Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राहत शिक्षकले परीक्षा दिन पाउने, फेल भए यस्तो सुविधा

राहत शिक्षकले परीक्षा दिन पाउने, फेल भए यस्तो सुविधा


  • 7.4K
    Shares

    राहत शिक्षकले परीक्षा दिन पाउने, फेल भए यस्तो सुविधा

    काठमाडौं । राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटामा कार्यरत शिक्षकले स्थायी हुनका लागि परीक्षा दिन पाउने भएका छन् । उनीहरुका लागि उमेर हद नलाग्ने गरी सरकारले विद्यालय शिक्षा विधेयक ल्याएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार नेपालमा ४४ हजार राहत शिक्षक छन् । राहत शिक्षकलाई स्थायी हुने मौका दिनका लागि सरकारले कुल दरबन्दीमा ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको छ ।

    ‘…कुल दरबन्दीको ५० प्रतिशत सिटमा राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटामा कार्यरत शिक्षकहरुमध्येबाट सीमित प्रतिस्पर्धाका आधारमा र बाँकी ५० प्रतिशत सिटमा खुला प्रतियोगिताका आधारमा परीक्षा लिई आयोगको सिफारिसमा पदपूर्ति गरिनेछ’, विधेयकमा भनिएको छ ।

    छुट्याइएको पचास प्रतिशत सिटको विज्ञापनमा पदपूर्ति हुन नसकेमा अर्को वर्ष खुला प्रतियोगिताको आधारमा हुने विज्ञापनबाट बाँकी सिटमा पूर्ति गरिनेछ । परीक्षा दिएर स्थायी हुन नसकेका शिक्षकलाई आर्थिक सुविधा दिएर बिदा गरिनेछ ।

    ‘सीमिति प्रतिस्पर्धामा अनुत्तीर्ण हुने राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षकले सेवा अवधिको आधारमा नेपाल सरकारले निर्धारण गरे बमोजिमको आर्थिक सुविधा प्राप्त गर्न सक्नेछन्’, प्रस्तावित विधेयकमा उल्लेख छ ।

    साथै, प्रस्तावित विधेयक जस्ताको तस्तै पारित भए ऐन प्रारम्भ हुँदाका बखत कक्षा ११ र १२ मा अध्यापन गरिरहेका शिक्षकलाई आयोगबाट लिइने माध्यमिक तहको तृतीय र द्वितीय श्रेणीको खुला तर्फको विज्ञापनमा भाग लिन उमेर हद लाग्ने छैन ।

    आधारभूत तहको विषयगततर्फ द्वितीय र प्रथम श्रेणीको आन्तरिक प्रतियोगिताबाट पूर्ति गरिने २० प्रतिशत पदमा सो पदको लागि तोकिएको न्यूनतम योग्यता भएको र सेवा अवधि पूरा गरेका आधारभूत तहमा कार्यरत एक श्रेणी मुनिका स्थायी शिक्षकहरुले प्रतिस्पर्धा गर्न सक्नेछन् ।

    माध्यमिक तह द्वितीय श्रेणीको खुला प्रतियोगिताबाट पूर्ति हुने पदमा कम्तीमा माध्यमिक तहको तृतीय श्रेणी वा सो सरहको शिक्षक पदमा पाँच वर्ष अध्यापन गरेको शिक्षकहरुमध्येबाट प्रतिस्पर्धाको आधारमा पदपूर्ति गरिनेछ । तर त्यस्तो शिक्षकले कुनै विद्यालयमा एक बर्षभन्दा कम अवधि अध्यापन गरेको भएमा त्यस्तो सेवा अवधि गणना गरिने छैन ।

    माध्यमिक तहको तृतीय श्रेणीको आन्तरिक प्रतियोगिताबाट पूर्ति गरिने तीस प्रतिशत पदमा सो पदको लागि तोकिएको न्यूनतम योग्यता भएको र सेवा अवधि पूरा गरेका आधारभूत तहमा कार्यरत स्थायी शिक्षकहरुले प्रतिस्पर्धा गर्न सक्नेछन् ।

    माध्यमिक तहको प्रथम र द्वितीय श्रेणीको आन्तरिक प्रतियोगिताबाट पूर्ति गरिने बीस प्रतिशत पदमा सो पदको लागि तोकिएको न्यूनतम योग्यता भएको र सेवा अवधि पूरा गरेका एक श्रेणी मुनिका स्थायी विषयगत शिक्षकहरुले प्रतिस्पर्धा गर्न सक्नेछन् ।

    साथै, स्थायी शिक्षकले समान पदमा प्रतिस्पर्धा गर्न पाउने छैन ।

    प्रकाशित मिति :भाद्र २७ २०८० बुधवार - ११:३७:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij