Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

अमेरिकाबाट रेखा थापा भन्छिन् : ‘उपहार’ले समाज जोड्छ (अन्तरवार्ता)

अमेरिकाबाट रेखा थापा भन्छिन् : ‘उपहार’ले समाज जोड्छ (अन्तरवार्ता)


  • 3.8K
    Shares

    अमेरिकाबाट रेखा थापा भन्छिन् : ‘उपहार’ले समाज जोड्छ (अन्तरवार्ता)

    अभिनेत्री रेखा थापा पाँच वर्षपछि फिल्म ‘उपहार’मार्फत दर्शकमाझ आउँदैछिन् । फागुन २५ गतेबाट रिलिज हुने ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको अहिले प्रचारप्रसार चलिरहेको छ ।

    अभिनेत्री रेखा पहिलो सन्तानलाई जन्मदिन परिवारसहित अमेरिकामा छिन् । उनले अमेरिकामै बसेर फिल्मको प्रचारप्रसार गरिरहेकी छन् । यसै परिप्रेक्ष्यमा रेखासँग ‘उपहार’का बारेमा नेपाल न्यूज बैंकका लागि नेमिष गौतमले गरेको कुराकानीको सारसंक्षेप

    तपाईंको स्वास्थ्य अवस्था कस्तो छ ?

    अहिले राम्रो छ । आफ्नो स्वास्थ्यको राम्ररी हेरचाह गरिरहेकी छु । परिवारले पनि राम्रो ख्याल गरिरहनुभएको छ ।

    जीवनमा पहिलोपटक मातृत्वको अनुभव लिँदै हुनुहुन्छ । कस्तो अनुभव हुँदोरहेछ ?

    केही डर, नर्भस र केही उत्साह छ । पहिलो पटकको अनुभवले पनि यी कुरा एक महिलाको जीवनमा आउँदा रहेछन् । तर पनि म खुशी छु । किनकी अब नयाँ अनुभव संगाल्ने दिन नजिकिँदैछ ।

    फिल्म ‘मालिका’ रिलिजको पाँच वर्षपछि दर्शकमाझ अभिनेत्रीका रुपमा फिल्म ‘उपहार’मार्फत पुनः आउँदै हुनुहुन्छ ? डर वा उत्साह ?

    मैले यो बिचमा अभिनेत्रीकै रुपमा फिल्ममा त काम गरिनँ । तर एक दुईवटा फिल्मका गीतमा केमियो गरें । फिल्ममा काम गर्ने सोच त थियो तर बीचमा कोभिड महामारीको लकडाउनले त्यो सोचलाई मूर्त रुप दिन सकिनँ । आधा दशकपछि दर्शकमाझ अभिनयमार्फत आउन पाउँदा निकै रोमाञ्चित छु ।

    ‘उपहार’ के हो ?

    आम दर्शकको बुझाईबाट हेर्दा ‘उपहार’ अमूल्य चिज हो । जसको मूल्य हुँदैन । दर्शकका लागि ‘उपहार’ पनि अमूल्य चिज नै हो । फिल्म दर्शकको मन मस्तिस्कमा बस्नेगरी लेखिएको र बनाइएको छ ।

    नेपाली फिल्म नियमित हेरिरहनु हुने दर्शकले हाम्रो फिल्म हेर्नु नै हुन्छ । कहिल्यै नेपाली फिल्म नहेर्ने दर्शकले पनि ‘उपहार’लाई एकपटक अवश्य हेर्नुहुन्छ । फिल्म आम समुदायले हेर्नुपर्छ । हामीले फिल्ममा एक समस्यालाई उठान गरेका छौं ।

    फिल्म ‘मालिका’ बनाइरहँदा अलिक गल्ती गरियो कि भन्ने थियो । तर त्यो फिल्मले मलाई ‘मोटिभेट’ पनि उत्तिकै गरेको थियो । ‘उपहार’ हेरिरहँदा आम मानिसले नयाँ उर्जा पाउँछन् ।

    नेपाली फिल्ममा एउटै विषयवस्तु मात्र भयो भन्ने पहिल्यै देखिको आरोप सुन्दै र भोग्दै आएका छौं । अधिकांश फिल्म रोनाधोना किसिमका भए भन्ने पनि सुनेका हौं ।

    ‘नेपाली फिल्ममेकरले फिल्म बनाउने अरु विषयवस्तु पाउँदैनन् कि क्या हो’ भन्ने कुरा नसुनिएको पनि होइन । त्यसकारण हामीले यी आरोपलाई गलत साबित गर्दै ‘उपहार’मा सामाजिक विषयवस्तुलाई मनोरञ्जनपूर्ण हिसाबले प्रस्तुत गरेका छौं ।

    हाम्रो फिल्म आँखालाई शितल दिने किसिमको छ । फिल्ममा हरेक मान्छेको यात्रामा भेटिने सफलता र असफलता तथा प्रेम र विछोडका कुरा ‘उपहार’मा दर्शकले पाउनुहुनेछ ।
    तपाईंका अघिल्ला फिल्ममा भन्दा ‘उपहार’को जनरामा केही परिवर्तन छ ?

    ‘उपहार’ मा समाज रुपान्तरणका कुरादेखि लिएर हरेक दिन समाजमा भइरहने घटनाका कुरा पनि उठान छन् । मेरो फिल्म भनेपछि नारी शसक्तीकरण अवश्य जोडिन्छ ।

    हाम्रो फिल्ममा नारीमात्र होइन, पुरुष पनि पीडित छन् भन्ने कुरा देखाइएको छ । भलै पुरुषले आफ्नो पीडालाई खुलेर भन्दैनन् । ‘उपहार’मा दर्शकले नयाँ कुरा अवश्य पाउनुहुनेछ । ‘उपहार’ले समाज जोड्छ ।

    उपहार दर्शकका लागि सफलताको उपहार बन्न सक्छ भन्ने आधार के छन् ?

    हाम्रो प्रोडक्टलाई दर्शकले स्वीकार्नुहुन्छ भन्नेमा आशावादी छु । हामीले मेहनत गरेका छौं । ५–१० वर्ष यता नेपाली फिल्ममा देखिँदै आएका कथा भन्दा ‘उपहार’को कथा फरक छ ।

    हामीले ‘हिट’ भन्दा पनि दर्शकले मनपराउने कथामा फिल्म बनाएका छौं । फिल्मको कथा, छायांकन, सम्पादन, संगीतलगायत सबै कुराले दर्शकलाई मनोरञ्जन दिन्छ भन्नेमा ढुक्क छौं । दर्शकले तनावमुक्त भएर ‘उपहार’ हेर्नुहुनेछ ।

    ‘उपहार’का अन्य कलाकारसँगको सहकार्य अनुभव ?

    नयाँ र केही पुराना पुस्तासँग काम गर्ने मौका मिल्यो । सबै राम्रो काम गर्नुहुन्छ । मैंले उहाँहरुको कामलाई गहन तरिकाले हेरिन । उहाँहरुले राम्रो काम गर्नुहुन्छ र गर्नुभएको छ भन्नेमा म ढुक्क छु ।
    नयाँ कलाकारमा स्टारडमको घमण्ड देख्नुभयो या भविष्य ?

    साँचो कुरा गर्नुपर्दा उहाँहरुमा मैंले त्यस्तो केही देखिन । उहाँहरु मेहनती हुनुहुन्छ । उहाँहरुमा घमण्ड भन्दा पनि संघर्ष गरेर भविष्य बनाउन सकिन्छ भन्ने अवसर देखें ।

    फिल्म रिलिजको समय नजिकिँदैछ । फिल्म प्रमोसनको दौडधुपलाई कत्तिको ‘मिस’ गरिरहनुभएको छ ?

    मैले अमेरिकाबाट पनि अन्तरवार्ता दिइरहेकी छु । भौतिक रुपमा नेपालबाट टाढा भए पनि प्रविधिको हिसाबले नेपालसँग नजिक छु । त्यहाँका पत्रकार साथीभाइहरुसँग प्रत्यक्ष अन्तरक्रिया, गफगाफ चाहिँ ‘मिस’ गरिरहेकी छु । फिल्म युनिटलाई पनि उत्तिकै सम्झिइरहेकी छु ।

    विवाह र सन्तान प्राप्तिपछि अभिनेत्रीको करियरबारे प्रश्न उठ्छ । विवाहपछि तपाईंको करियर चम्कियो । सन्तान प्राप्तिपछि करियरले निरन्तरता पाउला ?

    यो पुरुषवादी चिन्तन हो । महिलाले चाहँदैमा करियर रोकिने होइन । सन्तान, विवाह इच्छा विपरितको कर्म होइन । म ‘उपहार’ पछि नयाँ प्रोजेक्ट गर्दैछु । त्यसको तयारी पनि भइरहेको छ ।

    करियरको निरन्तरता कसैको इच्छा विपरित हुँदैन । मेरो निरन्तरता कायमै हुनेछ ।
    बेबी प्लानसहित तपाईं अमेरिका उड्दा तपाईंको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले नै आलोचना गर्नुभयो । रिस त पक्कै उठ्यो होला नि ?
    अरुले भन्दा रिस उठेको थिएन ।

    किनकी उनीहरुले मलाई माया गरेर, केयर गरेर भनेको बुझेको छु । म प्रति उहाँहरुले देखाएको माया र आश हो त्यो । तर नेता भएको मान्छेले एउटा नारीको विषयमा त्यसरी बोल्दा चाहिँ मलाई रिस उठ्यो ।

    म देश बिग्रियो भनेर अमेरिका आएको होइन । नेपाल सम्भावना बोकेको देश हो । नेताले स्वास्थ्य लाभको कामना गर्नुपर्नेमा उल्टै आलोचना गरे । उनले पार्टीको अध्यक्षको हैसियत देखाए ।

    सन्तान जन्माउने समय एउटा महिलाका लागि ठूलो प्रतिक्षाको घडी हो । यस्तो बेला शत्रुले पनि स्वास्थ्य लाभको कामना गर्छ । यिनै अर्काको नाममा रोटी सेक्ने र अरुलाई गाली गर्नेले देश बिगारेका छन् ।

    प्रकाशित मिति :फाल्गुण २ २०८० बुधवार - १५:२७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij