२०८२ फाल्गुण २३ गते शनिवार
- जगदीश्वर पोखरेल
पछारे झारेमा चरचर गरी फुट्दछ सिसा
चिसो घट्दै जाला दिनमणि गए उत्तर दिशा
गरी पूजा मान्छौ अनुपम सदा हुन्छ महिमा
पुसे जाडो भाग्यो शिशिर सुरु भो माघ महिना ॥१॥
उठी गङ्गा जान्छौ हरहर शिवा स्नान तनमा
सधैँ रोटी लड्डू फल तरुल घ्यू पाक्छ पुसमा
उषा आगो ताप्छिन् तिल तरु चुनी हर्षित बनी
खुशी बन्ने पाए फसल सुठुनी खान्छ उसिनी ॥२॥
कतै मेला लाग्ने प्रचलन नदी घाट तटमा
कतै चुड्का नाच्छन् हरि भजनमा मस्त मनमा
कतै गोष्ठी गर्छन् कविवर मिली रात नसुती
कतै पूजा गर्छन् कलश र दियो फल्दछ बुटी ॥३॥
पुगी माघे मेला कृषक जनले किन्दछ कुटो
खुशी बन्छन् बिक्छन् श्रम र सिपको बन्दछ बिटो
मिठो खित्रो खान्छन् घिउसित मुछी पाक्छ घरमा
खुशी बन्दै हेर्दा कमलमणिको हर्ष मनमा ॥४॥
सबै घस्छौँ चिल्लो दिनकर भने हेर्दछ लुकी
चल्यो बास्ना मीठो कुसुम वनको सुन्दर बुकी
गिँठो खोजी खान्छन् रनवन डुली आर्त बिचरार
हुँदा माघे मेला मुसुमुसु बडो हाँस्दछ धरा ॥५॥
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij