२०८२ माघ १२ गते सोमवार
नेकपा (एकीकृत समाजवादी) ले माघ १४ र १५ गते राष्ट्रिय परिषद बैठक गर्ने भएको छ।
काठमाडौँ । विधानका विषयमा उक्त बैठकमा छलफल हुनेछ। महाधिवेशनका लागि दस्तावेज मस्यौदाबारे बैठकमा छलफल गर्ने तयारी एकीकृत समाजवादीको छ।
बैठक वैचारिक दृष्टिकोण र कार्ययोजनामा केन्द्रित रहने र संगठन सुदृढीकरणका साथै देशभर आधारभूत तहसम्म सङ्गठन स्थापित गर्न कार्ययोजना पनि बैठकबाट बनाउने तयारी छ।
विधानको मस्यौदा तयार पार्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन भएको थियो।
बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलित नेतृत्व र कानुनी अस्पष्टतालाई मिलाएर आवश्यक स्थानमा नेताको जिम्मेवारी तोक्ने उपमहासचिव जगन्नाथ खतिवडाले बताए।
पार्टी पदाधिकारी, केन्द्रीय कमिटीको काम, कर्तव्य तथा अधिकारको बाँडफाँट गर्ने बैठकले पार्टी नेतृत्वका लागि उमेर, कार्यकाल, सङ्गठन निर्माणमा गरेको योगदान लगायतका आधारमा मापदण्ड तय गर्ने छ।
बैठकले मस्यौदा अनुमोदन गरेपछि पार्टीले त्यसैका आधारमा आगामी जेठ पहिलो सातामा पार्टीको महाधिवेशन गर्ने छ।
सदस्यता नवीकरण र वितरण अभियानका रूपमा अगाडि बढाउनुका साथै जिल्लास्थित समाजवादी मोर्चाको बैठक र एजेण्डाको बारेमा पनि छलफल हुनेछ। रासस
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij