२०८२ भाद्र ७ गते शनिवार
काठमाडौंको चाबहिलस्थित चन्द्र विनायक मन्दिर एकपटक पुग्नैपर्ने महत्वपूर्ण धार्मिक एवम् पूरातात्विक स्थल हो । नेपालका प्रशिद्ध पाँच विनायक अर्थात् गणेश (चन्द्र विनायक, सूर्य विनायक, अशोक विनायक, जलविनायक, कार्यविनायक) मध्येका चन्द्र विनायकलाई ‘चाबहिल गणेश’ भनेर समेत चिनिने गर्दछ ।
यस ठाउँमा हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमा (सकिमना पुन्हि) देखि गणेश तथा भैरवको जात्रा लाग्ने गर्दछ । तीन शताब्दी भन्दा पूरानो यो जात्रा नेपाल संवत् ८०१ मा राजा भूपालेन्द्र मल्लले शुरुवात् गराएको मानिन्छ ।
चन्द्र विनायकको दर्शन तथा आराधना गर्नाले घाउ खटिरा एवं चर्म रोग निको हुने जनविश्वास रहिआएको छ । बालबालिकालाई केही भएमा चन्द्रविनायकको दर्शन एवं पूजा गराएमा ठीक हुन्छ भन्ने विश्वास गरिन्छ । गणेशको पूजा आराधना गर्नाले सुख, शान्ति, ऐश्वर्य र धनसम्पत्ति प्राप्त हुने विश्वासले धेरै भक्तजनहरू आउने गर्दछन् । विशेषगरी माघ महिनाका मंगलबार यहाँ मेलाजस्तै हुने गर्दछ ।
चावहिल गणेशलाई बौद्ध चैत्यमा अडेस लगाएर स्थापना गरिएको देखिन्छ । हाँडीगाउँबाट एकजना मान्छेले गणेशको मूर्ति चोरेको विषयसँग यसलाई जोडेर हेर्ने गरेको पाइन्छ । किम्वदन्तीअनुसार उक्त मूर्ति चोरलाई गाउँलेहरुले देखेर लखेट्दै जाँदा चावहिल पुगेपछि बौद्धविहारमा लुक्न पुगेको रहेछ । चोरलाई नदेखेर गाउँलेहरू त्यहाँबाट फर्किएपछि उसले गणेशले नै आफूलाई बचाएको भन्ने लागेर बौद्धविहारमा अडेस लगाई त्यहीँ स्थापना गरेका कारण यी गणेशको नाम चावहिल गणेश रहन गएको भन्ने किम्बदन्ती रहेको छ ।
चावहिल गणेशको मन्दिरको उत्तरतर्फ कुमारी देवी रहेकी छिन् । उनलाई अन्य कुमारीभन्दा प्रसिद्ध मानिन्छ । यस मन्दिरमा अवस्थित भैरवको अगाडि क्षेत्रपाल वेताल छ ।
यस्तो प्रख्यात मन्दिर अहिले संसक्षणको पर्खाइमा रहेको देखिन्छ । प्राचीनकालदेखि चल्दै आएको विशेष महत्वको गणेशको जात्रा युवापुस्ताको सहभागिता अभावमा बिस्तारै लोप हुने अवस्थामा पुगेको छ । यस वरपर ठूलाठूला घर बनिसकेकाले दर्शनार्थी तथा भक्तजनहरूको उपस्थितिलाई धान्ने ठाउँको अभाव रहेको छ । गणेशको मन्दिरमा २०७२ सालको भूकम्पले क्षति गरेपछि जीर्णोद्धार गरिए पनि वरपर व्यापार गर्नेले कब्जा जमाइसकेका छन् । यो मन्दिर पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहेको छ ।
गणेश शब्दले गण हरूका देवता भन्ने जनाउँदछ । गणेशको वाहन छुचुन्द्रो हो भने उनको आसनमा नागले बेठन मारेको हुन्छ । गणेशसहस्रनामावलीमा गणेशका एक हजार नामहरूको चर्चा गरिए पनि उनलाई सुमुख, एकदन्त, कपिल, गजकर्ण, लम्बोदर, विकट, विघ्नाश, विनायक, धूम्रकेतु, गणाध्यक्ष, भालचन्द्र र गजानन गरी मुख्यतया १२ वटा नामले पुकारिन्छ ।
‘न ऋते त्वत्क्रियते किञ्चनारे’ अर्थात् तिमीबिना कुनै पनि कर्म प्रारम्भ हुँदैन भनेर ऋग्वेद (१०।११२।९) ले गणेशको सर्वप्रथम पूजा हुनुपर्ने कुरा उल्लेख गरेको पाइन्छ । शिवजीले गणेशलाई ‘त्वमर्चनीयः प्रथमं प्रयत्नात्’ अर्थात् ‘कुनै पनि सत्कार्य गर्दा पहिला तिम्रो पूजा नगरी सिद्धि नहोस्’ भनी वरदान दिएका थिए । त्यसैले जुनसुकै कर्म गर्दा कुनै बाधाव्यवधान नपरोस् र ती काम निर्विघ्नतापूर्वक सम्पन्न हुन सकून् भन्ने हेतुले गणेशजीको सर्वप्रथम पूजा गर्ने गरिन्छ ।
नेपालका प्रशिद्घ विनायकहरूमध्ये चार काठमाडौं उपत्यकाभित्रै रहेका छन् । सूर्यविनायक भक्तपुरमा, अशोकविनायक काठमाडौंको मरूमा, कार्यविनायक ललितपुरको बुङ्गमतीमा र जलविनायक काठमाडौंको चोभारमा अवस्थित छन् ।
नेपालका प्रशिद्ध विनायकहरूमध्ये चार काठमाडौं उपत्यकाभित्रै रहेका छन् । सूर्यविनायक भक्तपुरमा, अशोकविनायक काठमाडौंको मरूमा, कार्यविनायक ललितपुरको बुङ्गमती रहेका छन् भने जलविनायक मन्दिर काठमाडौंको चोभारमा अवस्थित छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij