२०८२ मंसिर १३ गते शनिवार
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोखरा विश्वविद्यालय शिक्षण अस्पताल पोखरामा स्वास्थ्य प्रयोगशाला निर्माण गरि एक कार्यक्रमबीच हस्तान्तरण गरेको छ ।
शिक्षण अस्पतालमा आज (शुक्रबार) उक्त विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालको प्रमुख आतिथ्यतामा निर्माण सम्पन्न स्वास्थ्य प्रयोगशाला कामना सेवाले हस्तान्तरण गरेको हो ।
उपकुलपती अर्यालको समुपस्थितीमा कामना सेवा विकास बैंकका सञ्चालक बलराम बरालले विश्वविद्यालयका रजिष्ट्रार प्राडा दिपकबहादुर भण्डारीलाई उक्त प्रयोगशाला हस्तान्तरण गरेका थिए ।
उक्त कार्यक्रममा बोल्दै उपकुलपती अर्यालले विश्वविद्यालयको सर्वाङ्गीण विकास, कर्मचारीहरुले प्राप्त गर्ने बैंकिङ सेवामा कामना सेवा विकास बैंकको उत्कृष्ट योगदान दिँदै आएको बताए ।
विश्वविद्यालय स्थापनादेखि नै शिक्षण अस्पताल स्थापनाको सपना देखिएको भए तापनि हाल शिक्षण अस्पतालले एक शैय्याको सञ्चालन अनुमती प्राप्त गरिसकेको जानकारी गराए ।
अनुमती प्राप्त गर्नको लागि अनिवार्य आवश्यक भएको उक्त स्वास्थ्य प्रयोगशाला निर्माण गरिदिएकोमा बैंक परिवारलाई धन्यवाद व्यक्त गरे ।
सोही कार्यक्रममा बोल्दै विश्वविद्यालयका रजिष्ट्रार प्राडा दीपकबहादुर भण्डारीले बैंकले आफ्ना विभिन्न कार्यक्रमहरुमा विश्वविद्यालयलाई पु¥याएको योगदानको कदर गरेका थिए ।
उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै कामना सेवा विकास बैंकका संचालक बलराम बरालले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विश्वविद्यालयसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे ।
विश्वविद्यालयको शैक्षिक विकास, कर्मचारीहरुको वित्तीय पहुँच तथा वित्तीय सेवा, सामाजिक सेवा तथा विद्यार्थीहरुको शैक्षिक भविष्यको साझेदार बन्न पाएकोमा बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले खुसी व्यक्त गरे ।
साथै, प्रमुख कार्यकारी अधिकृत थकालीले आगामी दिनहरुमा विश्वविद्यालयसँग साझेदारी गर्दै अन्य कार्यक्रमहरुमा समेत साझेदारी गर्ने समेत बताए ।
कार्यक्रम शिक्षण अस्पतालका निर्देशक डा.दिपेन्द्र यादवको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा विभिन्न संकायका डिन, निर्देशक तथा बैंकका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रमका बिच कामना सेवा विकास बैंक र पोखरा विश्वविद्यालयबीच वित्तीय सेवा सुविधा प्रदान सम्बन्धी औपचारीक समझदारीपत्रमा समेत हस्ताक्षर गरिएको छ ।
उक्त समझदारीपत्रमा विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार प्राड दीपकबहादुर भण्डारी र बैंकको तर्फवाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।
उक्त समझदारी पश्चात विश्वविद्यालयका प्राध्यापक, कर्मचारीहरुलाई बैंकले सहुलियत रुपमा विभिन्न अत्याधुनिक वित्तीय सेवा प्रदान गर्नेछ ।
हाल पोखरा विश्वविद्यालयले देशैभरका विभिन्न ५८ वटा क्याम्पसहरुलाई सम्वन्धन प्रदान गरि उक्त क्याम्पसहरु तथा विश्वविद्यालयको केन्द्रीय क्याम्पसवाट विभिन्न २६ वटा कार्यक्रममा अध्यापन गराउदै आएको छ ।
हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।


© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij