२०८२ माघ १२ गते सोमवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा कार्यरत भारतीयका लागि बैंकिङ प्रणालीबाट भारतमा पैसा पठाउन दिने भएको छ।विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०८० मा संशोधन–थप गरी यस्तो व्यवस्था मिलाइएको हो।
राष्ट्र बैंकका अनुसार नेपालमा कार्यरत भारतीय नागरिकले दैनिक १५ हजार भारु भारतमा पठाउन पाउनेछन्। उनीहरुलाई प्रतिमहिना १ लाख भारु जम्मा हुने गरी पारिश्रमिकबापतको सटही सुविधा समेत प्रदान गरिने भएको छ।
‘नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलेको बैंक खाता आबद्ध विद्युतीय बैंकिङ (इबैंकिङ), अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ, क्युआर कोडमार्फत राष्ट्रिय भुक्तानी स्विचको माध्यमबाट भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा प्रतिदिन भारु १५ हजार र प्रतिमहिना १ लाख भारु जम्मा हुने गरी पारिश्रमिकबापतको सटही सुविधा प्रदान गर्न सकिनेछ’, राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ।
यस्तो सटही सुविधामा उपदफा १ र २ मा उल्लिखित सीमा समेत लागू हुने गरी सम्बन्धित बैंक तथा वित्तीय संस्थाले व्यवस्था मिलाउनुपर्नेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij