२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि प्रदेशसभा पुगेका गण्डकीका सांसद फणीन्द्र देवकोटालाई रोक लगाइएको छ । आज (बिहीबार) प्रदेशसभा गएका देवकोटालाई मर्यादा पालकले रोक लगाएका हुन् । आफूलाई रोक लगाएपछि बाहिरै रहेको देवकोटाले जानकारी दिए ।
‘अदालतले आदेश दिएकाले म प्रदेशसभामा आएको हुँ । के कारणले रोकिएको हो थाहा भएन । म अहिले बाहिर छु,’ उनले भने । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिएपछि उनलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको थियो ।
आफू नेपाल समाजवादी पार्टी भएकाले माओवादीले कारबाही गर्न नमिल्ने भन्दै उनी सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले सोमबार उनको पक्षमा अन्तरिम आदेश दिएको थियो । उनले गत जेठ २८ गते नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए ।
त्यसको जेठ २९ गते उनलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरिएको थियो । देवकोटालाई माओवादी संसदीय दलका नेताले २०८१ जेठ २९ गते स्पष्टीकरण सोधेको र ३१ गतेको पत्रबाट कारबाही गरिएको थियो । गएको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धनबाट देवकोटाले चुनावमा भाग लिएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij