२०८२ माघ १२ गते सोमवार
काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से १५.३७ अंकले घटेर दुई हजार ४८.५७ विन्दुमा झरेको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७१ प्रतिशतले घटेको छ।
बिहीबार कारोबारमा आएका तीन सय १५ कम्पनीका एक करोड ८५ लाख ५२ हजार कित्ता सेयर चार अर्ब ३१ करोड ३० लाख १७ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। आज कारोबार रकममा वृद्धि भएको छ। बुधबार तीन अर्ब ४३ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।
नेप्सेका १३ समूहमध्ये ‘व्यापार’ समूह ०.६५ प्रतिशतले बढ्दा बाँकी सबै समूहको सूचक घटेका छन्। होटेल तथा पर्यटन र लघुवित्त समूह एक प्रतिशतभन्दा धेरैले घटेका छन्।
घटेको बजारमा धौलागिरि लघुवित्त र सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। किसान लघुवित्त र कर्णाली विकास बैंकको सेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ।
बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको मूल्यमा नकारात्मक सर्किट लाग्दा गोर्खा फाइनान्स र बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले घटेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij