२०८२ माघ १२ गते सोमवार
काठमाडौं । ग्रीष्मयामको आरम्भसँगै समशीतोष्ण इलाम–२ सुस्तरी गर्माएको छ । वातावरणीय प्रभाव राजनीतिमा हाबी भएपश्चात् अनेकन् दलहरू आपसमा तातेका छन् ।
सात महिनायता इलाम–२ रिक्त छ । रिक्त निर्वाचन क्षेत्रको पदपूर्तिका लागि निर्वाचन हुँदैछ । सोही प्रयोजनाका लागि दलहरू आ–आफ्ना उम्मेदवार चुनावी मैदानमा उतार्दैछन् । पूर्वसंविधानसभा अध्यक्ष एवं उक्त निर्वाचन क्षेत्र नेकपा (एमाले)का प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएको थियो ।
संविधानको धारा ८४ को उपधारा (७) मा प्रतिनिधि सभा सदस्यको स्थान रिक्त भए उपनिर्वाचन गराउनुपर्ने कानुनी व्यवस्था छ । सोही अनुसार निर्वाचन अयोगले आसन्न बैशाख १५ मा उपनिर्वाचन गराउँदैछ । निर्वाचनमा भाग लिन नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) होमवर्क गर्दैछ भने एमाले, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार मैदामा उतारिसकेका छन् ।
सुहाङ केन्द्रका शीर्ष नेताहरूसहित चुनावी प्रचारप्रसारमा
सुवासचन्द्र नेम्वाङ पुत्र सुवाङलाई एमालेले उम्मेदवार बनाएको छ । ३२ वर्षीय उनी कानुनी व्यवसायी पनि हुन् । यसअघि राजनीतिमा निश्क्रिय तर एमालेमा आवद्ध सुहाङ उपनिर्वाचनमा भिड्दैछन् ।
सुवासले निरन्तर हाँक्दै आएको इलाम–२ पुत्र सुहाङले हाँक्न सक्छन् वा सक्दैनन् ? यो सवालको जवाफ बैशाख १५ पछि आउने नै छ । तथापि उनीमा इलामेलीले प्रशस्त सम्भावना भने देखेका छन् ।
सुहाङ एमालेबाट उम्मेदवार बनेलगत्तै इलाम पुगेका थिए । उनले त्यहाँ जिल्ला कमिटीलगायत पार्टीनिकट भातृ संगठनहरूसँग छलफल गरिसकेका छन् भने उप्रान्त चुनावी मैदानमा कसरी जाने भन्नेबारे सघन छलफल गरिसकेका छन् ।
छलफल सकाएर सुहाङ चुनावी प्रचारप्रसारका लागि पार्टीका विभिन्न भातृ संघ–संगठन परिचालन गरिरहेका छन् भने आफू पनि प्रचारप्रसारमै छन् । इलाममा उनले जनभेटघाटलाई तीव्रता दिएको पूर्वसभामुख एवं एमाले सांसद शिवमाया तुम्बाहाम्फेले बताइन् ।
उनका अनुसार, ‘सुहाङ लगायतका पार्टीका नेतृत्वदायी भूमिकामा रहेका नेताहरूसमेत प्रचारप्रसारमा छन् । उनलाई चुनावी प्रचारमा सघाउन केन्द्रदेखि जिल्ला हुँदै स्थानीय तहका नेता तथा कार्यकर्ता सक्रिय रहेका छन् । हालसम्म उनको जिल्लामा राम्रो प्रभाव रहेको पाइएको छ । सुवासको प्रभावले सुहाङलाई थप सहज बनाएको छ ।’
उम्मेदवार घोषणा भएलगत्तै उनले बाबुको सपनालाई साकार पार्ने प्रतिबद्धता गरेका छन् । यसका साथै उनले पार्टी र इलामेली जनातलाई निराश नबनाउने दाबी गरेका हुन् । एमालेले भने सुवास पुत्र मात्रै नभएर युवालाई समेत अवसर दिएको बताएको छ ।
निर्वाचनका लागि जिल्लाबाट सुहाङ नेम्वाङ, रवीन्द्र सुवेदी, डा.देवी क्षेत्री, बुद्धिप्रसाद खनाल, नरेन्द्रनाथ भट्टराई र रिम्पल राईको नाम सिफारिस गरेको थियो । तर, एमालेले अन्ततः सुहाङलाई उम्मेदवार छनोट गरेको छ ।
जिल्ला निर्वाचन कार्यालय इलामका निर्वाचन अधिकारी देवचरण फूँएलका अनुसार जिल्लामा कुल दुई लाख २५ हजार ८० जना मतदाता संख्या छ । जसअन्तर्गत महिला एक लाख नौ हजार २० छन् भने पुरुष एक लाख १६ हजार ५८ छन् । त्यस्तै अन्य दुई जना छन् ।
त्यसैगरी बझाङ–१ (क) नौ महिनायता रिक्त छ । उक्त निर्वाचन क्षेत्रबाट २०७९ मंसिरको निर्वाचनमा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए । उनको सवारी दुर्घटनामा गत असार ५ मा निधन भएको थियो ।
त्यहाँ पनि उपनिर्वाचन हुँदैछ । निर्वाचनका लागि एमाले र एकीकृत समाजवादीले आफ्नो उम्मेदवार टुंग्याइसकेका छन् । एमालेले दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ । उनी उम्मेदवार बनेसँगै चुनावी प्रचारप्रसार खटेका छन् भने एकीकृत समाजवादीले इलाममा जीतबहादुर राई र बझाङमा दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ । उनीहरू पनि प्रचारप्रसारमै छन् ।
मिलन लिम्बू इलाममा, भर्खरै उम्मेदवार घोषणा
एक दशकभन्दा बढी समय पत्रकारीता गरेका मिलन पनि युवा नै हुन् । उनले देशका विभिन्न टेलिभिजन र अनलाइन पत्रकारीता गर्दै आएका थिए । पछिल्लो समय उनी दृष्टि साप्ताहिक पत्रिकाको अनलाइन संस्करणका सम्पादक थिए ।
मिलन पनि इलाम–२ को उपनिर्वाचनमा होमिएका छन् । यसअघि स्वतन्त्र उम्मेदवारको चर्चा भए पनि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उम्मेदवार बनेका छन् । उनको उम्मेदवारी आधिकारिक रूपमै शनिबार घोषणा भएको छ ।
यसअघि रास्वपाले निर्वाचनका लागि अनलाइन आवेदन खुल्ला गरेको थियो । तथापि उसले अनलाइन तथा बाहिरबाटसमेत उम्मेदवार छनोट गर्यो । जसअन्तर्गत मिलन लिम्बू, गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रबहादुर थापा, मानबहादुर घिमिरे र डा.शेषरमण न्यौपानेको नाम छनोट गरेको थियो । तर, अन्तिममा मिलन छनोटमा परेका छन् ।
उनलाई इलाम–२ का जनताले पत्याएमा संघीय संसद्मा पुग्नेछन् । अन्यथा पुनः पत्रकारितामा फर्किन पनि सक्छन् । किनकि यसअघिको उनको पुष्ठभूमि पत्रकारिता हो । यसबाहेक उनी सक्रिय राजनीतिमा थिएनन् ।
अब रास्वपामा सक्रिय हुनसक्ने पनि आकलन गरिएको छ । उनी यसअघि नेकपा (माओवादी केन्द्र) निकट पत्रकार संगठन प्रेस सेन्टरको केन्द्रीय सचिव थिए । उनी रास्वपाको उम्मेदवार बनेसँगै माओवादीले हटाइसकेको छ ।
कांग्रेस र माओवादी केन्द्र गृहकार्यमा
नेपाली कांग्रेस पनि इलामको चुनावी मैदानमा उत्रिनका लागि तयारी गरिरहेको छ । उसले आन्तरिक गृहकार्य गरिएको छ । पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार जिल्लाबाट उम्मेदवारका लागि सिफारिस गर्न आह्वान गरिएको थियो । त्यसअनुसार पार्टीका साथीहरूले छलफल गरिरहनु भएको छ ।
‘एक चरण काठमाडौंमा पुगेर साथीहरूले छलफल गर्नु भएको छ । सभापतिज्यूले उहाँहरूलाई थप तयारी गरेर आउन आग्रह गर्नुभएको छ । सोही अनुसार केही दिनमै आउनुहुन्छ । त्यसपछि हामी उम्मेदवार छनोट प्रक्रियामा लाग्नेछौँ,’ प्रवक्ता महतले भने ।
त्यस्तै नेकपा (माओवादी केन्द्र)ले पनि उम्मेदवार छनोटका लागि छलफल गरिरहेको बताएको छ । उसले एकै चरणमा उम्मेदवार टुंग्याउने बताएको छ । पार्टी महासचिव देव गुरुङले दिएको जानकारी अनुसार निर्वाचन आयोगले उम्मेदवारी दर्ता आह्वान गर्नुपूर्व माओवादी केन्द्रले उम्मेदवार तय गर्न सक्नेछ । यद्यपि कांग्रेस र माओवादी केन्द्र उम्मेदवार छनोट प्रक्रियामै छन् ।
निर्वाचन आयोगले उपनिर्वाचनका लागि इलाम–२ र बझाङ–१ (क) मा यहीँ चैत २४ गते उम्मेदवारी दर्ता आह्वान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij