२०८२ माघ १२ गते सोमवार
काठमाडौं । आसन्न बैशाख १५ मा हुने इलाम-२ को उपनिर्वाचनमा सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)ले जीतबहादुर राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यस्तै बझाङ-१ (क)मा दिलबहादुर सिंहलाई उमेदवार बनाउने निर्णय गरेको पार्टी प्रवक्ता जगनाथ खतिवडाले जानकारी दिए ।
उनले भने, ‘इलाम र बझाङको निर्वाचन क्षेत्रका लागि राई र सिंहलाई टिकट दिइसकेको छ । उहाँहरू आजै (बिहीबार) आ-आफ्नो निर्वाचन क्षेत्रमा जानुहुन्छ र प्रचारप्रसारमा केन्द्रित हुनुहुन्छ ।’
यद्यपि यसअघि पूर्व प्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई उक्त निर्वाचन क्षेत्रमा उम्मेदवार बनाउने हल्ला चलेको थियो । तर, गठबन्धनमा आवद्ध दलहरूले नै साथ नदिएपछि खनालले उम्मेदवारी दिनबाट पछि हटेको स्रोतको भनाइ छ ।
नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने उम्मेदवार छनोटका लागि आन्तरिक गृहकार्यमै छन् ।
यहीँ चैत ११ गते नेकपा (एमाले) सचिवालय बैठकले इलाम-२ का लागि सुहाङ नेम्वाङलाई उम्मेदवारी बनाउने निर्णय गरिसकेको छ । प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको गत भदौ २५ गते राति १ बजे निधन भएको थियो । उनको निधन भएसँगै इलाम-२ रिक्त छ । रिक्त पदपूर्तिका लागि उपनिर्वाचन हुँदैछ । सोही निर्वाचनका लागि एमालेले सुवास पुत्र सुहाङलाई उम्मेदवारी बनाएको छ ।
उपनिर्वाचनका लागि यहीँ चैत २४ गते उमेदवारी मनोनयनपत्र दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij