Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

यसरी भएको थियो हलेसी महादेव गुफाको उत्पत्ति

यसरी भएको थियो हलेसी महादेव गुफाको उत्पत्ति


  • 4.3K
    Shares

    यसरी भएको थियो हलेसी महादेव गुफाको उत्पत्ति
    images

    खोटाङ। हलेसी महादेव गुफाको उत्पत्ति प्रसङ्गको सन्दर्भमा विभिन्न कथा र किंवदन्तिहरू रहेका छन् । इतिहासका अनुसार हलेसी को नाम नेपाल एकीकरण हुनुअघि यस भूमिमा किराती राजा ‘होलैसुङ’ले शासन गरेका थिए । सोही शब्द अपभ्रंश भई ‘हलेसी’ बन्न गएको बताइन्छ ।

    स्थानियवासीका भनाइअनुसार पहिले सत्य युगमा हलेसी मन्दिर वरिपरि जङ्गल रहेकाले त्यहाँ बाघ, भालु घोरल मृग जरायो कालिज तित्रा आदि पशुपंक्षीहरू प्रशस्त मात्रामा पाईने र त्यस जङ्गलमा त्यसै गाउँका स्थानियवासी किराँत जातका मान्छेहरूले नै सिकार गर्ने र जिव जन्तुहरू मार्ने गर्दथे । त्यो बेलामा हलेसी गुफा लहराले जेलिएर रहेको अवस्थामा भएकाले यस गुफाका बारेमा कसैलाई थाह थिएन ।

    एक दिन एकजना किराँती सिकारीको बाण प्रहारबाट घाइते भएको मृग लडेर हलेसी महादेव गुफाभित्र खसेछ । त्यो मृग लिन जाँदा अँध्यारो गुफाभित्र चम्किलो बत्तिको जस्तो ज्योती देखेर सिकारीको आँखा तिरमिराएर सिकारी बेहोस भएछ । उक्त बेहोस भएको सिकारीलाई भगवान शङ्करले दर्शन दिए पछि यस गुफाभित्र अन्य देवि देवताको पनि उत्तपत्ती भएछ । यो देखेर त्यो सिकारीले त्यो मन्दिर आसपासका क्षेत्रमा कसैले पनि हत्या हिंसा नगर्नु भन्ने चेतावनी समेत दिएको भन्ने भनाइ रहेको छ ।

    पुरानो धार्मिक मान्यता अनुसार यी दूवै गुफाहरू महादेवले भस्मासुर राक्षस बाट बच्नको लागि खनेका हुन् भन्ने किमवदन्ति छ। भनिन्छ एक पटक भस्मासुरले महादेव को घनघोर तपस्या गरेछन् र महादेव खुशी भई वरदान माग भन्दा उनले ‘जसको थाप्लोमा म हात राख्छु त्यो चुर्णहोस’ भन्ने वरदान मागेछन् । माहादेवले पनि तुरुन्तै तथास्थु भनी वरदान दिएछन् । भस्मासुरले यो वरदान सद्दे छ कि यो हो कि होइन भनेर जाँच्न महादेव कै थाप्लोमा हात राख्न खोजेछन् ।

    महादेव डरले त्राही त्राही माम भएर भागेछन् । भस्मासुरले पनि छाडेन छन् । महादेव हलेसीको चट्टानै फोडेर जमीन भित्र पसेछन् र द्वारमा आफ्नो वाहन बसाहालाई पाले राखेछन् । बसाहाले युद्ध गरेर भस्मासुरलाई निकैवेर सम्म अलमल्याई दिएपछि । त्यतिन्जेल सम्ममा महादेव पहाड छिचोलेर आकाशमा निस्केछन् र नजीकै जमीन छेंडी पातालमा घुसेर लुकेछन । यसरी त्यहाँ बसाहाथान र महादेव थान दुइवटा गुफा बनेको प्रशंग आउँदछ ।

    हलेसी महादेव पतालको गुफामा लुकेपछि विष्णुले मोहनी रुपलिएर नृत्य गर्दै राक्षसलाई भुलाउन आएछन् । एउटी रुपवति आइमाई देखेपछि भस्मासुरले महादेवलाई भुलेछन् र उनकै जस्तो नाँच नाच्ने नक्कल गर्दा आफ्नै टाउकोमा हात राख्न पुगी उनी भष्म भएछन् । भष्म भएर रहेको हाडखोर भनी आज पनि च्यास्मिटार भन्ने गाउँमा भएको कालाकाला चट्टानलाई यहाँका आदिवासीहरू देखाउने गर्दछन् ।

    हिन्दूधर्म को श्री स्वस्थानी व्रत कथा अनुसार सतिदेवीले आफ्ना बाबु दक्ष प्रजापतिले एउटा ठुलो महायज्ञ गरे जुन यज्ञमा आफ्नै छोरी सतीदेवीलाई सम्म बोलाएनन र आफ्नो पिताले त्यस यज्ञमा नबोलाईकन पनि गईन । पिताको अपमान सहन नसकी सती देवीले तत्काल यज्ञस्थलमा नैं योज्ञाग्निमा स्वयंलाई लाई भस्म गरिदिइन्।

    यज्ञमा हामफालेर देह त्यागगरेको शरिरलाई महादेवले लिएर संसार डुलाउने क्रम मा यहाँ सतीदेवी अंगको दाहिने कुहुनो पतन भयो राज गृह पिठ राज ग्रिहेश्वरि देवी उल्का मुखी योगिनी हलेश्वर महादेव उत्पति भई शिव शक्ति सरुप ले रहेको पनि कथा मा पाइन्छ गुफासंग उपलव्ध कथा यस्तै छ । जुन गुफाको मुखमा बसाहलाई राखी महादेव आकाशमा निस्के भनिएको छ त्यो वारपार छिचोलिएको गुफालाई बसाहा थान भनिन्छ ।

    त्रि–धार्मिक स्थल किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको संगमस्थल ‘हलेसीधाम’ नेपालका थुप्रै तीर्थस्थल एवं पर्यटकीय स्थल मध्ये एक हो । ऐतिहासिक कालमा किरातहरूका पूर्वज खोक्चिलीप्पा, रैछाकुले, हेच्छाकुप्पा हलेसी गुफामा बसेको किंम्वदन्ती छ ।

    यहाँ बर्से्नि किरातको चाड उभौली–उधौलीको अवसरमा खोटाङ, भोजपुर, उदयपुर, ओखलढुंगा, सोलुखम्बु लगायतका किराती भेला भई आफ्ना पितृलाई पुज्ने गर्छन् । अर्का तिर हिन्दू धार्मिक किंम्वदन्ती अनुसार सत्य युगमा महादेव भाङ–धतुराले मातेर अर्धचेत भएको अवस्थामा भष्मासुर नाम गरेको राक्षसले ‘मैले जसको टाउकोमा हात राख्छु, त्यो जलेर भष्म होस्’ भन्ने वरदान मागे ।

    भाङमा लठ्ठ महादेवले पनि विचारै नगरी ‘तथास्तु’ भने । तर, वरदान पाएपछि भष्मासुर ले महादेवकै टाउकामा हात राख्न खोज्यो । भष्म हुने डरले महादेव भाग्दै जाँदा हलेसीको यसै डाँडालाई फोडेर चट्टानभित्र प्रवेश गरे र त्यहीँ अलप भए ।

    त्यसैले यहाँ महादेवको बास रहेको विश्वास गरिन्छ । त्यस्तै, बौद्ध धर्मानुसार यस भूमिमा सयौं वर्षअघि महान बौद्धगुरु पद्मसम्भवले वर्षौं तपस्य गरी बुद्धत्व प्राप्त गरेको पवित्र भूमि हो बौद्व धर्मावलम्बीहरू यस गुफालाई मरातिक गुफा नाममा एक पवित्र स्थान मान्दछन् । त्यसैले पनि यहाँ बर्से्नि किरात, बौद्ध तथा हिन्दू धर्मावलम्बी हजारौंको संख्यामा भित्रिन्छन् ।

    केहि वर्षअघि कच्ची सडक बाटोले जोडेपछि नेपालको पूर्वी पहाडी जिल्ला खोटाङमा अवस्थित हलेसी महादेवस्थान पुग्न लामिडाँडा विमानस्थलमै ओर्लिनुपर्ने बाध्यता हटेको छ ।

    अब भने धार्मिक तीर्थयात्रीको बाढी नै लाग्ने हलेसी पुग्न पूर्व पश्चिम राज मार्ग हुदै मिर्चैया ९कटारी सडक खण्डबाट पनि पुगिन्छ । भने अहिले मध्यपहाडी राजमार्ग बाट सिधै जयराम, बाहुनीडाँडा कदुवा च्यास्मिटार, बडहरे ,दुर्छिम छापडाँडा हुँदै हलेसी महादेव को दर्शन गर्न पुगिन्छ । यस मन्दिरमा विशेष गरेर शिवरात्रीका दिन भक्तहरूको निकै घुईंचो लाग्दछ ।

     

    प्रकाशित मिति :चैत्र २ २०८० शुक्रवार - १२:४४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij