Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

दोलखाको कालिनाग मन्दिरमा भव्य मेला

दोलखाको कालिनाग मन्दिरमा भव्य मेला


  • 3.0K
    Shares

    दोलखाको कालिनाग मन्दिरमा भव्य मेला
    images

    दोलखा । धान्यपूर्णिको अवसरमा दोलखाको कालिञ्चोक गाउँपालिका–८ मा रहेको कालिनाग मन्दिरमा दीप प्रज्ज्वलन सहितको मेलामा श्रद्धालु भक्तजनको भीड लागेको छ। 

    मेलामा विभिन्न स्थानबाट पौराणिक भजन र पञ्चेबाजासहितको डोली मन्दिरमा भित्र्याइएको छ।  पञ्चेबाजा, पौराणिक भजन कीर्तनसहित घरघरबाट फूलमालाले सिँगारिएका डोलीहरू  कालिनाग मन्दिरमा लगिने प्रचलन रहेको छ।  रङगीविरङगी डोली, रातभर बत्ती बाल्ने महिला, भजन टोलीको भजनकाे रौनक र पञ्चेबाजाको रौनकले भरिने कालिनाग मन्दिरको यो मेला सबैभन्दा ठुलो मेला भएको स्थानीय मनमाया शिवाकोटीले बताए। 

    मन्दिरमा बत्ती बाल्न दोलखाको विगु, गौरीशङ्कर, भीमेश्वर, वैतेश्वर, मेलुङ, शैलुङलगायत जिल्ला भित्र र बाहिरबाट भक्तजनको भीड लागेको कालिनाग संरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ।  समितिका अनुसार भक्तजनलाई सहजताका लागि बत्ती बाल्न र रात बिताउन सहज हुने गरी व्यवस्थापन गरिएको छ।  रातभर भजन कीर्तन गरेर जागा रहनुपर्ने चलन अनुसार रातभर जात्रा भर्नेको भीड लाग्ने गरेको छ। 

    मन्दिरमा धान्यपूर्णिमामा दीप प्रज्ज्वलन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ। किम्बदन्ती अनुसार १७ औँ शताब्दीतिर शिवाकोटीको आदि पुर्खा गणेश पाध्या भारतको कुमाउ गढवालबाट एउटा रालो नभएको घण्ट बोकी यात्राका क्रममा बाटोमा बास बसे।  रातमा विश्राम गर्दा उनी गाईको गोवरले पोती घण्टलाई सिरान छेउमा राख्थे। 

    बिहान घण्ट उठाउँदा घण्टभित्र छोपिएर रहेको अवस्थामा एउटा नागको दर्शन पाउँथे।  यसै क्रममा गणेश पाध्या हालको सुनखानी छर्पकुमा आई छाप्रो हाली बसोबास सुरु गरे।  छर्पकुमा पनि नागले त्यसैगरी दर्शन दिए।  पछि उनले मन्दिर बनाउने सोच बनाए।  एक दिन सपनामा नागले हालको मन्दिर छेवैमा रहेको बाँझको रुखमा बसेको देखाएपछि पाध्याले सोही रुखको फेदमा कालिनागको कुलायन स्थापना गरी पूजा अर्चना सुरु गरे। 

    यसरी स्थापना गरिएको कुलायन शिवाकोटीले कूल देवताका रूपमा पूजा गर्दै आएका छन् भने कालिनागप्रति सबै थर, गोत्र, जातजाति र धर्मावलम्बीले उत्तिकै आस्था र विश्वास प्रकट गर्ने गरेका छन्।  मन्दिरमा दर्शन र पूजा गरे मागेको कुरा पूरा हुने जनविश्वास रहँदै आएको छ।  

    परम्परा अनुसार शिवाकोटीहरुको कुल पूजा गर्ने पर्वहरू नागपञ्चमी र देवालीमा शिवाकोटीहरुको मूलघर चौघरामा रहेको कुल कोठामा संरक्षण गरिएको घण्ट मूल पुजारीको अगुवाइमा बाजा गाजा, भजन कीर्तनसहित कालिनाग मन्दिरमा लागी विशेष पूजा गरी बेलुकी दरबार भित्र्याइने परम्परा रहेको छ भने धान्यपूर्णिमा, तीज, कृष्णाष्टमीलगायतका पर्वमा मेला लाग्ने गरेको छ। धान्यपूर्णिमा काठमाडौँको भीमसेन गोलामा रहेको कालिनाग मन्दिर, चितवन र झापामा रहेका कालिनाग मन्दिरमा पनि बत्ती बाल्ने गरिन्छ। 

    प्रकाशित मिति :पौष १० २०८० मंगलवार - १६:३६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij