२०८२ भाद्र ७ गते शनिवार
अजिमाको अर्थ
अजिमा हिन्दू एवं बौद्ध धर्मालम्बीहरू द्वारा समान रूपमा पुजिने मातृ देवी हुन् । नेपाल भाषामा अजिमाको नामले पुजिने यस देवीको अर्थ नेपाली भाषामा मातृका हुन्छ । मातृकालाई नेपालीमा बज्यैको नाममा पनि पुकारिन्छ ।
नगरको रक्षार्थ अजिमा
वंशावली का अनुसार कलिगत संवत् ३८२५ मा काठमाडौँ नगर निर्माण गर्दा राजा गुणकामदेवले देशको रक्षाका निम्ति नगरको चारैतिर अजिमा स्थापना गरेका हुन् । उनले स्थापना गरेका अजिमाहरुमा लुमडी अजिमा, कङ्ग अजिमा, म्हेपी अजिमा, मैती अजिमा, तकती अजिमा, ङेतमरु अजिमा, बछला अजिमा र लुती अजिमा पर्दछन् । उनले अजिमा स्थापना गरी खटजात्रा समेत चलाए ।
म्हय् पि अजिमा अर्थ र उत्पत्ति
‘म्हय्’ भनेको नेपाल भाषामा ‘शरीरमा’ र ‘पी’ भनेको पीठ भन्ने अर्थ लाग्दछ । त्यसैले ‘म्हय्पी’ भन्नाले ‘शरीरमा पीठ’ भन्ने बुझिन्छ । म्हय् पि एउटा पवित्र शरीरबाट उत्पन्न भएको र यसै मन्दिरको नामबाट यस त्यस स्थानको नाम ‘म्हय् पि’ रहन गएको हो भन्ने कुरा पढ्न पाइन्छ । काठमाडौँको १२ शक्तिशाली अजिमामध्ये म्हय्पी अजिमा (ज्ञानेश्वरी) पनि एक हो । उपत्यकाका अन्य अजिमाहरूमा हारती अजिमा (स्वयम्भु, बौद्ध) अन्नपुर्ण अजिमा (असन, काठमाण्डौ), लुंमरी अजिमा (भद्रकाली), कंङ्ग अजिमा (कंकेश्वरी), लुती अजिमा (इन्द्रायणी), म्हय् पि अजिमा (ज्ञानेश्वरी), मैति अजिमा (मैतीदेवी), तकति अजिमा (नीलबाराही), ङतभुलु अजिमा÷न्यतभुलु अजिमा(नरदेवी), फिसः अजिमा (भद्रकाली र माइतिघर बिचमा), पासिक्व अजिमा (कमलादी, काठमाडौं), नै अजिमा (ब्रम्हटोल, काठमाडौं), कुलांभुलु अजिमा (रक्तकाली, काठमाडौं), लुचुँभुलु अजिमा, न्हेकंतला अजिमा, ज्वलभुलु अजिमा (त्यौड, असन), भयलु अजिमा (कमलाक्षी), मचली अजिमा (मचली,टेकू), लगं अजिमा (लगनटोल), अरिं अजिमा÷चिकंमु अजिमा, कुशा अजिमा÷ कुना शा अजिमा, र प्वर्पा अजिमा रानिबारी रहेका छन् ।
शक्ति पीठको रुपमा म्हय् पि (ज्ञानेश्वरी) अजिमा
लाजिम्पाटरातो मच्छिन्द्रनाथको पूर्वजन्म नै म्हय्पीमा भएको थियो भन्ने विश्वास गरिन्छ । लगभग ३०० वर्ष अघिदेखि नै भक्तहरू आफ्नो मनोकाङ्क्षा पूरा गर्ने हेतुले यस मन्दिरको देवलाई गोप्य देवताको रूपमा मानेर यहाँ योग ध्यान साधना गर्न आउँथे भन्ने भनाई प्रचलनमा रहेको छ । स्वम्यम्भूका शान्तिकर बज्राचार्य सधैँ म्हय्पी आउने गरेको र यहाँ आएर अष्टमातृकाहरूसँग सम्वाद गर्ने गरेको जनश्रुति रहेको छ ।
म्हय् पिको माटो पवित्र
म्हय् पिको माटो निकै पवित्र मानिन्छ । त्यसैले, पाटनको रातो मच्छिन्द्रनाथ, सेतो मच्छिन्द्रनाथ, बाघभैरव, नाला करुणामय, चोभार करुणामय, विजेश्वरीको मूर्तिको मर्मत सम्भारका लागि यहाँकै माटो लाने चलन आजपनि छ ।
ल्हुतिपुन्हि, म्हय् पि अजिमा जात्रा र १५ मुरी समयबजी
ल्तुतिपुन्हिको अवसरमा म्हय्पि आजिमामा जात्रा गर्ने चलन राजा गुणकामदेवको पालादेखि चलको हो । ज्ञानेश्वरी अजिमाको मूख्य मूर्ति यस मन्दिरमा नरहेको मानिन्छ । काठमाडौँको तलाँछे भन्ने ठाउँमा म्हय् पि अजिमाको मूलघर रहेको र त्यहाँ नै म्हय् पि अजिमाको मुख्य देवताका मूर्ति रहेको विश्वास गरिन्छ । प्रत्येक चैत्र शुक्ल पूर्णिमाको राति उक्त देवमूर्ति यस मन्दिरमा ल्याउने गरेको र बज्रयान विधि अनुसार पुजा– आजा गर्ने चलन आजसम्म चलिआएको छ । पूजा अर्चना पश्चात् यसरी ल्याइएको मूर्ति पुनः तलाँछे को मुख्य मन्दिरमा पुर्याउनेगरिन्छ ।
ल्हुती पुन्हीको अवसरमा हुने जात्राको अवसरमा म्हय् पि अजिमाको विशेष सेवा पूजा गरिन्छ । यस जात्रामा पन्ध्र मुरीको समयबजी तयार गरी पूजा पश्चात् प्रसादका रूपमा वितरण गरिन्छ । मन्दिरको दक्षिणमा भगवान बुद्धको मूर्ति रहेकोले यो मन्दिर हिन्दू तथा बौद्ध धर्म दुवैको आस्थाको केन्द्र हो भन्न सकिन्छ । यस मन्दिरको व्यवस्थापन तथा संरक्षणका लागि २०५७ सालमा म्हय्पी संरक्षण तथा व्यवस्थापन समिति गठन गरिएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij