Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

किसान हर्षित

दुई महिनामै सुन्तलाले पायो तीन गुणा बढी मूल्य

दुई महिनामै सुन्तलाले पायो तीन गुणा बढी मूल्य


  • 2.7K
    Shares

    दुई  महिनामै सुन्तलाले पायो तीन गुणा बढी मूल्य
    images

    तेह्रथुम । हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा राखेपछि किसानले दुई महिनामै तीन गुणा बढी मूल्य पाएका छन् । म्याङलुङ–९ साब्लामा सञ्चालित मेयङलुङ शीतभण्डारमा हिउँदमा सुन्तला भण्डारण गर्दा प्रतिकिलो रु ६० थियो ।

    अहिले प्रतिकिलो रु दुई सयले बिक्री भइरहेको छ । कोशी प्रदेश सरकारको रु तीन करोड, म्याङलुङ नगरपालिका र कियाचु कृषि सहकारी संस्थाको रु एक करोड ३० लाख साझेदारीमा म्याङलुङ–९ साब्लामा एक हजार मेट्रिक टनको शीतभण्डार सञ्चालनमा छ ।

    प्रतिकेजी दुई रुपैयाँ ५० पैसा प्रतिमहिना भाडा तिरेर माघको अन्त्यतिर शीतभण्डारमा राखेको दुई महिनामै स्थानीय बजारमा सुन्तलाले तीन गुणा बढी मूल्य पाउँदा किसानलाई फाइदा भएको म्याङलुङ-२ की मेनुकाकुमारी श्रेष्ठले बताए ।

    “हिउँदमा सुन्तला बिक्री नभएर बगानमै कुहिने अवस्था थियो । बिक्री भइहाले पनि रु ५० किलो व्यापारीले मागिरहेका थिए । अहिले तीन गुुणा बढी मूल्य पायो हामी खुसी छौँ", श्रेष्ठले भने । यसअघि शीतभण्डारमा भण्डारणको अनुभव नभएकाले बिग्रिने हो की भनी डराइडराइ सुन्तला भण्डारण गरेको म्याङलुङ–२ का मोतीराज तुम्बाहाङ्फे बताए ।

    “साथीहरुले बिग्रिन्छ नराख भन्दै थिए तर भण्डारणको समयमा कटिङ र लेबलिङमा ध्यान दिने हो भने नबिग्रिने रहेछ”, उनले भने । विसं २०७० मा दर्ता भएको कियाचु कृषि सहकारीमार्फत मेयङलुङ शीतभण्डार गत सालदेखि सञ्चालित छ ।

    किसानमा शीतभण्डारको उपयोगिताको बारेमा थाहा नभएकाले किसानसँग छलफलमा रहेको शीतभण्डारकी व्यवस्थापक कुमारी लिम्बूको भनाइ छ । यस वर्ष शीतभण्डारमा किवि तीन हजार किलो, सुन्तला दुई हजार किलो भण्डारण गरिएको छ ।

    अब आलुको बीउ भण्डारणको तयारी भइरहेको व्यवस्थापक लिम्बूको भनाइ छ । हिउँदमा खान पाइने सुन्तला चैत वैशाखमा किनेर खान पाएकोमा स्थानीय उपभोक्ता समेत खुसी छन् । -रासस

    प्रकाशित मिति :बैशाख १ २०८१ शनिवार - १२:५३:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij