२०८२ माघ ८ गते बिहिवार
गायक प्रकाश सपुत डेब्यु फिल्म ‘परदेशी २’ आजबाट चौथौ सातामा प्रवेश गरेको छ। असोज २६ गतेदेखि प्रदर्शनरत यस फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ।
दर्शकको उत्साहजनक उपस्थितिसँगै परदेशीको सिक्वेलले तेस्रो सातासम्म ७ करोड रुपैयाँभन्दा बढी व्यापार गरिसकेको निर्माता राजेश वंशलले जानकारी दिए।
‘तेस्रो सातासम्म यस फिल्मले ७ करोड बढीको कलेक्सन गरिसकेको छ। अझै उपत्यकाबाहिरका हलहरूको रिपोर्ट आउन बाँकी नै छ। अझै पनि हाम्रो फिल्मलाई हलहरूले राम्रै शो दिएका छन्’, उनले भने।
सुरुवाती दिनमा औसत व्यापार गरे पनि घटस्थापनापछि फिल्मले राम्रो पिकअप लिएको थियो। दसैँको बिदामा यस फिल्मलाई थप फाइदा मिल्यो। दर्शकहरू गाउँबाट बस रिजर्भ गरेर समेत परदेशी हेर्न हलसम्म पुगे। दसैँ बिदा र माउथ पब्लिसिटीले गर्दा फिल्म नाफामा गएको वंशल स्वीकार्छन्।
नारायण रायमाझी निर्देशित यस फिल्ममा प्रकाशसहित केकी अधिकारी, वर्षा शिवाकोटी, प्रशान्त तामाङ लगायतले अभिनय गरेका छन्।
वंशल र नारायण निर्माता रहेको फिल्मको कथा रमेश बिजीले लेखेका हुन्। यस फिल्मले युवाको विदेश मोह र त्यसले घरपरिवारमा पार्ने प्रभावको कथा भन्छ। यो हिट फिल्म ‘परदेशी’को सिक्वेल हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij