२०८२ माघ १२ गते सोमवार
काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । अर्यालले आज (बिहीबार) राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा दिएकी हुन् ।
कांग्रेस–माओवादी सत्तायात्रामा रोक लागेपछि एमाले–माओवादीले सत्ता गठबन्धन गरेका छन् । सत्ता गठबन्धन भएसँगै माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्ष लिने निर्णय गरेको थियो ।
उक्त निर्णयबमोजिम माओवादी केन्द्रकै राष्ट्रिय सभा सदस्य एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ नारायण दाहाल अध्यक्षमा निर्वाचित भएका छन् ।
अब राष्ट्रिय सभा उपाध्यक्षको पद सत्ता गठबन्धनकै अर्को कुनै दललाई दिनुपर्ने सम्झौता भएकोले अर्यालले राजीनामा दिएकी हुन् ।
सत्ता गठबन्धनका नेकपा (एमाले), माओवादी केन्द्र र रास्वपाबीच भएको लिखित सहमतिमा राष्ट्रिय सभा उपाध्यक्ष पद एमालेले लिने उल्लेख थियो ।
तर पछि गठबन्धनमा एकीकृत समाजवादी पनि सामेल भएपछि गरिएको नयाँ सहमति पत्रमा राष्ट्रिय सभा उपाध्यक्ष पदबारे केही कुरा उल्लेख गरिएको छैन । तथापि साझेदार दल एकीकृत समाजवादीले उपाध्यक्ष पाउने अड्कल भइरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij