Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

जनकपुरधाममा आज राम र सीताबीच विवाह हुँदै

जनकपुरधाममा आज राम र सीताबीच विवाह हुँदै


  • 3.0K
    Shares

    जनकपुरधाममा आज राम र सीताबीच विवाह हुँदै
    images

    जनकपुरधाम । त्रेतायुगकै झझल्को दिने गरी जनकपुरधाममा आज भगवान् राम र देवी सीताबीच विवाह गरिदैंछ । भगवानको सांकेतिक विवाह समारोह हेर्न जनकपुरधाममा लाखौँ श्रद्धालु उर्लिएका छन् ‌।

    मंसिर महिनाको शुक्ल पक्षको पञ्चमी तिथि अर्थात् आजकै दिन त्रेतायुगमा राम-सीताको स्वयंवर तथा विवाह भएको थियो । राम तथा सीताको विवाहको वर्षगाँठको रूपमा जनकपुरधाममा विगत लामो समयदेखि साताव्यापी विवाह पञ्चमीको उत्सव मनाउने गरिन्छ । यसको सबै तयारी जानकी मन्दिरले गर्छ ।

    रामायण ग्रन्थका अनुसार भगवान् राम भारत अयोध्याका राजा दशरथका पुत्र र सीता मिथिलाका राजा जनककी पुत्री थिइन् । कसैले हल्लाउन पनि नसक्ने ‘शिव धनुष’ तोड्न सफल भएपछि भगवान् रामको सीतासँग विवाह भएको थियो । त्यसैले मिथिलाञ्चलमा राम-सीताको विवाह निकै उत्साह तथा आस्थाका साथ मनाउने गरिन्छ । विवाह पञ्चमी मनाउन मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ‌।

    पौराणिक ग्रन्थहरूका अनुसार भगवान् राम तथा देवी सीता भगवान् विष्णु तथा देवी लक्ष्मीका अवतार हुन् । साधुसन्तहरु भन्छन्- दुवैले समाजमा आदर्श तथा मर्यादित जीवनलाई उदाहरणीय बनाउनका लागि मानवको अवतार लिएका थिए ।

    विवाह पञ्चमी अन्तर्गत शनिवार बेलुका जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीमा राम र सीताको मटकोर गरियो । गंगासागर पोखरीको माटो लगेर जानकी मन्दिरमा बेदी बनाइएको छ । त्यहां नै भगवान् रामले सीतालाई सिन्दुरदान गरिनेछन् ।

    जनकपुरधाम हिजैदेखि श्रद्धालुले खचाखच भरिएको छ । जताततै साधुसन्त भेटिन्छन्, भगवान् राम र सीताको वैवाहिक गीत गुन्जिरहेको छ । जानकी मन्दिरमा श्रद्धालुहरू लोकगित र नृत्यमा रमाइरहेका छन् । लाग्छ- आज साँच्चै भगवान् राम र सीताबीच विवाह हुँदैछ ।

    जनकपुरधाममा आज दुई लाख बढी श्रद्धालु आउने अनुमान गरिएको छ । हुन त रातिदेखि नै हजारौँ साधुसन्त र श्रद्धालु जनकपुरधाम आइपुगेका छन् । उनीहरू जानकी मन्दिर परिसरमा खुल्ला आकाश मुनी रात बिताए ।

    कठाङ्ग्रिदो चिसोमा श्रद्धालुहरू खुल्ला आकाश मुनी सुतेको फोटोहरू सार्वजनिक भएपछि जनकपुरधाम उपमहानगरपालिका, प्रदेश र संघीय सरकारको आलोचना भइरहेको छ । हरेक वर्ष ठूलो संख्यामा साधुसन्त तथा श्रद्धालुहरू विवाह पञ्चमी मेला भर्न जनकपुरधाम आउने गरेपनि सम्बन्धित निकाय व्यवस्थापन गर्न चुक्ने गरेको धेरैको गुनासो छ ।

    विवाह पञ्चमी महोत्सवमा श्रद्धालुहरूको सुरक्षाका लागि दुई हजार बढी सुरक्षाकर्मी परिचालन भएका छन् । करिब १३ सय नेपाल प्रहरी, साढे ६ सय सशस्त्र प्रहरी र सयौंको संख्यामा ट्राफिक प्रहरी परिचालन भएका हुन् । जिल्ला प्रहरी कार्यालयले भीडलाई ड्रोन र सिसिटिभी क्यामेराबाट समेत निगरानी गरिरहेको जनाएको छ ।

    ट्राफिक प्रहरीले बजार क्षेत्रमा आज बाहिरका सवारी साधन आउन दिएका छैनन् । जताततै मानिसकै भीड रहने भएकाले ठूलो गाडीलाई चारैतीर एक किलोमीटर परै रोक्न ट्राफिक प्रहरी खटेका छन् ।

    यस्तो छ राम-सीता विवाह कथा

    रामायण ग्रन्थका अनुसार सीताको जन्म धर्तीबाट भएको हो । मिथिलाका राजा जनक जब हलो जोतिरहेका थिए, तब उनले एउटी सानी बच्चीलाई फेला पारे । उनैलाई सीता नामकरण गरियो । र, छोरीको रूपमा लालन-पालन गरे ।

    बाल्यकालमै सीताले मन्दिरमा राखिएको शिव धनुषलाई निकै सहजताले उठाएकी थिइन् । उक्त धनुषलाई त्यो बेलासम्म परशुरामका अतिरिक्त अन्य कुनै पनि व्यक्तिले उठाउन सकेका थिएनन् । त्यसपछि राजा जनकले जो व्यक्तिले शिवको उक्त धनुष उठाउँछ, उसैसँग छोरी सीताको विवाह गरिने निर्णय लिए ।

    त्यसपछि सीताको स्वयंवरको दिन निश्चित गरिएको थियो र सबै ठाउँमा उक्त सन्देश पनि पठाइयो । त्यो बेला भगवान् राम तथा लक्ष्मण त्यही स्वयंवरमा पुगेका थिए । थुप्रै राजाहरू धनुष हल्लाउन पनि सकेनन् । राजा जनक चिन्तित बने, करुण शब्दमा आफ्नो पीडा वशिष्ठसँग पोखे- कोही पनि मेरी छोरीको योग्य छैनन् त ?

    त्यसपछि महर्षि वशिष्ठले भगवान् रामलाई धनुष उठाउन आदेश दिए । गुरुको आज्ञा पालना गर्दै भगवान् श्रीरामले धनुष उठाए र तीन टुक्रा पारे । त्यसपछि सीताका लागि योग्य बर राम ठहरिए र उनीहरुबीच स्वंयवर तथा विवाह भयो ।

    राम र सीतालाई प्रेम, समर्पण, मूल्य, मान्यता तथा आदर्शको परिचायक श्रीमान्-श्रीमतीको रूपमा लिने गरिन्छ । मिथिलाञ्चलमा राम र सीतालाई आदर्श श्रीमान्-श्रीमतीको रूपमा स्वीकारिएको छ र उनीहरुकै पूजा गरिन्छ । यसैलाई मध्यनजर गर्दै राम-सीताको विवाहको वर्षगाँठलाई जनकपुरधाममा उत्सवको रूपमा मनाइँदै आएको छ ।

    प्रकाशित मिति :पौष १ २०८० आइतवार - ११:०१:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij