२०८२ मंसिर १३ गते शनिवार
काठमाडौं । अर्थसचिवको जिम्मेवारी मधुकुमार मरासिनीले पाएका छन् ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी मरासिनीलाई दिने निर्णय गरेको हो ।
अहिले अर्थ मन्त्रालयको सचिव रहेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालेको मुद्दामा अदालतले सफाइ दिएपछि मरासिनीलाई अर्थ मन्त्रालयको सचिवमा सरुवा गरिएको हो ।
पेमेन्ट गेटवे अनियमितताका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोजमा उनी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख हुँदा पेमेन्ट गेटवे प्रणाली खरीदका लागि २५ करोड रुपैयाँ विनियोजनका लागि भूमिका खेलेको अभियोग मरासिनीमाथि लागेको थियो ।
मुद्दा दायर भएसँगै उनी पदबाट निलम्बनमा परेका थिए । त्यति वेला मरासिनी उद्योग मन्त्रालयका सचिव थिए । अदालतले सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो ।
मरासिनीले लामो समय अर्थ मन्त्रालयका विभिन्न महाशाखामा बिताएका छन् । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको कार्यकालमा पनि उनी अर्थसचिव थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij