२०८२ माघ १२ गते सोमवार
काठमाडौँ । नेकपा (एमाले) धादिङको नवौं जिल्ला अधिवेशनको बन्दसत्र अनिश्चित कालसम्मका लागि स्थिगित भएको छ।
अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले संगठन विभागबाट निर्देशन आउनसाथ प्रक्रिया अघि बढ्ने बताउँदै मंगलबार बिहान आठ बजे सुरू गर्ने भनिएको बन्दसत्र स्थगित भएको बताएका छन्।
प्रतिनिधि मनोनयन र अध्यक्ष मण्डल बनाउँदा नै विवाद भएपछि अधिवेशन आइतबारदेखि अवरूद्ध छ। विवाद भएर हात हालाहालको अवस्था सिर्जना भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेश इन्चार्ज गुरू बराज, प्रदेश अध्यक्ष कैलाश ढुंगेल, अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटासहितका नेतालाई बालकोट बोलाएका थिए।
आइतबार राति एक बजेसम्म भएको छलफलमा अधिवेशनमा देखिएको विवाद समाधान गर्न संगठन विभागले दुईजना प्रतिनिधि खटाउने सहमति भएको थियो। र, बन्दसत्र मंगलबार बिहान आठ बजेबाट सुरू गर्ने समझदारी भएको थियो।
अध्यक्ष ओली निवास बालेकाटमा भएको छलफलअनुसार सोमबार संगठन विभागले जिल्ला कमिटीको माइन्युट, प्रतिनिधि छनोटका कागजात झिकाएर अध्ययन थालेको थियो।
जिल्ला अध्यक्ष भूमि त्रिपाठीले अधिवेशन सुरू गर्ने जिम्मा संगठन विभागको हातमा पुगेकाले त्यहाँबाट निर्णय भएअनुरूप नै अगाडि बढ्ने जानकारी दिए। ‘यहाँको विवाद संगठन विभागमा पुगेको छ। उहाँहरूले अध्ययन गर्दै हुनुहोला,’ उनले भने।
एमाले धादिङमा पार्टी अध्यक्ष ओली निकट दुई गुटको लडाइँ छ। अध्यक्षमा मौजुदा अध्यक्ष त्रिपाठी र रामकुमार अधिकारी आकांक्षी छन्। दुवै जनाले समूह बनाएर प्रतिस्पर्धाको तयारी गरेपछि पाँच प्रतिशत प्रतिनिधि मनोनीतको विषय विवादको रूपमा देखा परेको थियो।
संगठन विभागले धादिङको जिल्ला अधिवेशनमा देखिएको विवाद समाधान गर्न स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र विभागका सचिव माधव ढुंगेललाई जिम्मा दिएको एक नेताले बताए। यद्यपि विभागले त्यसलाई बाहिर सार्वजनिक नगरिसकेको ती नेताले बताए।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij