२०८२ फाल्गुण २५ गते सोमवार
काठमाडौं । मध्यपूर्व क्षेत्रमा इजरायल-अमेरिका र इरानबीच बढेको सैन्य तनाव अझै कम भएको छैन । मिसाइल तथा हवाई आक्रमण जारी रहँदा खाडी मुलुकहरूमा रहेका नेपालीको सुरक्षाबारे चिन्ता यथावत छ ।
इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य बेस लक्षित गरी मिसाइल आक्रमण गरिरहेकाले साउदी अरब, युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, कुवेत, बहराइन र ओमान लगायत देशमा सुरक्षा जोखिम बढेको छ । यी देशमा साढे १७ लाखजति नेपाली कार्यरत रहेको सरकारको आधिकारिक तथ्यांक छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार ती क्षेत्रमा रहेका नेपालीको अवस्थाबारे त्यहाँस्थित नेपाली दूतावास र नियोगहरूले निरन्तर निगरानी गरिरहेका छन् र मन्त्रालयलाई नियमित जानकारी पठाइरहेका छन् ।
यूएईको अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको थियो । २८ फेब्रअरीमा इरानले ड्रोन आक्रमण गर्दा त्यहाँ कार्यरत तीन जनाको मृत्यु भएको थियो । जसमा नेपाल, भारत र बंगलादेशका एक–एके जनाको मृत्यु भएको थियो । श्रेष्ठको शव नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको थियो ।
परराष्ट्र मन्त्रालयका अनुसार यूएईमा इरानको आक्रमणमा परी केही नेपाली घाइते भएका छन् । घाइतेमध्ये धेरैजना सामान्य उपचारपछि घर फर्किसकेका छन् भने केही अस्पतालमै छन् । ‘हाम्रा दूतावासहरूले त्यहाँको अवस्था नजिकबाट नियालिरहेका छन्, नेपालीलाई कुनै क्षति नहोस् भनेर आवश्यक परेका बेला सुरक्षा एडभाइजरी जारी गरिरहेका छौं,’ प्रवक्ता पौडेलले भने ।
मन्त्रालयका अनुसार मध्यपूर्व क्षेत्रमा रहेका नेपालीको अद्यावधिक विवरण संकलनका लागि कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा आइतबारसम्म ५४ हजार ७ सय ८६ नेपालीले आफ्नो विवरण दर्ता गरिसकेका छन् । प्राप्त विवरणलाई प्राथमिकता साथ अध्ययन गरी आवश्यक सहयोगको प्रक्रिया अघि बढाइएका छ ।
परराष्ट्र मन्त्रालयको तथ्यांक अनुसार मध्यपूर्वका विभिन्न देशमा करिब १७ लाख २९ हजार नेपाली काम तथा अध्ययनका लागि रहेका छन् । कागजातविहीन अवस्थामा रहेका नेपालीको संख्या पनि उल्लेख्य रहेको अनुमान छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij