने मुद्दाहरुमा सभाको स्ट्याण्ड के हुने भन्ने विषयमा गृहकार्यमा जुट्न जरुरी रहेको पनि बताउनु भयो ।
१०. नवनिर्वाचित राष्ट्रिय सभाका सांसदको जोडः भ्रष्टाचारको अन्त्य, संघीयता र समावेशीतामा काम गर्छौं
नवनिर्वाचित राष्ट्रिय सभाका सांसदहरुले मुलुकमा संघीयता र समावेशीतालाई मजबुत बनाउने गरी आफूहरुले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सोमवार राष्ट्रिय सभा सदस्य पदको पद तथा गोपनियताको शपथ ग्रहण गर्दै नेपाली काँग्रेसका सांसद सुनिल थापा, नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्री र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद महन्थ ठाकुरले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । काँग्रेस सांसद थापाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति मुलुकको मुख्य एजेण्डा भएको उल्लेख गर्दै सोही अनुसारको कानून निर्माणमा आफूहरु केन्द्रित हुने बताउनु भयो । उहाँले संसदलाई अझै क्रियाशील बनाउने र मुलुकलाई निकास दिनेखालको कानून निर्माणमा आफूहरु लागिपर्ने समेत बताउनु भयो ।
११. राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्षरत राप्रपा, के—के हुन्छन् सुविधा ?
नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो । राजनीतिक दल सम्बन्धी ऐनअनुसार प्रतिनिधि सभामा राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिकतर्फ दलहरूले प्राप्त गरेको कुल सदर मतको कम्तीमा तीन प्रतिशत मत ल्याउनुपर्छ । सोही व्यवस्थाअनुसार यसअघि राष्ट्रिय पार्टीको मान्यता पाएका राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल लगायतका पार्टीहरुले सो मान्यताबाट वञ्चित हुने अवस्था आएको छ । दलहरुले प्राप्त गरेको कुल सदर मतको कम्तिमा ३ प्रतिशत मत ल्याउन नसकेपछि ती दलहरुले राष्ट्रिय पार्टीको मान्यता नपाउने अवस्था सृजना भएको हो । चालु मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ १२५ सिट ल्याएर अग्रता कायम गरेको छ भने उसले समानुपातिकतर्फ हालसम्म ४३ लाख १९ हजार ८३५ ल्याएको छ ।
१२. राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री
नेकपा (एमाले)का राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिने बताउनुभएको छ । सोमवार राष्ट्रिय सभा सांसद पदको सपथ लिएलगत्तै उहाँले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सो प्रतिक्रिया दिनु भएको हो । सांसद झाँक्रीले राष्ट्र र जनताको पक्षमा हुने संविधानसम्मत सबै वस्तुहरुमा छलफल गरेर अघि बढ्न एमाले तयार रहेको बताउनु भयो । उहाँले संविधानमा अपरिवर्तनीय भनेर राखेर प्रावधानबाहेक सबै विषयमा छलफल गर्न सकिने बताउनु भयो । नवनिर्वाचित सांसद झाँक्रीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय सभा खारेज गर्न चाहेको छ नि ? भनेर प्रश्न गरिएको थियो ।
उहाँले भन्नुभयो,‘राष्ट्र र जनताको पक्षमा हुने संविधान सम्मत हर चिजहरु संविधानक केही अपरिवर्तनीय धाराहरुबाहेक सबै परिवर्तनशील छन । सबै प्रावधानहरु परिवर्तन हुन्छ । संविधानमा के चिज अपरिवर्तनीय भनेर संविधानमा लेखिएकै छ । त्यसकारण यी सबै विषयहरुमा छलफल हुन सक्छ ।’–न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij