Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

डाइनामिक पोइ !

डाइनामिक पोइ !


  • 6.9K
    Shares

    डाइनामिक पोइ !
    images

    दक्षिण एशियामा एउटा सानो देश छ । त्यो देशमा एउटा अचम्मको चलन विद्यमान छ । विवाहित होस् या अविवाहित, त्यहाँका आइमाईहरू जोसँग जतिबेला पनि पोइल जान र घर फर्कन पाउँछन् । अझ चाखलाग्दो कुरा त त्यहाँ एउटा मान्छेले जतिओटी पनि एकैचोटी घर भित्र्याउन र निकाल्न पाउँछ । बाँकी विश्वले यसलाई बडो चाख मानेर हेर्छन् ।

    सोही देशमा एउटा केटो बस्छ । स्वास्नीमान्छेहरूलाई कुराले प्रभावमा पार्न उ खप्पिस छ । यही क्षमताको बलमा अवश्यक पर्दा ऊ कहिले २/४ ओटी त कहिले ५/७ ओटीलाई एकैचोटी घरमा भित्र्याउँछ नपर्दा घर निकाला गर्छ ।

    यसरी धेरै स्वास्नी एकैचोटी भित्र्याउँदा सोही गाउँमा रहने आफूभन्दा बलिया र अग्ली दुईवटीलाई भने उसले कहिल्यै एकसाथ भित्र्याउँदैन । 

    – – –

    अचम्मको चलन भएको त्यो देशमा एउटा अनौठो फलको रुख छ । बाह्रैमास फलिरहने । फल निकै स्वादिष्ट । केही वर्ष पहिले केटोले त्यो रुखबाट झरेको फल भेट्टायो । फल निकै मिठो । केटो फलमा लट्ठियो ।

    अब ऊ त्यो फल नखाई रहन सक्दैन । आफू रुखमा चढेर खान पनि सक्दैन । फल भूईंमा पनि झर्दैन । चढ्न पर्यो रुख । रुख चढ्न चाहियो सहयोगी । सबैभन्दा भरपर्दौ सहयोगी भनेकै स्वास्नी हो । फलकै लागि उ स्वास्नीहरू भित्र्याउने र घरबाट निकाल्ने गरिरहन्छ ।

    – – –

    त्यो केटो किन ती अग्ली र बलिया दुई आइमाईहरूलाई एकैचोटी घर भित्र्याउँदैन  ? उसलाई डर छ, ती दुइटी मिलेभने फलको भान्छे हुन ऊ पाउँदैन । त्यतिमात्र होइन, फलै खान पाउँदैन । त्यसैले दुईवटीमध्ये एउटीलाई प्रभावमा पारेर ऊ थप स्वास्नीहरू भित्र्याइरहेछ र निरन्तर फलको भान्छे बनिरहेछ । केटोको यो धन्दा चलिरहेकै छ ।

    यसबाट दिक्क ती दुईले केटोलाई एकसाथ सोधेछन्– 'तिमी हामी दुईमध्ये कहिले एउटी त कहिले अर्कीलाई भित्र्याउने र निकाल्ने गरिरहन्छौ । यसो किन गर्छौ ?'

    केटोले जवाफ दिएछ– ‘डाइनामिक’ मान्छेले यसै गर्छ । केटोको जवाफ उनीहरुलाई ठीकै लागेछ ।

    उसैको कारण पालैपालो स्वादिष्ट फलको रसस्वादन गर्न पाएका ती दुई आइमाई 'डाइनामिक पोइ'को पटके स्वास्नी बन्न पाउँदा मक्ख छन् !

    (देशको पछिल्लो राजनीतिक घटनाक्रमले जन्माएको ‘डाइनामिक पोइ’मा प्रयुक्त भाषाको उद्देश्य कसैलाई पनि हेलाहोचो गर्नु रहेको छैन ।)

     

      

    प्रकाशित मिति :फाल्गुण २८ २०८० सोमवार - ०७:०६:५० बजे
    प्रतिक्रिया

    उत्तम कुमार श्रेष्ठ

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij