Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

धुर्मुस–सुन्तली १० दिनमा नौ महोत्सवमा सहभागी हुँदै

धुर्मुस–सुन्तली १० दिनमा नौ महोत्सवमा सहभागी हुँदै


  • 2.9K
    Shares

    धुर्मुस–सुन्तली १० दिनमा नौ महोत्सवमा सहभागी हुँदै
    images

    काठमाडौं । सात वर्षपछि स्टेज पफर्मेन्समा फर्किएका धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे)लाई मेला–महोत्सवमा भ्याइ नभ्याइ छ । यही पुस १४ गते लेखनाथ महोत्सवबाट स्टेजमा फर्किएका उनीहरू अहिले कोसीदेखि सुदूरपश्चिम प्रदेशसम्मका कार्यक्रममा जान थालेका छन् ।

    पहिलो चरणमा उनीहरू लेखनाथ र धादिङको धुनिबेँसी महोत्सवमा सहभागी भएका थिए । पुस २९ गतेदेखि धुर्मुस–सुन्तली पश्चिममा कैलालीदेखि पूर्वमा मोरङसम्मका महोत्सवमा सहभागी हुँदै छन् । धुर्मुस–सुन्तली १० दिनमा नौ महोत्सवमा सहभागी हुन लागेका छन् ।

    पुस २९ गते कैलालीको टीकापुर महोत्सव, माघ १ गते अत्तरियामा सुदूरपश्चिम प्रादेशिक महोत्सव, माघ ३ गते बर्दियामा बाँसगढी महोत्सव, माघ ४ गते बर्दियामै बरहिया ताल माघी महोत्सवमा उनीहरूले आफ्नो प्रहसन गर्नेछन् ।

    माघ ५ गते बर्दियाकै राजापुर महोत्सव, माघ ६ गते दाङको राप्ती लुम्बिनी प्रादेशिक महोत्सव, माघ ७ गते गोरखामा आरुघाट महोत्सव र माघ ९ गते पाँचौँ बर्जु सुनसरी महोत्सवमा धुर्मुस–सुन्तली सहभागी हुँदै छन् ।

    “सात वर्षपछि हामी लेखनाथ महोत्सवको स्टेज चढ्दै गर्दा दर्शकले कसरी लिनुहुन्छ भन्नेमा थियौँ । लामो समयपछि पुरानै कर्ममा फर्किंदै थियौँ,” सीताराम भन्छन्, “तर, सात वर्षपछि पनि हामीलाई दर्शकले उत्तिकै सद्भाव, माया पायौँ । यसले हामीलाई कलाकारितामा फर्किन थप हौसला मिलेको छ ।”

    उनीहरूले झन्डै दुई दशकअघिको ‘मेरी बास्सै’ सिरियलको क्यारेक्टर धुर्मुस–सुन्तलीकै ‘लुक्स’मा प्रहसन गरिरहेका छन् । “हामीलाई १८ वर्ष पुरानो क्यारेक्टरमा पनि दर्शकले उत्तिकै माया र साथ दिनु भनेको हाम्रा लागि निकै ठूलो कुरा हो,” उनले भने ।

    प्रहसनका निम्ति धुर्मुस–सुन्तलीले ‘असल मान्छेको खोजी’ शीर्षकमा सामग्री तयार पारेका छन् । एक घण्टा लामो प्रहसनमा उनीहरूले कतिपय आफ्नै जिन्दगीको आरोह–अवरोहका कथाव्यथा समेटेका छन् भने समसामयिक विषय पनि समेटेका छन् ।

    मेला–महोत्सवको सिजन सकिएपछि टेलिसिरियल लिएर आउने सीताराम बताउँछन् । “हाम्रो पहिचान सानो पर्दाबाटै भएको हो, त्यसैले हामी केही समयपछि हास्यटेलिसिरयल लिएर आउनेछौँ,” उनले भने । 

    धुर्मुस–सुन्तलीले केही वर्षअगाडि चलचित्र ‘सेन्टी भाइरस’ बनाएर प्रदर्शन गरेका थिए । अहिले भने तत्काल सिनेमा निर्माण गर्ने सम्भावना नरहेको उनले बताए ।

    प्रकाशित मिति :पौष २६ २०८० बिहिवार - १२:०२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij