Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

कोभिड-१९  नियन्त्रण र खोपका लागि विश्व बैंकले नेपाललाई ७.५ करोड अमेरिकी डलर  दिने

कोभिड-१९  नियन्त्रण र खोपका लागि विश्व बैंकले नेपाललाई ७.५ करोड अमेरिकी डलर  दिने


  • 6.3K
    Shares

    कोभिड-१९  नियन्त्रण र खोपका लागि विश्व बैंकले नेपाललाई ७.५ करोड अमेरिकी डलर  दिने
    images

    काठमाडौं । विश्व बैंकले नेपाललाई ८.७ अर्ब रुपैयाँ कोरोना खोप र माहामारी नियन्त्रणको लागि सहयोग गर्ने भएको छ ।

    बैंकका  कार्यकारी निर्देशक बोर्डले नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिड विरूद्धका खोपहरूको समतामुलक वितरणमा सहयोग पुर्‍याउन अन्तर्राष्ट्रिय विकास संघ (आईडा) मार्फत ७.५ करोड अमेरिकी डलर (करिब ८७ अर्ब नेपाली रूपैँया) बराबरको वित्तिय सहयोग अनुमोदन गरेको छ । यस वित्तिय सहयोगद्वारा कम्तिमा एक तिहाई जनसंख्यासम्म खोप को सुविधा विस्तार गर्न सकिने अपेक्षा गरिएको छ ।

    “यस महामारीले हाम्रासामु विशाल चुनौति र अनिश्चित वातावरण खडा गरेको छ, विशेष गरी खोपको खरीद, आपूर्ति र वितरणको सन्दर्भमा,” माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले भने । “ कम्तिमा ७२ प्रतिशत जनतालाई खोप दिने सरकारको महत्वाकांक्षी योजनालाई सघाउनका लागि हामीले चालेको यस शिघ्र कदम नेपाल र विश्व बैंकको बलियो साझेदारीको प्रमाण हो ।” गत वर्ष चैतमा विश्व बैंकद्वारा स्विकृत गरिएको २.९ करोड अमेरिकी डलर (३.३ अर्ब नेपाली रूपैँया) बराबरको कोभिड-१९ आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी मुल आयोजना तथा सरकारको समग्र कोभिड-१९ प्रतिकार्यमा विकासका अन्य साझेदारहरुको सुनिश्चित सहयोगको सन्दर्भमा टेकेर यस अतिरिक्त वित्त सहयोग आएको हो । 

    यस सहयोगको अधिकांश हिस्सा (९० प्रतिशत) कोभिड-१९ का खोपहरूको खरिद र कोभ्याक्स सुविधामार्फत प्राथमिकतामा परेका २० प्रतिशत जनसङ्ख्या बाहेकका अन्य समुहमा खोप विस्तार गर्नमा परिचालित हुनेछ । बाँकी रकमले कोभिड-१९ खोपका पहलहरूलाई सघाउन र कोभिड-१९ सँग सम्बन्धित आपूर्तिहरू जस्तै निदान परीक्षणहरु, प्रयोगशाला उपकरणहरू र चिकित्सकीय सामग्रीहरू खरिद गर्न मद्दत पुर्‍याई नेपालको स्वास्थ्य प्रणालीलाई सुदृढ पार्न सहयोग गर्नेछ ।  

    “यो सहयोग नेपाली जनताका लागि शारीरिक स्वास्थ्य र नेपाल राष्ट्रका लागि आर्थिक स्वास्थ्यको रक्षा गर्न निकै महत्वपूर्ण हुनेछ,” विश्व बैंकको स्वास्थ्य, पोषण र जनसंख्या सम्बन्धी विश्वव्यापी अभ्यास अन्तर्गत दक्षिण एशियाका लागि अभ्यास प्रबन्धक, गेल रिचर्डसनले भने। “कोभिड-१९को अनुमोदित खोपको पहुँच सबैभन्दा जोखिममा रहेका समुदायमा द्रुत र न्यायसंगत रूपमा विस्तार गर्नाले जनसंख्याव्यापी प्रतिरक्षा सुनिश्चित हुन्छ, जुन कोभिड-१९को विनाशकारी प्रभावबाट उत्थानशिल पुनर्लाभ प्राप्त गर्नका लागि मुख्य शर्त हो ।”

    नेपालको लागि यो अतिरिक्त वित्तपोषण दक्षिण एसियाली राष्ट्रहरूमा कोभिड-१९ खोप सहयोगका लागि पहिलो चरणमा स्विकृत भएका तीन परियोजना मध्ये एक हो।  यस्तै विश्व बैंकको बोर्डले आईडा मार्फत बंगलादेशका लागी ५० करोड अमेरिकी डलर र अफगानिस्तानका लागी ६ करोड अमेरिकी डलर (अफगानिस्तान रिकन्स्ट्रक्सन ट्रष्ट फन्डको ५ करोड डलर र इनर्जी म्यानेजमेन्ट सहयोग कार्यक्रमको ३० लाख डलर सहयोग सहित) अनुमोदित गरेको छ ।  यस वित्तिय सहयोगका अतिरिक्त विश्व बैंकले दक्षिण एसियाका देशहरूमा न्यायसंगत, निश्पक्ष र समतामुलक खोप वितरणको रणनीति डिजाइन र कार्यान्वयनका विविध पक्षहरूमा प्राविधिक सहयोग र ज्ञान साझेदारी कार्यशालाहरू पनि प्रदान गर्दैछ ।

    विकासशील देशहरूका लागि आर्थिक कोष र ज्ञानको सबैभन्दा ठूलो स्रोतका रूपमा रहेको विश्व बैंकले विकासशील देशहरूलाई यस महामारीका स्वास्थ्य सम्बन्धी, सामाजिक र आर्थिक असरहरू विरुद्धको प्रतिकार्यमा सघाउन विस्तृत तथा द्रुत कार्यक्रम अगाडि बढाएको छ। यस अन्तर्गत कम तथा मध्यम आय भएका देशहरूमा कोभिड-१९ का खोपहरूको खरिद, वितरण, परिक्षण र उपचारमा सहयोग गर्नका साथै खोप प्रणालीको सुदृढीकरणका लागि विनियोजित १२ अर्ब डलर रकम समेत पर्दछ ।

    यस वित्तिय सहयोग विश्व बैंक समुह स्तरिय बृहत कोभिड-१९ प्रतिकार्य अन्तर्गत पर्दछ जसले संसारभरका १०० भन्दा बढी देशहरूमा स्वास्थ्य प्रणाली सुदृढीकरण गर्न, अति विपन्न घरधुरीलाई सहयोग गर्न र सबैभन्दा मारमा परेका मानिसहरूका लागि जिविकोपार्जन तथा रोजगारीका अवसरहरू कायम राख्नका लागि सहयोगी वातावरणको सिर्जना गर्न सहयोग गरिरहेको छ । 

    प्रकाशित मिति :चैत्र ६ २०७७ शुक्रवार - ११:४४:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij