२०८२ माघ १३ गते मंगलवार
काठमाडौँ । नेपाली काँग्रेसले मंसिरमा हुने महासमिति बैठकका लागि तयारी सुरु गरेको छ। पार्टीले लिने नीति तय गर्न काँग्रेसले मंसिर १३, १४ र १५ गते महासमिति बैठक गर्न लागेको हो।
बैठक तयारी गर्न सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। समितिमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापतिहरू, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला सभापति, भ्रातृ संस्थाका अध्यक्षहरू सदस्य छन्।
काँग्रेसले ०७८ मंसिरमा १४ औँ महाधिवेशन गरेको थियो। नीतिबारे छलफल नगरी महाधिवेशनले नेतृत्व मात्रै चयन गरेको थियो। त्यसबेला महाधिवेशनको छ महिनापछि नीति अधिवेशन गर्ने केन्द्रीय समितिबाटै निर्णय भएको थियो। तर नीति अधिवेशन नगरी महासमिति बैठक गर्न लागिएको हो।
१४ औँ महाधिवेशनमा काँग्रेसले विधान पारित गरेको थियो भने सभापतिमा शेरबहादुर देउवासहित १३४ जना केन्द्रीय सदस्यलाई निर्वाचित गरेको थियो। काँग्रेस केन्द्रीय समिति १६८ सदस्यीय रहने व्यवस्था छ।
सभापति देउवाले समावेशी सिद्धान्तअनुसार ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउनेमा अहिलेसम्म ३१ जना मनोनीत गरेका छन्। सभापतिमा पराजित शेखर कोइराला स्वतः केन्द्रीय सदस्य भएका थिए।
‘पार्टीका विविध नीतिका बारेमा छुट्टै नीति महाधिवेशन गरी छलफल गर्ने वैधानिक प्रावधान राखिएकोमा नीति महाधिवेशनको काम महासमितिले नै गर्ने गरी साउनको केन्द्रीय समितिले महासमिति बैठक मंसिरमा गर्ने निर्णय गरिसकेको छ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले भनेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij