Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाली युवाहरू रुसी सेनामा भर्ना हुन लामबद्ध

नेपाली युवाहरू रुसी सेनामा भर्ना हुन लामबद्ध


  • 2.2K
    Shares

    नेपाली युवाहरू रुसी सेनामा भर्ना हुन लामबद्ध

    काठमाडौं, दोहा । रुस र युक्रेनबीच युद्धका क्रममा दैनिकजसो नेपालीको मृत्यु र घाइते भएको खबर आइरहेका बेला रुसी सेनामा भर्ना भएका एक नेपाली तथा माओवादी पूर्वलडाकु डायमन्ड सी म्याग्देलीले रुसका तर्फबाट युद्ध लड्दा गर्व भएको बताएका छन् । दुई महिनाअघि दुबई हुँदै रुस पुगेका डायमन्ड सी म्याग्देलीले यसअघि रुसी सेनामा भर्ना भएको भन्दै सामाजिक सञ्जालबाट जानकारी दिएका थिए । यसपटक भने सामाजिक सञ्जाल फेसबुकमा डायमन्ड सी म्याग्देली नामले चिनिएका ती युवाले सार्वजनिक रूपमै युद्ध लड्न पाउँदा गर्व महसुस भएको बताएका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा २ सय नेपाली भर्ना भएको सार्वजनिक रूपमा अभिव्यक्ति दिएको केही दिनमै ती युवाले सामाजिक सञ्जालमार्फत रुसी सेनामा आबद्ध हुँदा आफूलाई गर्व महसुस गरेका हुन् । सरकारले रुसी सेनाबाट नेपालीहरूलाई फिर्ताका लागि आह्वान गरिरहँदा ती युवाले युद्धमा भाग लिँदा गर्व महसुस भएको भन्दै स्टाटस लेखेका हुन् । हिजो माओवादीमा आबद्ध भएर सशस्त्र द्वन्द्वमा होमिएका डायमन्ड सी नेत्रविक्रम चन्द विप्लपको नेकपामा रहेको देखिन्छ । केही समयअघि विप्लवले नामको पछाडि सी लेख्ने उद्घोष गरेका थिए । सोही उद्घोषअनुसार ती युवाले आफ्नो नामको पछाडि सी लेखेका हुन् ।

    रुसी सेनामा भर्ना भएर हालसम्म ६ नेपालीको मृत्यु हुनुका साथै २८ भन्दा बढी घाइते भएको विवरण आइरहेका बेला माओवादीका पूर्वलडाकु डायमन्ड सीले सार्वजनिक रूपमा रुसी सेनामा भर्ना खुलिरहेको संकेत गर्नुले सरकारलाई समेत झस्काइदिएको छ । वैदेशिक रोजगारीका आकांक्षी नेपालीले रुस–युक्रेन युद्धलाई समेत उपयोग गर्दा आफूलाई जोखिममा पारेका छन् । चालू आवमा रुस जाने नेपाली युवाको संख्या ह्वात्तै बढ्नुको कारण जोखिम भए पनि रोजगारीको खोजी हो ।

    वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५–७६ देखि २०७९–८० बीच ७ सय ४४ नेपाली श्रम स्वीकृति लिई रुस पुगेका छन् । चालू आव सुरु भएसँगै रुस जाने युवाको संख्या अझै बढेको छ । पाँच वर्षमा रुस गएको संख्याभन्दा बढी युवा गत वैशाखदेखि कात्तिकसम्ममा रुस पुगेको छ ।

    रुसमा पढ्न र रोजगारीका लागि नेपाली युवा रुस–युक्रेन युद्ध सुरु हुनुभन्दा अघिबाटै जाने गरेका थिए । युद्ध सुरु भएपछि झन् धेरै रुस जानेक्रम बढेको छ । विभागको तथ्यांकनुसार चालू आव २०८०–८१ का प्रत्येक महिनाको तुलना गर्दा संख्या बढेको हो । अध्यागमन विभागका अनुसार २०२२ जनवरीदेखि २०२३ नोभेम्बरसम्म अध्ययन, श्रम र भिजिट भिसामार्फत २ हजार ९ सय नेपाली रुस पुगेका छन्  । त्यसबाहेक यूएईबाट पनि नेपालीहरू रुस गएको तथ्यांक भेटिन्छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

    प्रकाशित मिति :मंसिर २८ २०८० बिहिवार - ०६:२७:३३ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij