२०८२ माघ १२ गते सोमवार
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बिरामी भएकाले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडेको बताएका छन् । सुन तस्करी प्रकरणमा पक्राउ परेका उनी चार दिन नर्भिक अस्पतालमा उपचारपछि शुक्रबार छुटेका थिए ।
महरालाई हाजिरी जामानीमा छोडिएको भन्दै सरकारको आलोचना भइरहेका बेला उपप्रधानमन्त्री लामिछानेले यस्तो स्पष्टीकरण दिएका हुन् । बिरामी भएर ८–१० वटा औषधि दैनिक सेवन गरिरहेका महरालाई राज्यले करुणाभाव देखाएर हाजिरी जमानामा छाडेकाले त्यसलाई त्यसै छोडिएको भन्न नमिल्ने जिकिरसमेत गरे । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री लामिछानेले भनेको बेलामा उनलाई अनुसन्धानका लागि उपस्थित गराउने सक्नेगरी हाजिरी जमानीमा छाडिएकाले त्यसलाई अतिरञ्जित नगर्न पनि सबैलाई आग्रह गरे ।
उनले भने, ‘हो कहिलेकाँही मानवीय समवेदन र करुणाका कुराहरु छाउँछन् । कृष्णबहादुर महराका विषयमा कतिपय कुराहरु आइरहेका छन् । ८–१० वटा औषधि सेवन गरिरहनुभएको छ । अत्यन्त धेरै बिरामी हुनुहुन्छ । सम्मानित अदालतले पनि विरामी हुनुभएको कुरालाई इंगित गरेको छ । र कतिले उहाँलाई देखायो, छोड्यो भनेर तुरुन्तै निराशा जनाउन भएको छ । राज्य निर्मम पछि हुन्छ, कठोर पनि हुन्छ । तर राज्यसँग करुणा भएन भने त्यो अन्याय हुन जान्छ । त्यसैले अत्यन्त धेरै विरामी, अत्यन्त नाजुक स्वास्थ्य अवस्था भएको मान्छेलाई कसैको हाजिरी जमानीमा छोडिएको कुरालाई अतिरञ्जित गरिरहनु पर्दैन ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij